पोखरा । मणिपाल शिक्षण अस्पतालमा उपचारक्रममा बिरामीको मृत्यु भएको विषयले ठूलो रूप लिँदा यतिबेला मुलुकको स्वास्थ्य क्षेत्र आतंकित छ । गण्डकी प्रदेशभर मंगलबार आकस्मिकबाहेक अस्पतालका सबै सेवा ठप्प भयो ।
बिरामीको मृत्युपछि चिकित्सक कुटिएको विषयलाई लिएर नेपाल चिकित्सक संघ, गण्डकीले तीनबुँदे माग अघि सार्दै आकस्मिकबाहेक सबै सेवा बन्द आह्वान गरेको हो । संस्थाका कार्यवाहक अध्यक्ष डा. सुनिल पनेरु र सचिव डा. सुशील तिमल्सिनाले संयुक्त विज्ञप्ति जारी गर्दै मणिपालमा चिकित्सकमाथि हमलामा प्रहरी नै संलग्न भएकाले दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने, दोषीलाई गरिएको कारबाहीसम्बन्धी जानकारी सरकारको छापसहित सम्पूर्ण स्वास्थ्य संस्थामा उपलब्ध गराउनुपर्ने साथै सार्वजनिक सञ्चारमाध्यमद्वारा सम्पूर्ण जानकारी गराउनुपर्ने माग गरेका हुन् । उनीहरूको आन्दोलनमा नेपाल चिकित्सक संघले पनि ऐक्यबद्धता जनाएको छ ।
एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन), गण्डकीले पनि चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड घटनामा विरोध जनाउँदै कुटपिट र अस्पताल तोडफोडमा उत्रने दोषीमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अनुसार कारबाही गर्नुपर्ने माग गरेको छ । अफिन गण्डकी अध्यक्ष डा. गिरधारी शर्मा र सचिव ऋषि खतिवडाले संयुक्त विज्ञप्ति जारी गरी सो माग गरेका हुन् ।
यस्तै, मणिपालमा कार्यरत आवासीय चिकित्सक तथा इन्टर्नले पनि आफूहरूको ज्यानको असुरक्षा भएको भन्दै आन्दोलित छन् । उनीहरूले विज्ञप्ति जारी गरी आवासीय चिकित्सकमाथि भौतिक आक्रमणबाट चिकित्सक घाइते भएको बताउँदै दोषीलाई कडाभन्दा कडा कारबाही मागसहित सेवा बन्द गरेर आन्दोलित भएका हुन् ।
मणिपालको तरंग राजधानी काठमाडौंसहित मुलुकका अन्य सहरमा पनि परेको छ । जसका कारण अति नै संवेदनशील मानिने स्वास्थ्य क्षेत्र र चिकित्सक आन्दोलित छन् ।
भएको के हो ?
लमजुङ सुन्दरबजार–६ की ५७ वर्षीय सुकमाया दुरालाई श्वासप्रश्वास र ढाड दुख्ने समस्या भएपछि उपचारार्थ आइतबार मणिपाल ल्याइएको थियो । विडम्बना उनको सोमबार दिउँसो उपचारक्रममा मृत्यु हुनगयो । उनको मृत्युको कारण आफन्तले माग गरिरहँदा चिकित्सकले ‘सेफ्टिक सक’ भएको बताए । चिकित्सकका अनुसार बिरामीको अवस्था गम्भीर थियो । मेडिकल भाषामा ‘सेफ्टिक सक’ हुँदा सुरुवातमा प्रेसर घट्छ र विस्तारै अरू अंगले काम गर्न छोड्दै जान्छ । त्यस्तो बेलामा हुने किड्नीको समस्यालाई एकेआई अर्थात् एक्युड किड्नी इन्जुरी भनिन्छ । यस्तो हुँदा बिस्तारै फोक्सोले पनि काम गर्दै जान छोड्छ । भर्ना हुँदा दुराको प्रेसर कम भएको एक चिकित्सकले बताए । उनले भने, ‘बिरामीको अवस्था गम्भीर थियो, उहाँको एक्कासि मुटुको चाल बन्द भइसकेको थियो, भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो, मुटुले धकेल्न सकिरहेको थिएन ।’ बिरामीको मृत्यु भएपछि एक्कासि आक्रोशित भीड आएर डाक्टरमाथि आक्रमण भयो र अस्पताल रणभूमिजस्तै बन्यो । अस्पतालमा उपचाररत अन्य बिरामी आतंकित बने ।
मृतकका आफन्तमध्ये पोखरा–५ मालेपाटन निवासी ३४ वर्षीय विनय गुरुङले चिकित्सक अनिल शाहमाथि कुटपिट गरे । प्रत्यक्षदर्शीका अनुसार डा. शाहले ‘होहल्ला नगरिदिनुस्, अरू बिरामीलाई डिस्टर्व हुन्छ’ भन्नासाथ गुरुङले उनीमाथि प्रहार गर्न सुरु गरेका थिए । त्यसपछि सुरक्षार्थ प्रहरीलाई खबर गरियो । प्रहरीले कुटपिट गर्ने गुरुङलाई नियन्त्रणमा लियो । यत्तिकैमा गुरुङले प्रहरीकै बिचबाट सबैलाई पालैसँग फोन गर्दै केटाहरूको ठूलो समूह बोलाए । सोमबार राति अबेरसम्मै अस्पतालमा मृतकका आफन्त र उनको समर्थनमा पुगेका युवाको ठूलो भीड थियो । चिकित्सकले भने डाक्टरमाथि हातपात गर्नेमाथि मुद्दा चलाउनुपर्ने माग राख्दै दबाब दिइरहेका थिए । एकातिर आफन्त र शुभचिन्तकको भीड मान्छे गुमाएका कारण आक्रोशित बने, अर्कोतिर चिकित्सकले पनि नारा लगाउन थालेपछि प्रहरीले चिकित्सकमाथि लाठीचार्ज गरेको थियो ।
कुटपिटमा संलग्न रहेको अभियोगमा पक्राउ परेका विनय गुरुङलाई प्रहरीले सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान थालेको छ । उनीविरुद्ध स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधसहित) कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले बताए ।
यस्तै, होहल्लामा संलग्न डा. दिनेशकुमार विकलाई नियन्त्रणमा लिई मंगलबार छाडिएको छ । फिस्टेल अस्पतालमा कार्यरत डा. विकलाई सोमबार बिहान ९ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर डा. मीनबहादुर गुरुङको रोहबरमा डा. गिरधारी शर्माको जिम्मा लगाइएको हो । घटनामा चार जना प्रहरीसमेत घाइते भएको कास्की प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय बगरमा कार्यरत प्रहरी वरिष्ठ हबलदार काले परियारको निधारमा चोट लागेपछि तीन टाँका लगाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हबलदार बालकृष्ण रानाभाटको दायाँ हातको बूढीऔंलामा चोट छ । जिप्रकामै कार्यरत प्रहरी हबलदार कृष्णबहादुर बिकको दायाँ हातमा चोट लागेको छ भने प्रहरी जवान अनिता राजवंशीको टाउकोमा चोट लागेको छ ।
वार्ता निष्कर्षविहीन
विवाद समाधानका लागि पटकपटक बसेको वार्ता टुंगोमा पुगेको छैन । अस्पताल प्रशासन, पीडित पक्ष र जिल्ला प्रशासन कार्यालयबिचको वार्ता बुधबार फेरि बस्ने जनाइएको छ । जिल्ला प्रशासन कार्यालयमा मंगलबार दिउँसो १२ बजेदेखि अबेरसम्म चिकित्सक टोली वार्तामा बसेको थियो भने त्यसपछि पीडित पक्षसँग प्रशासनले वार्ता गरेको थियो । दुवै पक्षले आ–आफ्नो अडान नछाडेका कारण वार्ता टुंगोमा पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । ‘मुलुकमा दण्डहीनता मौलाउन दिनुहुँदैन, यसमा हामी सचेत छौं,’ प्रजिअ घिमिरेले भने, ‘दोषीलाई कारबाही अवश्य हुनेछ ।’ मृतकका आफन्तले उपचारमा संलग्न चिकित्सकको लापरबाही भएको भन्दै सत्यतथ्य खोजीको माग गरेका छन् । उनीहरूले पक्राउ परेका व्यक्तिको बिनासर्त रिहाइ माग गरेका छन् । यस्तै, चिकित्सकहरूले हातपात गर्नेलाई कारबाही र शान्ति सुरक्षाको अडान छाडेका छैनन् ।
अस्पताल सञ्चालक नारायणप्रसाद पौडेलले अस्पतालमा भयरहित वातावरणमा उपचारको व्यवस्था प्रत्याभूत हुनुपर्ने बताए । अराजकता मौलायो भने सेवा प्रदान गर्न नसकिने उनको भनाइ छ ।
माओवादी केन्द्रका केन्द्रीय स्वास्थ्य विभाग सदस्य डा. दीपक कोइरालाले चिकित्सकमाथि हातपात घटनाका विषयमा आफ्नो पार्टी नेतृत्वको सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिए । उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुँदा पनि चिकित्सकले पिटाइ खाइरहेको, उल्टो गुन्डागर्दी गर्ने जोगाएर चिकित्सकले लाठी खानुपरेको कुरा मलाई सह्य भएन ।’
यसैबिच, सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणमा संलग्नमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ अनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । गृह मन्त्रालयमा मंगलबार छलफलपछि हरेक स्वास्थ्य संस्थामा उपचार’bout कुनै गुनासो भए उजुरी गर्ने पेटिका राख्ने र कानुन हातमा लिने प्रयास गरे कारबाही हुने’bout सूचना राख्न पनि सरकार तयार भएको जनाएको छ ।
चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध कडा कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुव्र्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ, स्वास्थ्यकर्मीलगायत स्थास्थ्यसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिसँगको छलफलमा उपप्रधानमन्त्री श्रेष्ठले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
‘चिकित्सकको चासो र चिन्ता पूरा गर्न सरकार प्रतिबद्ध छ, मुलुकमा विधिको शासन लागू हुन्छ,’ बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘चिकित्सक र स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था सरकारले मिलाउँछ ।’ चिकित्सकमाथि दुव्र्यवहार र आक्रमण गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले आन्दोलनरत चिकित्सकलाई बिरामीको सेवामा फर्कन आग्रह गरे ।
छलफलमा स्वास्थ्यमन्त्री बस्नेतले चिकित्सकमाथि दुव्र्यवहार र आक्रमणको घटना बढ्दैजाँदा अराजक स्थिति सिर्जना हुने भएकाले बेलैमा सावधानी अपनाउन आवश्यक रहेको औंल्याए ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले सरकारले चिकित्सकको अभिभावकत्व ग्रहण गर्नुपर्नेमा जोड दिँदै ढुक्क भएर काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । डा. कार्कीले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्न आग्रह गरे ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष. डा भगवान कोइरालाले कुनै पनि बहानामा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार तथा स्वास्थ्य संस्थामाथि आक्रमण गर्नेमाथि कडा कारबाही हुनुपर्ने बताए ।
सूचना पाटी राख्ने छलफलको निष्कर्ष
मुलुकभरका विभिन्न स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढ्दैजाँदा भौतिक आक्रमण गर्नेलाई कडा कारबाही गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।
गृह मन्त्रालयमा मंगलबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघलगायत स्वास्थ्यकर्मी र स्वास्थ्यसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिबिचको छलफलले सो निष्कर्ष निकालेको हो ।
बैठकले स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील पेसामा रहेका व्यक्तिमाथि कुटपिट गर्नेलाई चिकित्सक तथा स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्ने र त्यसका लागि मातहतका निकायमा सर्कुलर जारी गर्ने निर्णय गरेको छ ।
यस्तै, बैठकले मुलुकभरका अस्पताल र स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा भौतिक आक्रमण गरेको अवस्था तथा चिकित्सक र स्वास्थ्यकर्मीबाट उपचारका क्रममा कमजोरी गरेको भए कारबाही गर्ने ऐनको प्रावधानका ’boutमा सबै स्वास्थ्य संस्थामा जानकारीमूलक सूचना पाटी राख्ने निष्कर्ष निकालेको छ । यसको समन्वय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्नेछ ।
‘कुनै उपचाररत बिरामीको पक्षलाई ठीक ढंगले उपचार नभएको वा कमजोरी भएको भन्ने लाग्यो भने त्यस’boutमा अनुसन्धान गर्ने ठाउँ छ, बिरामी पक्षका तर्फबाट उजुरी ग-यो भने अनुसन्धान हुन्छ, चिकित्सक तथा स्वास्थ्यकर्मीबाट गल्ती भएमा कारबाही हुने प्रावधान सोही ऐनमा छ,’ उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले भने, ‘त्यसो नगरी स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण वा स्वास्थ्य संस्थामाथि आक्रमण ग¥यो भने त्यही ऐनको प्रावधानअनुसार कारबाही र सजाय हुनसक्नेछ भन्ने व्यहोराको जानकारी छिट्टै स्वास्थ्य मन्त्रालयले राख्नेछ ।’
छलफलमा उपप्रधानमन्त्री श्रेष्ठ, स्वास्थ्यमन्त्री बस्नेत, गृहसचिव दिनेश भट्टराई, स्वास्थ्य मन्त्रालयका निमित्त सचिव, अतिरिक्त सचिव, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ संघ, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंगठनका प्रतिनिधिको सहभागिता थियो ।
फेरि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट र आक्रमण भएको दुःखद घटना बाहिरिएको छ । हरेकपटक जब यस्ता घटना घट्छन्, आक्रमण भएपछि सबैको चासो हुन्छ, आन्दोलन हुन्छ अनि बल्ल राज्य संयन्त्रको ध्यान जान्छ । हरेक घटनाको रापतापको कमीसँगै चासो पनि विस्तारै सेलाउँछ । यसै कारण यस्ता घटना बारम्बार घटिरहेका छन्, जसले गर्दा स्वास्थ्यकर्मीको आत्मविश्वास कम हुँदै गएको छ ।
यो सामान्य घटना होइन, प्रवृत्ति हो । कहीँ न कहीँ हाम्रा कानुन, संयन्त्र र प्रक्रियामा खोट छ, कार्यान्वयनमा समस्या छ, त्यसलाई बदलौं र प्रभावकारी कार्यान्वयन गरौं । नागरिकलाई भरोसा र विश्वास दिलाऔं, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आत्मविश्वास दिलाऔं ।






