बझाङ । बझाङमा मंगलबार दिउँसोदेखि पटकपटक भूकम्प जाँदा एक जना बेपत्ता भएका छन् भने डेढ दर्जन घाइते भएका छन् । भूकम्पका कारण दर्जनौं घर भत्किएका छन् भने जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । ठाउँठाउँको विद्युत् सेवा पनि प्रभावित बनेको छ ।
बझाङको तल्कोट केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ४० मिनेट जाँदा पहिलोपटक ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि चैनपुर केन्द्रबिन्दु भएर दिउँसो ३ बजेर ६ मिनेटमा दोस्रोपटक ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि ३ बजेर ४५ मिनेटमा ४ दशमलव १, ४ बजेर २८ मिनेटमा ४ दशमलव १ र ४ बजेर ३१ मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले थियो ।
यस्तै, बेलुका ५ बजेर १९ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पले थलारा गाउँपालिका, जयपृथ्वी नगरपालिका, मष्टा गाउँपालिका, तलकोट गाउँपालिका, दुर्गाथली गाउँपालिका र खप्तडछान्ना गाउँपालिका गरी १ सय ५० बढी घर पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ । यस्तै, अन्य ठाउँमा समेत घर भत्किएको स्थानीयले जानकारी दिएका छन् ।
भूकम्पका कारण स्थानीय बासिन्दा सडक, खुलाचौरमा बसिरहेको प्रहरी निरीक्षक दीपेश चौधरीले बताए । उनले क्षतिको विवरण लिने काम भइरहेको जानकारी दिए । भूकम्पमा परी बझाङको जयपृथ्वी नगरपालिका–११ मा एक महिला बेपत्ता भएको प्रहरीले जनाएको छ । घरनजिकै टिमुर टिप्न गएकी ४५ वर्षीया गुनमती धामी पहिरोमा परी बेपत्ता भएकी हुन् ।
उनको खोजी कार्य जारी छ । भूकम्पमा परी जयपृथ्वी नगरपालिका–११ की सात वर्षीया सलिना जोशी, १४ वर्षीया प्रमिला जोशी, मष्टा गाउँपालिका–३ की १५ वर्षीया ऐशु सार्की, खप्तड छान्ना गाउँपालिका–७ की १८ वर्षीया सुनिता रोकाया, जयपृथ्वी नगरपालिका–७ सुबेडाकी १६ वर्षीया एलिशाकुमारी बम, माष्टा गाउँपालिका–१ की १३ वर्षीया सविता रोकाया, तलकोट गाउँपालिका–३ का १८ वर्षीय कमल कडाल, जयपृथ्वी नगरपालिका–७ की ३ वर्षीया नितिक बोहरा, मष्टा–१ की ३६ वर्षीया शान्तिदेवी थापा घाइते भएका छन् । उनीहरूको उपचार जिल्ला अस्तालमा भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विद्युत् सेवा र जयपृथ्वी राजमार्गसमेत अवरुद्ध
यसैबीच, विद्युत् सेवासमेत अवरुद्ध भएको छ । बागथलामाथि ठाउँठाउँमा विद्युतको पोल लडेका कारण सेवा अवरुद्ध भएको हो । भूकम्पका कारण पहिरो गएपछि जयपृथ्वी राजमार्गसमेत अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । जयपृथ्वी राजमार्ग ठाउँठाउँमा पहिरो गएका कारण राजमार्ग अवरुद्ध भएको हो । अहिले साना तथा ठुला सवारीसाधन बन्द भएका छन् ।
भूकम्पपछि अस्पतालबाहिरै सुत्केरी
बझाङमा भूकम्पको धक्कापछि जिल्ला अस्पतालमा बिरामीलाई बाहिरै सेवा दिन थालिएको छ । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएपछि तल्कोट गाउँपालिका–१ की गर्भवती महिला मनिशा ऐडीलाई अस्पतालबाट बाहिर निकालेर स्वास्थ्यकर्मीले सुत्केरी गराएका हुन् । अस्पतालका नर्स गर्भवती महिलालाई अस्पतालबाहिर खुला प्रांगणमा राखेर सुत्केरी गराएको जिल्ला अस्पतालले जनाएको छ । भूकम्पपछि लगातार पराकम्प जान थालेपछि सुरक्षित तरिकाले बाहिर राखेर सुत्केरी गराएको अस्पतालले जनाएको छ ।