काठमाडौं । बैंकको ऋण तिर्ने समय तीन महिना थपिँदा नेपाली चलचित्रका निर्माता तथा हल सञ्चालकले केही राहतको महसुस गरेका छन् । तर, पनि सिनेमा हल बन्द भएको अवधिभरिको आफूहरूको बैंकको ब्याज मिनाहा गरिदिन उनीहरूले सरकारसँग माग गरेका छन् ।
हलवालाहरूको संस्था नेपाल चलचित्र संघका अनुसार पछिल्लो आधा दशक यता निर्माण भएका अधिकांश मल्टिप्लेक्स सिनेमा हल ठूलो ऋणमा छन् । हलमा फिल्म प्रदर्शन गरेबापत उठेको पैसाले उनीहरूले यस अघि ऋण तिर्दै आएका थिए ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा समेत परेपछि गत ७ चैतबाट सरकारले मुलुकभरका सिनेमा हल बन्द ग¥यो । सिनेमा हल कम्तीमा ४० दिनका लागि बन्द गरिएको हो ।
नेपाल चलचित्र संघका महासचिब एवं प्रवक्ता अशोक शर्माका अनुसार आगामी १८ वैशाखसम्म सिनेमा हल बन्द भएपछि बैंकको ऋण तिर्न नसक्ने अवस्थामा हल सञ्चालक पुगेका छन् । त्यसैले यो अवधिका ब्याज मिनाहा गरिनुपर्छ ।
यता ऋणको ब्याज तिर्ने मिति केहीपर सारेको घोषणा नेपाल राष्ट्र बैंकले गरेपछि आफूहरूलाई थोरै राहत मिलेको फिल्म हल सञ्चालक र चलचित्र निर्माताले बताएका छन् ।
विभिन्न बैंकबाट ऋण लिएका उद्यमीले चैतमा बुझाउनुपर्ने मासिक तथा चौमासिक किस्ता असार मसान्तसम्म तिर्दा कुनै प्रकारको विलम्ब शुल्क नलाग्ने राष्ट्र घोषणा बैंकले आइतबार गरेका थियो ।
फिल्म हल तथा फिल्म प्रदर्शनी बन्द गरिएको ४० दिन अवधिको कर्जाको ब्याज बैंकले छुट गरिदिनु पर्ने भन्दै निर्माता तथा हल सञ्चालकले अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडालाई लिखित अनुरोध नै गरेका छन् । चलचित्र संघका प्रवक्ता अशोक शर्माका अनुसार गत ४ चैतमा चलचित्र संघका पदाधिकारीले अर्थमन्त्री खतिवडालाई भेटेर फिल्म हल बन्द गर्नु पर्दा सो अवधिभरिको आफूहरूको करसँगै बैंकलाई तिर्नुपर्ने ऋणको ब्याज छुट हुनुपर्ने माग गरेका थिए । तर, सिनेमा हल बन्द भएको अवधिको ब्याज मिनाह हुनुपर्ने माग हल सञ्चालकको यथावत् नै छ ।
यता नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीका अनुसार पनि बैंकले कर्जाको ब्याज असार मसान्तसम्म तिर्दा हुने नेपाल राष्ट्र बैंकको घोषणाले निर्मातालाई केही राहत पुगेको छ । मुलुकमा ४० दिनभन्दा लामो समय हल बन्द भएको अवस्थामा फिल्म रिलिज गर्न नपाउँदा त्यो अवधिको ब्याज तिर्नुपर्ने समस्याले आफूहरू पिरोलेको निर्माताको गुनासो छ ।
त्यसो त बैंक तथा बित्तीय संस्थाबाट निजी क्षेत्रले लिएको ऋणको सावा तथा ब्याज चैत मसान्तसम्म स्थागन गर्ने निर्णय गत साता अर्थ मन्त्रालयले गर्दा चलचित्र हल सञ्चालक तथा निर्माताले केही दिन ब्याज तिर्न राहत भएको बताएका थिए । नेपाल चलचित्र निर्माता संघले एक विज्ञप्ति जारी गर्दै सो निर्णयले आफूहरूलाई केही राहत भएको जनाएको थियो । संघले एक विज्ञप्तिमार्फत सरकारको यो घोषणाप्रति धन्यवाद ज्ञापन समेत गरेका थिए । हलवालाहरूको संस्था नेपाल चलचित्र संघले पनि सो घोषणालाई सकारात्मक रूपमा लिएको थियो ।






