दसैंलाई लक्षित गर्दै ‘परदेशी–२’सँग ‘कौसिद’

काठमाडौं । यो वर्षको दसैं नजिकिँदै छ । दसैंमा चलचित्रले राम्रो व्यापार गर्ने हुँदा यो छेकोमा चलचित्र प्रदर्शन गर्नेहरूको पनि होडबाजी सुरु भएको छ । यसैक्रममा दसैंलाई लक्षित गरेर शुक्रबार २६ असोजबाट दुईवटा नेपाली चलचित्र एकसाथ मुलुकका सिनेमा हलमा रिलिज हुने भएका छन् ।

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’ र कुमार भाष्करको निर्देशनमा चलचित्र ‘कौसिद’ रिलिज हुने भएका हुन् ।

अघिल्लो दसैंमै रिलिज हुने भनिएको चलचित्र परदेशी–२ त्यति बेला नेपालमा कोभिडका कारण सिनेमा हल राम्ररी नखुलेपछि रोकिएको थियो । सिनेमा दसैं चाडपर्वको प्रसंगमा केन्द्रित भएकाले एक वर्ष कुरेर यो दसैंका अवसरमा रिलिज गर्न लागिएको यसका निर्देशक नारायण रायमाझीले बताएका छन् ।

‘खाडी मुलुकमा गएर रोजगारी गर्दैै आएका निम्नवर्गीय नेपालीको संघर्षको कथामा यसअघि चलचित्र परदेशी बनाएको थिएँ भने परदेशी–२ मा अध्ययनका लागि विदेश गएर उतै हराएका नेपाली युवाको कथालाई समेटेको छु । यो चलचित्र एक वर्षअघि नै तयार गरिएको भए पनि दसैंको कथा भएका कारण अहिले दसैंको अवसर पारेर रिलिज गर्न लागिएको हो,’ रायमाझीले राजधानीसँग भने ।

आफ्नो सिनेमा नेपालसँगै अन्य विभिन्न देशमा पनि एकसाथ रिलिज हुन लागेको रायमाझीले बताए । उनका अनुसार यो चलचित्र मुलुकका करिब सयवटा हलबाट रिलिज हुने भएको छ । सिनेमाका गीतहरू दर्शकले रुचाएको निर्देशक रायमाझीको दाबी छ ।

राजेश वंशल र निर्देशक रायमाझीको संयुक्त निर्माण रहेको चलचित्र परदेशी–२ मा प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ र दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बाँस्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको मुख्य भूमिका रहेको छ ।

यो चलचित्रको कथा पटकथा रमेश बिजीले लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका छन् । यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्र दिएका निर्देशक रायमाझीको ‘परदेशी–२’ तेस्रो चलचित्र हो ।

यस्तै, यही शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र कौसिदमा बैंकबाट लिएको ऋण चर्को ब्याजका कारण तीर्न नसकेर आत्मदाह गरेका नेपालीको पीडादायी कथा रहेको निर्माण पक्षले जनाएको छ । रिलिजअघि बिहीबार यो चलचित्रमा समावेश गीत सपनाको घरको भिडियो सार्वजनिक गरिएको छ ।

कुमार भाष्करको निर्देशनमा बनेको चलचित्रमा भोलाराज सापकोटा, ऋचा शर्मा, रुपेश दाहाल, परिक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई र सन्दीप लोहनी पनि मुख्य अभिनयमा छन् । सिनेमा मुलुकका चार दर्जन सिनेमा हलमा आउने भएको छ ।

केदार भुसालको निर्माणमा तयार भएको यो फिल्मको कार्यकारी निर्माता दिमेश श्रेष्ठ र सहनिर्माता लक्ष्मण बानियाँ हुन् । चलचित्र कौसिदको कथा लेखन कार्य नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको फिल्ममा भीम विश्वकर्माको सम्पादन छ ।

तपाइको प्रतिक्रिया
(Visited 136 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सर्वोच्च अदालतबाट कुलमानले पाएनन् अन्तरिम आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोष्टर राख्ने उम्मेदवारलाई निर्वाचन आयोगले कार्वाही गर्ने