खोटाङ । साकेला गाउँपालिकाले बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । नजिकिँदै गरेको चाडवाडलाई लक्षित गरि गाउँपालिकाले बैंकसँगको सहकार्यमा हरेक वडा–वडामा पुगेर भत्ता वितरण सुरु गरेको हो । साकेला गाउँपालिकामा नेपाल एसबिआई बैंकले भत्ता वितरणको जिम्मा लिएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०–०८१ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता मंगलबारबाट वितरण गरिरहेको गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङ राईले जानकारी दिए । वडा नम्बर–२ को रतन्छामा भुक्तानी शिविर मार्फत १३० जना लाभग्राहीको लागि १८ लाख ४९ हजार रुपैंया सामाजिक सुरक्षा भत्ता रकम बुझेको राईले बताए ।
बैंकको सेवा वडा–वडाबाट नै प्राप्त गर्दा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरु उत्साहित बनेका छन् । सामाजिक सुरक्षा भत्ता वितरण गर्नेक्रममा बुधबार ३ नम्बर वडा कार्यालय खिदिमा, बिहीबार ५ नम्बर वडा कार्यालय मात्तिमबिर्ता र शुक्रबार ४ नम्बर वडा कार्यालयबाट भत्ता वितरण गरिएको बैंकका प्रबन्धक मेदानी प्रसाद रिजालले बताए ।
वडा नम्बर १ को बाँझेच्यानडाँडामा केही दिनपछि मात्र भत्ता वितरणको व्यवस्था मिलाईने प्रबन्धक रिजालले बताए । साकेला गाउँपालिकाले आ.व. ०७७÷०७८ को दोश्रो चौमासिकदेखि बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । हाल चालु आर्थिक वर्षको प्रथम त्रैमासिक सम्म आईपुग्दा १ हजार ३ सय ३२ जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता रकम प्राप्त गर्दै आएका छन् । उनिहरुको लागि कूल १ करोड ३२ लाख ३० हजार ८७८ रुपैंया रकम निकासा भएको छ ।