प्रशंसनीय उद्दारकार्य

सामाजिक सञ्जालमा गाली बेइज्जत गरेर लेखिने स्टाटस अहिले प्रशंसामा लिपिबद्ध गरिएको देखिन थालेपछि इजरायलमा फसेका आफ्ना नागरिकलाई सरकारले राम्रो गरी उद्धार गर्न सकेको सबैले महसुस गर्न थालेका छन् । सुरुसुरुमा अलमलिरहेको सरकार पछि भने जनताको मन जित्नेगरी उद्धार कार्यमा तल्लीन छ । सरकारले हालसम्म २ सय ५४ बढी नेपालीको उद्धार गरेर स्वदेश ल्याइसकेको छ । इजरायलमा फसेका आफ्ना नागरिक फिर्ता लैजान जर्मनी, बेलायत, फ्रान्स, सिंगापुर, फिलिपिन्सजस्ता देश अलमलमा परिरहेका बेलामा नेपालले भने ठोस निर्णय लिएर द्रुततामा उद्धार कार्य जारी राखेको छ । नेपाली नागरिकको उद्धारका लागि नेपाल–इजरायल सिधा उडान छैन । बिचमा दुबई हुँदै इजरायल पुग्नुपर्छ । यसले उडान कार्यका ढिलाइ हुन जाने देखिन्छ । तथापि, सरकारले चाहेमा आफूले गर्न सक्ने काम समयमै गर्न सक्दो रहेछ भन्ने कुरा अहिलेको उद्धार कार्यले देखाएको छ । यदि इजरायलमा पनि सिधा कूटनीतिक सेवा जोडिएको भए नेपाली नागकिको उद्धार कार्यमा तीव्रता दिन सकिने थियो । सरकारले पहिलो लट सफलतापूर्वक उद्धार गरेपछि नेपालीमा आशा निकै चुलिएको छ ।

उद्धार कार्यमा हुँदै गरेको उल्झन फुकाउन र गति दिनका लागि परराष्ट्रमन्त्री एनपी साउद तेलअभिभ पुगेपछि नेपालले अन्य देशको तुलनामा उद्धार कार्य छिट्टै गर्न सकेको हो । सरकारी काममा विश्वसनीयता र तदारुकता देखिएपछि नेपालको त्रिभुवन विमानस्थलमा आइपुगेका तथा उनका आफन्तले सरकारको खुलेर प्रशंसा गरेका छन् । परराष्ट्रमन्त्रीमार्फत सिंगो सरकारको प्रयास नेपालीमाझ निकै आशाप्रद छ । देशमा रोजगारी नपाएर वैदेशिक रोजगारीमा बाध्यताका साथ जाने नेपाली विदेशमै अलपत्र पर्दा सिंगो नेपालीजनको मुटु दुख्छ । यो भावनात्मक मात्र नभएर व्यावहारिक यथार्थता पनि हो । सरकारले पनि वैदेशिक रोजगारका लागि जी टु जी सम्झौता गर्ने र आफ्ना नागरिक वैदेशिक रोजगारीमा पठाउने गरिरहेको यथार्थता हामीसामु छ । देशमा उद्योगधन्दा तथा व्यावसायिक कौशलतासहित सरकारको आर्थिक सहयोगबिना नेपालले अबका केही वर्षसम्म पनि स्वदेशमा रोजगारी दिन सक्ने अवस्था सिर्जना हुन नसक्ने देखिएको छ । यो आजको यथार्थता हो । समस्या त यतिसम्म पनि छ कि नेपालका सुदूरपश्चिम विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र कृषि विश्वविद्यालयबाट इजरायलमा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत विद्यार्थी पनि त्यहाँ पुगेका छन् ।

इजरायल विकसित देश हो । तथापि, यो देश सयौंवर्षदेखि द्वन्द्वमा फस्दै र अघि बढ्दै आइरहेको छ । इजरायलमा हुने द्वन्द्व आमस्मिक होइनन् । ती त नियमित आकस्मिकता जस्ता हुन् । द्वन्द्व हुँदा आकस्मिकजस्तो देखिए पनि त्यहाँको आन्तरिक अन्तरविरोधको सन्दर्भमा यो प्रायः नियमितता नै देखिन्छ । विकसित देश भएका कारण यसले विदेशी स्मरणशक्ति अमफ्नो देशमा खपत गर्न आह्वान गर्ने र सहमति गर्ने भएकाले पनि विदेशी नागरिक त्यहाँ हुने द्वन्द्वका बाबजुद आर्थिक आय आर्जन र ज्ञान आर्जनका लागि पुग्ने गरिरहेका हुन्छन् । नेपाली कामदार, बौद्धिक कामदार तथा विद्यार्थी यही अवसरको खोजीमा त्यहाँ पुगेका हुन् । पछिल्लो समयमा प्यालेस्टिनी अतिवादी समूह हमासले कल्पना नै नगरिएको स्तरमा इजरायलमाथि हमला गरेपछि सिर्जित परिस्थितिमा नेपालीको खोजी र उद्धार कार्य केही ढिला भए पनि आशालाग्दो तरिकाले सुरु गरेपछि नेपाली निकै खुसी र आशावादी छन् । यो प्रसंसनीय उद्धार कार्यको सराहना पनि गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 149 times, 1 visits today)

epaper

ताजा समाचार

भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स