गुल्मी । पहाडी जिल्लाका कोतघर र देवीका शक्तिपीठहरूमा सराँय नाच भएको छ । खुँडा, भाला, तरबार, ढाललगायतका घरेलु हतियार नचाएर युद्धको झल्को दिनेगरी पञ्चेबाजासहितको तालमा सराँय नाचिन्छ । गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा, स्याङ्जालगायतका पहाडी जिल्लाका शक्तिपीठमा दसैंको भोलिपल्टबाट पूर्णिमासम्म सराँय नाच्ने प्रचलन छ । गुल्मीमा सराँय नाच अधिकांश ठाउँमा संकटमा पर्दै गएको छ भने कतिपय ठाउँमा संरक्षणको प्रयास गरिएको छ ।
पछिल्लो समय नाच्ने कम र हेर्ने धेरै हुँदै गएका छन् । अहिले सराँय नाच हेर्नेको भिड लाग्छ तर नाच्ने मान्छे हुँदैनन् । पहिलेपहिले सराँय नाच्न पालो नपाइने ठाउँमा समेत अहिले सराँयको गोल पुग्दैन । ‘यो चौरमा पनि पहिले नाच्ने ठाउँ नै हँुदैनथ्यो तर अहिले धेरै मान्छे देखिँदैनन्,’ धुर्कोट गाउँपालिका–४ जैसिथोकस्थित बाहुनगाउँमा त्रायोदशीका दिन सराँय खेल्न आएका स्थानीय फर्सबहादुर पोखरेलले भने, ‘पहिलेभन्दा धेरै कम रमाइलो लाग्न थालेको छ ।’
युवा पुस्ता बिदेसिनु तथा मन्दिर व्यवस्थापन समितिले राम्रोसँग व्यवस्थापन नगरेका कारण यस्तो स्थिति आएको उनले बताए । सोही ठाउँका ५६ वर्षीय ज्ञानबहादुर नेपालीलाई पनि यसपटकको सराँय खासै चित्त बुझेन । प्रत्येक वर्ष भट्ट्याउँदै सराँय नाच्ने गरेका नेपाली केही वर्षयता भने सराँय नाच्ने जोडी नपुगेर चिन्तित छन् । ‘युवापुस्ता धेरै सहरतिर पसे, बाजागाजा पनि धेरै व्यवस्थित भएनन्,’ उनले भने, ‘सराँयलाई सबै मिलेर बचाउनुपर्छ ।’
बाजागाजा व्यवस्थित गरेर र युवापुस्तालाई तालिम नै दिएर भए पनि संस्कृति जोगाउनुपर्नेमा उनले जोड दिए । साथै केहीबेर रमाइलो गर्ने युवामा कुनै लय र मेलो नहुने पनि उनले बताए ।
पछिल्लो समय फूलपाती भित्र्याउँदा गाइने मालश्री र पट्टा नाच पनि लोप हुँदै गएको छ । चाँपटारीबाट फूलपाती ल्याउने र इस्माकोतबाट ब्राहमण र पुजारी झरेपछि मैदानमा करिब डेढ घण्टा रोचक पट्टा नाच देखाउने र मालश्री गाउने प्रचलन भए पनि अहिले हराउँदै आएको स्थानीय बताउँछन् ।
हतियार प्रदर्शनमा रोक, संस्कृति लोप
मन्दिरमा भक्तजनले चढाएका पौराणिक युद्धमा प्रयोग हुने खुकुरी, तरबार, खुँडा, खड्ग आदि हतियार एक आपसमा ठोक्काउँदै ‘वाख्खै वा’को भाषामा सराँय खेलिन्छ । ‘खड्गछत्र देवताले रक्षा गरून्’, ‘बाँचे आइसल’जस्ता भाषा सराँय नाचमा प्रयोग हुन्छन् । केही समय पहिले हतियार नै नचाएर सराँय खेलिन्थ्यो । पछिल्लो सयम त्यो छैन । हतियार प्रर्दशन गर्दा दुर्घटना हुने डर बढी हुने भएकाले यो पछिल्लो समय छोडिएको छ । अहिले प्रशासनले पनि सकेसम्म हतियार प्रदर्शन नगर्न भनेको छ । पहिलेपहिले राति अबेरसम्म हुने सराँय नाच पनि अहिले बेलुका बढीमा ५÷६ बजेसम्म मात्रै हुन्छ । यो विषयले बुढापाका भने सन्तुष्ट छैनन् ।
‘हतियारबिना त सराँय नै खल्लो लाग्यो, साँझ पनि अबेरसम्म खेल्न नपाइने,’ मालिका गाउँपालिकाका का ८२ वर्षीय दुर्गाबहादुर नेपालीले भने, ‘यस्ता कुराले मन नरमाइलो हुँदो रहेछ ।’
सराँय नाच नेपालका केही पश्चिमी जिल्लामा मात्र नाच्ने गरिन्छ । सराँय हेर्नकै लागि बसाइँ सरेकासमेत केही दिनका लागि आफ्नो घर फर्कन्छन् । सराँय नाच्ने शक्तिपीठमा हेर्ने र नाच्नेले आनन्द मात्र लिँदैनन्, धेरैले व्यापार गर्ने अवसरसमेत पाउँछन् ।
इस्मामा संरक्षणको प्रयास
सराँय नाच लोप हुँदै जान थालेपछि गुल्मीको इस्मा गाउँपालिका–२ ताल्तुङका युवा भने संरक्षण गर्न लागेका छन् । सराँय नाचको संस्कृति बचाउन र नयाँ पुस्तालाई सिकाउन ताल्तुङमा नाच नाचिएको स्थानीय युवा राजेन्द्रविक्रम कुँवरले जानकारी दिए ।
यसरी सुरु भयो सराँय
घटस्थापनादेखि नौ दिनसम्म देवीको पूजा गर्दा महाकाली उत्पति भइन् । पछि महाकाली ठुली हुँदै गइन् र राक्षसलाई मारिन् पनि । त्यसपछि रामचन्द्रले राउन्डेलाई मारे । नौ दिनसम्म पूजा गरी राक्षसलाई मारेको उत्सवस्वरूप दसैंको टिका लगाउने प्रचलन बस्यो भने राउन्डेलाई मारेको उत्सवमा हजारौं वर्षअघि द्वापरयुगमा सराँय खेल्न थालिएको इतिहास छ । एकादशीका दिन गुल्मीको इश्मा मैदान र धुर्कोट वस्तुमा सराँय नाच्ने गरिन्छ । द्वादशीको दिन बुल्म, त्रायोदशीको दिन जैसिथोकको बाहुनगाउँ, चर्तुदशीको दिन छिलिम्टे तथा पूर्णिमाको दिन धुर्कोट कोत, चोयघा, अर्जैलगायतका क्षेत्रमा सराँय नाच्ने गरिन्छ ।






