सप्तरी । राजविराज १ चनौरा पडरिया स्थित आशीमियाँ दारुलउलम मदरसामा तालाबन्दी गरिएको छ । मदरसा शिक्षाका लागी नगर मै अब्बल मानिएको उक्त मदरसामा मंगलवार प्रधानाध्यापक र शिक्षकहरु कै अगुवाईमा तालाबन्दी गरिएको हो ।
नगरपालिकाले दिएको थोरै अनुदान रकमका आधारमा न्युनतम तलब लिएर पनि काम गर्दै आएका शिक्षक÷शिक्षिकाहरुले मदरसा व्यवस्थापन समितिका अध्यक्ष आसिन मियाँको हठका कारण विगत ३ महिना देखि तलब खान नपाएको गुनासो गर्दै आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।
मदरसाको बैंक खाता अध्यक्ष आसिन मियाँ र प्रधानाध्यापक रुबीना बेगमको संयुक्त नाममा संचालन छन् । तलब खान पुग्ने गरी खातामा रकम मौजदात रहदा रहदै पनि पुर्वाग्रह राखी तथा दुःख दिने मनसायले चेकमा हस्ताक्षर गर्न न मानेपछि त्यहाँ कार्यरत ५ जना शिक्षक÷शिक्षिका र मोलबीले बिगत ३ महिना देखि तलब खान नपाएको प्रधानाध्यापक रुबीना बेगमले बताईन ।
मदरसामा प्रध्यानाध्यापक बेगम, मौलबी मो.युनुस, कार्यालय सहायक रोशन खातुन तथा बाल विकास शिक्षिका तर्फ रक्षा चौधरी र प्रमिला कुमारी यादव गरी ५ जना कार्यरत छन् । उनीहरुले गत साउन, भदौ र असोज महिनाको तलब तथा दशै खर्च समेत पाउन सकेका छैनन ।
२४ जना छात्र र ६२ जना छात्रा गरी कुल ८६ जना विद्यार्थी रहेको मदरसामा उर्दु, अरबी, दिनियातका साथै नेपाली, अंगे्रजी र गणित विषयको पढाई हुन्छ । पठाई अब्बल रहेपनि अध्यक्षको मनोमानीका कारण बेला बेलामा विवाद उत्पन्न हुने गरेको अभिभावक मो.सदरुलले सुनाए ।
त्यहाँ कार्यरत शिक्षक, शिक्षिका, मौलवी र कार्यालय सहायकलाई अध्यक्ष आसिनले घरको नौकर जस्तै व्यवहार गर्न थालेपछि विवाद उत्पन्न हुने गरेको तथा यसले बालबालिकाको पठन पाठनमा समेत असर पर्न थालेको अर्का अभिभावक हसिना वेगमको भनाई छ ।
राजविराज नगरपालिका शिक्षा शाखा मार्फत उक्त मदरसालाई दिदै आएको २ लाख ४१ हजार रुपैया मध्येबाट मासिक ८ हजार ३ सय ३३ रुपैया तलबमा शिक्षकहरु काम गर्दै आएका छन् ।
मदरसाका प्रध्यानाध्यापक रुबीना बेगमले केही दिन अघि मात्र नगरपालिकाबाट अनुदान स्वरुप आउने वार्षिक २ लाख ४१ हजार मध्ये ४१ हजार मदरसा व्यवस्थापन समितिका अध्यक्ष आसिन मियाँले स्वयम लिने गरेको र बाँकी २ लाखबाट आफुहरु तलब लिने गरेको सार्वजनिक गरेकी थिइन । सोही कारणले रिसाएका अध्यक्ष आसिनले चेकमा हस्ताक्षर गर्न न मानेको र गल्ती स्वीकार्न दवाब दिन थालेको मौलवी मो.युनुसको भनाई छ ।
“मदरसामा आउँदैनन, घरमा हस्ताक्षरका लागी चेक लिएर जादाँ पनि गाली बेइजत र रुखो ब्यवहार प्रर्दशन गरेर फिर्ता पठाई दिन्छन, मौलवी मो.युनुसले भने, अध्यक्ष आसिनको व्यवहारले यहाँका शिक्षक मात्र होइन, विद्यार्थी र अभिभावक समेत हैरान र परेशान छन ।”
मदरसा व्यवस्थापन समितिका अध्यक्ष आसिनले भने शिक्षकहरुले आफुलाई नटेर्ने तथा आफु विरुद्ध गलत प्रचारबाजी गरेको दाबी गरेका छन् । आपृmु तलब खुवाउन चेकमा हस्ताक्षर गर्न तयार हुने तर त्यस अघि समाजका भरभलादमी वसेर केही निर्णय गर्नू पर्ने उनको अडान छ । कस्तो निर्णय ? भन्ने जिज्ञासामा उनले भने “त्यो कुरा वैठक वसेपछि मात्र राख्छौ ।”
नगरपालिका शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवले मदरसामा लामो समय देखि तलब नपाएपछी शिक्षक÷शिक्षिकाहरुले तालाबन्दी गरेको खबर आफुलाई प्राप्त भएको बताउँदै यसको सत्य तथ्य बुझ्ने काम भईरहेको बताए ।
उनले ब्यक्तिगत रिसइवीका कारण कसैको तलब रोकिनु उचित न भएको जिकिर गर्दै समस्या समाधानका लागी आवश्यक पहल शूरु भइसकेको जानकारी समेत दिए ।






