मुम्बई । बलिउड अभिनेता अजय देवगन बिहीबारबाट ५१ वर्षमा लागेका छन् । उनले आफ्नो जन्म दिन बिहीबार घरमै परिवारसँग मनाएका छन् । विश्वमा फैलिएको कोरोना भाइरसको कारण अहिले भारत पनि २१ दिनको लागि निरन्तर लकडाउनमा छ । यो अवस्थामा आफ्नो जन्म दिन मनाउँदा अभिनेता अजयले सबैलाई घरमा रहेर कोरोना भाइरसबाट बच्न र प्रधानमन्त्री नरेन्द्र मोदीको अनुरोधअनुसार लक डाउनको पालना गर्न अनुरोध गरेका छन् ।
फुर्सदको समय घरमै बसेर परिवारसँग रमाउन रुचाउने अभिनेता अजय देवगनले यसपटकको परिवारसँगै आफ्नो जन्म दिन मनाएका छन् । यो अवसरमा आफूलाई शुभकामना दिने सबैलाई धन्यवाद भनेका छन् ।
सन् १९९१ बाट फिल्म फूल और काँटेबाट अजयले बलिउडमा नायकका रूपमा डेब्यु गरेको हुन् । बलिउड निर्देशक, निर्माता एवं द्वन्द्व निर्देशक बिरुदेवगनका छोरा अजयले बालकलाकारका रूपमा केही फिल्ममा काम गरिसकेका थिए । नायकको रूपमा फिल्ममा २९ वर्ष बिताइसकेका अजयका ११ वटा फिल्मले १०० करोडभन्दा माथिको व्यापार गरिसकेको छ ।
उनको दुईवटा फिल्म गोलमाल अगेन र तान्हाजीले २०० करोडभन्दा माथिको व्यापार गरिसकेको छ । तान्हाजीले २८७ करोडको व्यापार भारतमा दुई महिनाअघि गरेको थियो । अहिलेसम्म कलाकार, निर्माता, निर्देशकको रूपमा अक्षयले करिब १०० ओटा फिल्ममा काम गरिसकेका छन् ।






