काठमाडौं । मुलुकमा लक डाउनसँगै अन्तर्राष्ट्रिय नाटक दिवसको अवसरमा एक साता अघिबाट सुरु भएको ‘क्वारेन्टाइन अभियान नाट्यउत्सव–२०७६’ एक साता लम्बिएको छ । ‘कोभिड–१९ संक्रमणको जोखिम कम नभएपछि सरकारले आगामी चैत्र २५ सम्मलाई ‘लकडाउन’ अवधि घोषणा गरेको छ । सोही कारण उत्सव लम्बिएको हो । गत शुक्रबारबाट यो उत्सव बिहीबार एक साताका लागि मात्र भनेर सुरु गरिएको थियो ।
‘लकडाउन’को अवधिमा रंगमञ्चका दर्शकले नाटकबाट टाढा रहन नपरोस् भन्ने उद्देश्यले सुरु भएको भर्चुअल थिएटर फेस्टिभल सुरु भएको थियो । यो उत्सवमा हरेक साँझ ५ बजे फेसबुकका माध्यमबाट एउटा नाटक प्रत्यक्ष देखाउँदै आएको छ । फेसबुकबाटै प्रत्यक्ष नाटक हेरेर संक्रमणबाट बच्ने एक मात्र उपाय ‘क्वारेन्टाइन’ उत्सव भएको आयोजक पक्षको कथन छ ।
बिहीबार साँझ सुरेन्द्र वर्मा लिखित, अनुप बरालको सुपरभिजनमा, सुरज मल्ल निर्देशित एक्टर्स स्टुडियोको प्रस्तुति नाटक ‘शकुन्तलाको औंठी’को भिडियो प्रस्तुत गरेसँगै उत्सवको पहिलो साता समापन भएको हो । प्रत्यक्ष उत्सव गर्ने भनिए पनि मुलुकमा कोरोना भाइरसको संक्रमण देखिएपछि आयोजक संस्था थिएटर मलले नाटकको भिडियो ठिक साँझ ५ बजे थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मलबाट देखाउँदै आएको छ ।
‘उत्सवको प्रारम्भिक लक्ष्य एक साता पूरा भए पनि लकडाउनको अवधि बढेसँगै उत्सव अवधि पनि अर्को सातासम्म लम्बिने भएको छ ।’ फेस्टिभल निर्देशक केदार श्रेष्ठले भने, ‘हामीले उत्सव सुरु गर्दा एक साताको लक्ष्य राखेका थियौं । त्यो आज पूरा हुँदै छ । तर, ‘लकडाउन’को अवधि थपिएको छ, दर्शकको माग पनि बढिरहेको छ । साथै, उत्सवमा सहभागी हुन चाहने नाटकको संख्या पनि पर्याप्त छ । त्यसैले उत्सव अर्को सातासम्म लम्ब्याउने निर्णय गरेका छौं’,
अबको साता लाइभ स्ट्रिमिङ गरिने चार नाटक तय भइसकेको श्रेष्ठले जानकारी दिए । अबको साता बालबालिका लक्षित नाटक प्रस्तुत गर्ने पनि उनले बताए । त्यसैले साताको सुरुवातमा लगातार बालबालिका लक्षित दुई नाटक देखाइने श्रेष्ठले बताए ।
यो फेस्टिभलका प्रस्तुति संयोजक प्रशुन सिन्धुलीयका अनुसार उत्सवका लागि तय भएको नाटकतालिकाअनुसार दोस्रो साताको पहिलो दिन शुक्रबार केदार श्रेष्ठको लेखन तथा निर्देशन रहेको थिएटर मलको प्रस्तुति ‘उपियाँको निबन्ध’को भिडियो देखाइनेछ । त्यसैगरी शनिबार कथाघेरा, कौसी थिएटरको प्रस्तुतिमा आकांक्षा कार्की निर्देशित नाटक ‘दयालु रूख’को भिडियो स्ट्रिमिङ हुनेछ ।
आइतबारका लागि सम्पदा मल्लको कथामा अशेष मल्लले नाट्यलेखन र निर्देशन गरेको नाटक ‘अर्को कुरुक्षेत्र’, सोमबार आरोहण, गुरुकुलको प्रस्तुति रहेको नाटक ‘एल्ममुनिको तिर्खा’को भिडियो लाइभ स्ट्रिमिङ गरिने पनि उनले बताए ।
अझै नाटक आउने क्रम जारी रहेको र त्यसको प्रदर्शन सूची तयार हुँदै गरेको प्रशुनले बताए । उनका अनुसार नाटक ‘अन्धेर नगरी चौपट राजा’, पपेट प्ले ‘टु बि’ र ‘भोको घर’ यसै साता प्रदर्शन गरिनेछ । त्यसैगरी उत्सवमा ‘ऊ मरेकी छैन’, ‘लाटीको छोरो’ र ‘गर्भछिटा’ पनि प्रदर्शन गर्ने उनले जनाए । सबैजसो सक्रिय नाट्यसमूहको सहभागिता उत्सवमा देखिएको छ । उत्सवका लागि रंगकर्मीको ऐक्यवद्ध भिडियो पनि निरन्तर प्राप्त भइरहेको उनले जनाए ।






