सेती नदी फर्काइयो

काठमाडौं । १ सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनालाई तीन वर्षभित्रै सिध्याउने गरी मुख्य बाँध निर्माणका लागि सेती नदीलाई फर्काइएको छ ।

ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई १ सय ४० मिटर अग्लो कंक्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६ सय २६ दशमलव ९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको हो । डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको छ ।

अब मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउन करिब ४० मिटर अग्लो अस्थायी कंक्रिट बाँध निर्माण गरिने छ । उक्त बाँध आगामी मनसुन सुरु हुनुभन्दा पहिले नै निर्माण सक्नेगरी काम भइरहेको आयोजनाले जनाएको छ ।

कार्यकारी निर्देशक घिसिङले नदी फर्काउने कार्य आयोजना निर्माणका लागि एउटा महत्वपूर्ण कोसेढुंगा भएको बताए । विगतमा परामर्शदाता र निर्माण व्यवसायी छनोटमा केही ढिलाइ भए तापनि अहिले नमुना आयोजनाका रूपमा अगाडि बढाउनेगरी काम भइरहेको उल्लेख गर्दै घिसिङले समयमै सम्पन्न गर्नेगरी तदारुकतासाथ काम भइरहेको बताए ।

आयोजनाको समग्र निर्माण प्रगति करिब ४६ प्रतिशत रहेको छ । समग्र निर्माण २०८३ साल असारभित्र (सन् २०२६ मेमा) सक्ने लक्ष्य राखिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले आयोजनाले महत्वपूर्ण चरण पार गरेको बताउँदै आयोजना जतिसक्दो छिटो निर्माण सम्पन्न हुनुपर्नेमा जोड दिए । उनले निर्माणमा आइपर्ने स्थानीय समस्यालाई संयुक्तरूपमा समाधान गरी निर्माणमा अवरोध हुन नदिने प्रतिबद्धता जनाए ।

व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले निहीत स्वार्थका व्यक्तिबाट सतर्क भएर आयोजनालाई तोकिएकै समयमा सम्पन्न गरिनुपर्ने बताए । भिमाद नगरपालिका प्रमुख दधिराज सुवेदीले देशमा केही नभएको भन्ने जताततै गुनासो सुनिरहेका बेलामा आयोजना निर्माण नयाँ चरणमा प्रवेश गरी सकारात्मक सन्देश दिएको बताए ।

एडीबीका वरिष्ठ निर्देशक (ऊर्जा) प्रियन्था विजयतुंगाले कालीगण्डकी जलविद्युत् निर्माण सम्पन्न भएपछि बैंकले तनहुँ जलविद्युत्मा लगानी गरेको उल्लेख गर्दै आयोजनाले अवलम्बन गरेका सामाजिक र वातावरणीय सुरक्षणका क्रियाकलापलाई नमुनाका रूपमा दुधकोशी जलविद्युत् आयोजनामा लागू गर्न सकिने बताए । उनले विगत वर्षदेखि नेपालको ऊर्जा क्षेत्रमा गर्व गर्न लायक काम भएको बताउँदै दुधकोशी जलविद्युत्जस्ता ठुला आयोजनामा एडीबीले लगानी गर्न लागिरहेको उल्लेख गरे ।

तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध– निर्देशक किरणकुमार श्रेष्ठले कुलेखानीपछि बन्न लागेको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गरिएको जानकारी दिए ।

आयोजनाको मुख्य निर्माण कार्यलाई तीन प्याकेजमा विभाजन गरी काम गरिरहेको जनाइएको छ ।

प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीसँगकोे ठेक्का सम्झौता १४ भदौ २०७८ सालबाट कार्यान्वयनमा आएको थियो ।

निर्माण व्यवसायीले हाल अर्को डाइसर्भन सुरुङ र मुख्य बाँध निर्माणका लागि सेती नदीको दायाँ तथा बायाँतर्फबाट पहाड (स्लोप) काट्ने कार्य गरिरहेको छ । उक्त कार्यको प्रगति करिब ५४ प्रतिशत छ । प्याकेज–१ को समग्र प्रगति २५ प्रतिशत छ ।

आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२ को निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग १५ असोज २०७५ सालमा खरिद सम्झौता भएको थियो । निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौताबमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनो हाइड्रोले ६ माघ २०७५ सालबाट आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ ।

भूमिगत विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ तथा टर्वाइनलगायतका उपकरण जडान भइरहेको छ । टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ र मुख्य सुरुङ खनिरहेको छ । यस प्याकेजको सिभिलतर्फको निर्माण प्रगति ७० प्रतिशतभन्दा बढी छ भने समग्र प्रगति करिब ४७ प्रतिशत छ ।

प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केईसी इन्टरनेसनल लिमिटेड, भारतसँग मिति १० पुस २०७५ सालमा भएको खरिद सम्झौता १० फागुन २०७५ सालमा कार्यान्वयनमा आएको थियो । ३४ दकमलव ७ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ६९ वटा टावरको जग हालिएको छ भने ३३ वटा टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ६९ प्रतिशत रहेको छ ।

आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्न नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ ।

यसअन्तर्गत स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३÷११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सबस्टेसनसम्म विद्युत् पु¥याउन ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार–नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्नेगरी वित्तीय व्यवस्थापन गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 242 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेस निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नेम्वाङको गृह नगरमा काँग्रेसका उम्मेदवार निर्वाचित