तिहार : नेपालीको मौलिक पर्व

काठमाडौं । तिहार दाजुभाइ तथा दिदीबहिनीको सम्बन्ध प्रगाढ बनाउने चाडका रूपमा लोकप्रिय छ । प्रकृति र पशुपक्षीको समेत पूजा गरिने भएकाले समेत यसको छुट्टै महत्व छ ।

भारतलगायतका अन्य हिन्दू धर्मावलम्बीले तिहारलाई शुभ दीपावली भनेर लक्ष्मीको मात्र पूजा गर्ने र दीप प्रज्ज्वलन गर्ने प्रचलन रहे पनि नेपालमा भने यमपञ्चकका रूपमा आफ्नै शैलीले पाँच दिनसम्म यो पर्व मनाइने गरिन्छ । यसर्थ अन्य हिन्दूहरूका लागि यो शुभ दीपावली हो भने नेपालीहरूका लागि तिहार हो, यमपञ्चक हो ।

नेपाली भाषीबाहेकले लक्ष्मीको पूजा गर्ने पर्वका रूपमा लिइने यो पर्वमा नेपालीले भने प्रकृतिको पूजा गर्ने गर्छन् ।

नेपालीहरू प्रकृतिका पूजक हुन् । त्यसैले, प्रकृतिको श्रद्धा तथा संरक्षणमा प्रेरित गर्ने पर्व पनि हो तिहार ।

यमपञ्चकमा क्रमशः सञ्चारको दूत काग, बफादार जनावर कुकुर, दूधरूपी अमृत दिने गाई, गोरु र दाजुभाइको पूजा गरिन्छ । शरीरलाई पनि उत्तिकै हेरचाह गर्नुपर्छ भनेर तिहारको चौथो दिन नेवार समुदायमा म्हः पूजा पनि गरिन्छ । धार्मिक, सामाजिक र सांस्कृतिक उत्सवका रूपमा मनाइने तिहार दीप प्रज्वलनको पर्व भएकाले यसलाई दीपावली पनि भन्ने गरिन्छ र पाँच दिनसम्म दीपावली गर्ने प्रचलन रहेको छ ।

नेपाली समाजमा प्रकृति पूजक र पशुपन्छीपूजक समुदाय छन् । नेपाली समाजले आफ्ना प्रमुख चाडबाडमा आफू मात्र रमाइलो गर्दैन, घरपालुवा जनावरको पनि भरपुर सेवा सत्कार गर्छ । यमपञ्चकमा काग, कुकुर, गाई र गोरुजस्ता पशुपक्षीको पूजा गरी सम्मान गर्नु नेपाली मौलिकताको उदाहरण हो ।

फूलमाला, रङ, झिलिमिली बत्ती र देउसीभैलोले तिहारमा अन्य पर्वको भन्दा बेग्लै रौनक थपेको हुन्छ । त्यसैले, यो बच्चादेखि वृद्धसम्म सबैलाई मन पर्ने हर्षोल्लासको पर्व मानिँदै आएको छ ।

काग तिहार
भूकम्प जान लागेको खबर सर्वप्रथम कागलगायत चराचुरुंगीले थाहा पाउँछन् । कागले प्राकृतिक विपत्तिको पूर्वसंकेत दिन्छ । कागलाई मृत्युको दूत पनि मानिन्छ । कागले मानिसको घरमा सन्देश पु¥याउने काम गर्छ भन्ने मान्यता छ । कागले भाग्यको सन्देश ल्याउने विश्वासका कारण तिहारको पहिलो दिन कागको पूजा गरिन्छ ।

कुकुर तिहार
कुकुर हाम्रो समाजको रक्षक हो । गल्ली र सडकमा डुल्ने भुस्याहा कुकुरले पनि हाम्रो घरलाई पहरा दिने र चोरको संकेत दिने गर्छ । सबैभन्दा बफादार प्राणी कुकुर पनि हाम्रो समाजको अंग हो भनी तिहारको दोस्रो दिन यसलाई पुज्ने गरिन्छ । विनाशकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुनेबेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना समेत दिने गर्छ ।

खाने कुरा थोरै पाए पनि सन्तुष्ट हुने, धेरै दिए पनि खाने प्राणी हो कुकुर । कुकुरका यी गुण सम्झँदै यस दिन उसलाई पूजा गरेर मीठो खानेकुरा खान दिइन्छ । घरमा कुकुर नभएकाले पनि विभिन्न परिकार तयार गरेर आफ्नो टोलछिमेकमा भएका कुकुरलाई दिने चलन छ ।

लक्ष्मीपूजा–गाई तिहार
तिहारको तेस्रो दिन धनकी देवी लक्ष्मीको विशेष पूजाअर्चना गरिन्छ । लक्ष्मी जल, फूल, तेल र उज्यालोमा बस्न रुचाउने देवी भएकाले यसबेला फूलमाला र झिलिमिली बत्तीसँगै तेल तथा पानीको प्रयोग धेरै हुन्छ । उज्यालो लक्ष्मीको प्रतीक हो । त्यसैले, घर तथा भण्डारमा लक्ष्मी डाक्न बत्तीको प्रयोग बढी हुन्छ ।

यस दिन बिहान समृद्धि र धनका प्रतीकका रूपमा लिइने गाइको पूजा गरिन्छ भने साँझ दीपावली गर्दै लक्ष्मीको पूजा गरिन्छ ।

यसै दिन नेवार समुदायमा अन्न पूजा गरिन्छ । कृषिपेसामा संलग्न रहँदै आएका नेवार यस दिन घरमा भित्र्याइएको नयाँ अन्नको पूजा गर्छन् । आफ्नो घरमा अन्न भण्डारण गरिएका जति ठाउँ छन्, ती सबैमा पूजा गर्ने परम्परा छ ।

गोवद्र्धन पूजा-म्हः पूजा
तिहारको चौथो दिन गोवद्र्धन पूजा गरिन्छ । यस दिन बिहान सबेरै गोबरको पूजा गरिन्छ । गाईगोठमा पनि पूजा गर्ने परम्परा रहिआएको छ । साथै, कृषि कार्यमा महत्वपूर्ण योगदान दिने गोरुको समेत पूजा गर्ने चलन छ ।

यही दिन विभिन्न बाजाका साथ नाच्दै–गाउँदै देउसी खेल्ने गरिन्छ । देउसी खेल्न आएकाहरूलाई पनि सेलरोटी, विभिन्न फलफूल र दक्षिणा दिइन्छ ।

नेवार समुदायमा यस दिनको छुट्टै महत्व छ । उनीहरू यस दिन ‘म्हः’ अर्थात् आफ्नो शरीरलाई पूजा गर्छन् । वर्षभरि आफ्नो शरीरले साथ दिएको र नयाँ वर्षमा पनि विभिन्न बाधाअड्चन पार गरी पञ्च तत्वबाट बनेको आफ्नो शरीर सन्तुलित राख्दै जीवन अगाडि बढाउन सकियोस् भनी म्हःपूजा गरिन्छ ।

शरीरका अलावा आफ्नो घरमा रहेका कुचो, भाँडाकुडा, नाङ्ला, सिलौटालगायत दैनिक प्रयोगमा आउने सामग्रीलाई पनि उत्तिकै श्रद्धा गर्नुपर्छ भने सन्देश दिन तिहारको चौथो दिन तिनलाई पुज्ने गरिन्छ । यसै दिनदेखि नेवार समुदायको नयाँ वर्ष नेपाल संवत् सुरु हुन्छ ।

भाइटीका
तिहारको पाँचौं दिन भाइटीका हो । यस दिन दिदीबहिनीले दाजुभाइलाई दीर्घायुको कामना गर्दै टीका लगाइदिने गर्छन् । यस दिन यमराज पनि आफ्नी बहिनी यमुनाको हातबाट टीका ग्रहण गर्न जान्छन् भन्ने जनविश्वास छ । कहिल्यै नसुक्ने मखमली फूलको मालासहित जल र तेलले घेरेर दाजुभाइको पूजा गर्दा यमराजका दूतले पनि केही गर्न सक्दैनन् भन्ने विश्वास छ । पञ्चरंगी टीकालाई पृथ्वी, वायु, तेज, आकाश र जलको प्रतीकका रूपमा लिइन्छ । टीका र माला ग्रहण गरेपछि दाजुभाइले आफ्ना दिदीबहिनीलाई उपहार दिने प्रचलन छ ।

तपाइको प्रतिक्रिया
(Visited 295 times, 1 visits today)

epaper

ताजा समाचार

राति १० बजेसम्म मात्रै बल्ने धनगढीका सडक बत्ती