घरेलु कामदार प्रतिबन्ध नखुलाउदा रोजगारी गुमाउँदै नेपाल

काठमाडौं । नेपालले कुवेतलगायत खाडीमा घरेलु कामदारमा लगाएको प्रतिबन्ध खुला नगरेपछि कुवेतले केन्याबाट घरेलु कामदार लैजाने भएको छ । कुवेतमा रोजगारीका अवसरहरूका लागि भर्ना परीक्षा दिएका ५ हजारभन्दा बढी आवेदकमध्ये लगभग १ हजार ५ सय केन्याली नागरिकले कुवेतमा विभिन्न क्षेत्रमा दक्ष पदहरूका लागि भर्ना परीक्षा सफलतापूर्वक पास गरेका छन् ।

कुवेतले केन्याबाट १५ सय कामदार लैजाने

कुवेतका लागि गणतन्त्र केन्याकी राजदूत हलिमा महमुदले छनोट भएका व्यक्तिहरू १ हजार ५ सय कामदार आगामी डिसेम्बरसम्ममा कुवेत आइपुग्ने बताइन् । राजदूत हलिमाले केन्याबाट घरेलु कामदार भर्ना गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्ने क्रम भइरहेको भन्दै छिट्टै सम्झौतामा हस्ताक्षर हुने विश्वास व्यक्त गरिन् ।

‘कुवेतसँग औपचारिक श्रम सम्झौता नभए पनि सकारात्मक छलफल चलिरहेको छ,’ राजदूत हलिमाले भनिन् । उनले नैरोबीमा मन्त्रिपरिषद्मा भएको परिवर्तनका कारण हस्ताक्षर गर्न ढिलाइ भएकाले केन्याका विदेशमन्त्रीको कुवेत भ्रमणको समय तालिका तय भएको जानकारी दिइन् ।

मुख्य सम्झौताहरूमा घरेलु कामदारको भर्ती र दुई मुलुकबीचको सीधा उडान लाइनका लागि समझदारीपत्र समावेश छ, जसमा सहमति भइसकेको छ र कार्यान्वयनका लागि अन्तिम हस्ताक्षरको पर्खाइमा छ । हलिमाले यी विषयमा दुई मुलुकबीचको सकारात्मक सहमति भएको पुष्टि गरिन् । हलिमा कुवेतमा दक्ष पदका लागि केन्याली नागरिकलाई भर्ना गर्नका साथै केन्याबाट घरेलु कामदारहरू भर्ना गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्नका लागि छलफल र प्रयासमा सक्रिय रूपमा संलग्न छिन् ।

घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा गएका महिला असुरक्षित भएको भन्दै नेपाल सरकारले २०७३ सालमा प्रतिबन्ध लगाएको थियो । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्णयमा खाडी तथा मलेसिया जान लगाइएको प्रतिबन्ध ७ वर्ष बित्न लाग्दा पनि हटाइएको छैन । तत्कालीन समयमा वैदेशिक रोजगारीमा घरेलु कामदारका रूपमा गएका अधिकांश महिलाको मानसिक, शारीरिक, आर्थिक शोषण भएकाले सरकारले रोक लगाएको थियो ।

यतिका वर्ष प्रतिबन्ध लगाए पनि मानव तस्करहरूले भारतको बाटो हुँदै गैरकानुनी तरिकाले खाडीका विभिन्न मुलुकमा घरेलु कामदार लैजाने गरेका छन् । नेपाल सरकारले घरेलु कामदारमा लगाएको प्रतिबन्ध खुला गर्दै विभिन्न मुलुकमा श्रम सम्झौता गरी कानुनी तरिकाले कामदार पठाउने वातावरण मिलाउनसके हजारौं नेपाली महिलाले घरेलु कामदारका रूपमा वैदेशिक रोजगारी पाउने थिए ।

पछिल्लो समय गैरकानुनी बाटो हँुदै कुवेत पुगेका सयौं नेपाली घरेलु महिला कामदारलाई घर मालिकले बन्धक बनाएको र यातना दिएको भन्दै दैनिकजसो उद्धारको अनुरोध गर्दै उनीहरू आएका छन् । कुवेतमा गैरकानुनी तरिकाबाट पुगेका २ हजार ७ सय १६ नेपाली महिला घरेलु कामदारका रूपमा रहेको पाइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरको ३ पालिका र ४८ वडाको नतिजा सार्वजनिक (सूचीसहित)