अनुसुयाको विवेक

पौराणिक कालमा ऋषि अत्रिपत्नी अनुसुयाको पतिव्रता धर्म निकै उत्कर्षमा थियो । उनी सौम्य, सभ्य, सुन्दर र संयमी थिइन् । विष्णुलोक, ब्रह्मलोक र शिवलोकमा अनुसुयाको पतिव्रताको चर्चा निकै चुलिएको थियो । यो कुरा देवदेवीका लागि पनि आश्चर्य र इष्र्याको विषय बनिसकेको थियो । तीन त्रिलोक तथा चौध भूवनमै दिनहुँ अनुसुयाको चर्चा झाँगिदै गएपछि विष्णुपत्नी लक्ष्मी, ब्रह्मापत्नी सरस्वती र शिवपत्नी पार्वती त डाहले जल्न थालेछन् । देवी भएर पनि आफूहरू ओझेलमा पर्ने तर मत्र्यलोकमा रहेकी एक मामुली ऋषिपत्नी सधैं चर्चामा आइरहने ! त्यसपछि तीनवटै देवीहरूले संयुक्त रूपमा सल्लाह गरी आआफ्ना पतिलाई पतिव्रता अनुसुयाको परीक्षा लिन पठाउने र अनुसुयाको झाँको झार्ने निर्णयमा पुगेछन् ।

अग्निपरीक्षा-पौराणिक कथा

तीन देवी मिलेर हरेकले आआफ्ना पतिदेवलाई वाचामा फसाएपछि ब्रह्मा, विष्णु र महेश्वर बाध्य भएर अनुसुयाको परीक्षा लिन जाने भएछन् । यसका लागि तीनै जना देवताले साधुको भेष धारण गरी ऋषिआश्रम भिक्षा माग्न गएछन् । ऋषि अत्रि ध्यानमा रहेकाले उनकी पत्नी अनुसुया भिक्षा दिनका लागि तीन साधुसमक्ष उपस्थित भइछन् । तर, साधु भेषमा आएका ब्रह्मा, विष्णु र महेश्वरले ‘हामीलाई यो भिक्षा चाहिँदैन, हामीले मागेको दिने भए मात्र लिन्छौं नभए सराप दिन्छौं’ भनी अड्चन पो थापेछन् । अनुसुयाले ‘हजुरहरूले मागेको कुरा दिने भएँ, के हो भन्नुहोस् ?’ भनी वचन दिइछन् ।

त्यसपछि तीनैजना साधुले अनुसुयासँग ‘सर्वांग नांगो भई हामी तीनै जनालाई अँगालेर स्तनपान गराऊ’ भनेछन् । सोच्दै नसोचेको यस्ता कुरा मागेकाले अनुसुयामा दुविधा पैदा भएपछि पति अत्रिकहाँ पुगी उनले आफूमाथि आइपरेको आपत् सविस्तार सुनाइछन् । अत्रि ध्यानमा नै रहेकाले उनले ध्यानमार्फत अन्तरदृष्टिले तीनजना साधुलाई नियालेछन् । अन्तरदृष्टिले हेर्दा ब्रह्मा, विष्णु र महेश्वर देखेपछि अत्रि ऋषिले आफ्नी अनुसुयालाई ‘तिमीले सोच विचार गरेर निर्णय लेऊ’ भनिदिएछन् ।

अनुसुयाले साधुसमक्ष पुगी संकल्प गरेर भनिछन्, ‘यदि मेरो पतिव्रत धर्ममा सत्यता छ भने यी तीनैजना साधु दूध पिउने बच्चाका रूपमा परिणत होऊन् ।’ त्यसपछि तीनैजना साधुहरू बच्चाका रूपमा परिणत हुन पुगेछन् । अनुसुयाले तीनैजना बच्चालाई काखमा राखी स्तनपान गराएर पाल्न थालिछन् । लामो समयपछि पनि पतिदेवहरू घर नफर्किएपछि लक्ष्मी, सरस्वती र पार्वती तीनै जना उनीहरूको खोजीमा गएछन् । अत्रिआश्रममा पुगेपछि उनीहरूले तीनजना बच्चा तीनवटा टोकरीमा खेलिराखेको देखेर छक्क परेछन् ।

आफ्नो आश्रममा आएका लक्ष्मी, सरस्वती र पार्वतीलाई अनुसुयाले नचिन्ने कुरै भएन । अनुसुयाले चिनेरै सम्बोधन गरेपछि उनीहरूले आआफ्ना पतिको अवस्था सोधेछन् । अनुसुयाले तत्कालै ‘मैले स्तनपान गराएर पालिराखेकी छु, लिने भए आआफ्ना पति चिनेर लिनुस्’ भनी जवाफ दिइछन् । अब फसाद आइलाग्यो उनीहरूलाई !

त्यसपछि विनम्रताका साथ माफी मागेर तीन देवीले आआफ्ना पतिलाई वास्तविक रूपमा फर्काइदिन अनुरोध गरेछन् । भूल स्वीकार र क्षमायाचनापछि अनुसुयाले बालकका रूपमा रहेका त्रिदेवलाई वास्तविक स्वरूपमा फर्काइदिइछन् । लज्जित त्रिदेव आआफ्ना देवीसहित निवास धाममा फर्किएछन् ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हेटौंडाको मेयर बन्न ४ महिला सहित १७ जनाको उम्मेदवारी