काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको राष्ट्रिय भेला एवं प्रशिक्षण १४ पुसमा हुने भएको छ ।
काठमाडौं स्थित केन्द्रीय कार्यालयमा आज बसेको आईटी आर्मीको बैठकले राष्ट्रिय भेला र प्रशिक्षण गर्ने निर्णय गरेको हो । आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहको अध्यक्षतामा बसेको बैठकमा आजपा अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साह लगायत नेताहरुको बिशेष सहभागिता रहेको थियो ।
बैठकले सामाजिक न्याय र सुशासन सहित आम जनताको लोकतन्त्र प्राप्तिका लागी क्रियाशील आईटी आर्मीले संघर्षका बिभिन्न कार्यक्रम अगाडी बढाउँने निर्णय समेत गरेको छ ।
वैदेशिक रोजगार पीडितको पक्षमा संघर्ष गर्ने, भ्रष्टाचारीहरुलाई जनकारवाही गर्ने, नेपाली नागरिकता परित्याग गरेका विदेशीहरुको सम्पत्ति कब्जा गरी सरकारलाई बुझाउँने लगायतका संघर्षका कार्यक्रमहरु अगाडि बढाउँने आईटी आर्मीका अध्यक्ष साहले जनाएका छन् ।
यसैगरी आम विद्रोहको पक्षमा जनाधार तयार गर्न तथा राष्ट्रियताको प्रबद्र्धन तथा स्वाधीनताको रक्षार्थ शशक्त अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष प्रभु साहले देशमा बढदै गएको भ्रष्टाचार, अनियमितता, कुशासनका बिरुद्धमा कडा रुपमा उत्रिन आईटी आर्मीका नेताहरुलाई निर्देशन दिए ।
सोही कार्यक्रमका बीच जनता दल केन्द्रीय कमिटीका सचिव तेजनारायण चौधरी, नवनिर्मित नेपाली चलचित्र ‘फिरौती’का निर्देशक रमेश मिजार, अन्य कलाकारका साथै अखिल क्रान्तिकारीका नेता अनिल यादव लागायतकाले आजपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सबैलाई पार्टीमा सम्मानजनक जिम्मेवारी दिइने बताए