मौरीपालन व्यवासायबाट मनग्ये आम्दानी गर्दै दिनेश

खोटाङ । सँगै छन् एक तले दुई वटा घर । एउटै आँगनमा आमने सामने दुबै घरको चारैतिर मौरीका परम्परागत घारहरु राखिएका छन् । आँगनमा पुग्दा काठको घार र घरको भित्तामा बनाइएको स–साना प्वालबाट मौरीको हुल गुनगुनाउँदै भित्रबाहिर गरिरहेको देखिन्छ । जोसुकैलाई लोभ्याउने यो पौरख हो खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा लालीका युवा दिनेश तामाङको । ३२ वर्षीय तामाङले घरको पर्खालमा खोपा घार र काठको परम्परागत घार (डुँड) बनाएर मौरी पालन गरिरहेका छन् ।

२०६९ सालदेखि एपीसेरेना जातको मौरी पालन सुरु गरेका तामाङले एक सिजनमा कम्तीमा १२० बोत्तल मह बिक्री गर्छन् । ड्युको पाँच सय एमएलको बोत्तलमा भरिएको मह प्रतिबोत्तल एक हजार पाँच सयमा बिक्री गर्ने गरिएको तामाङ बताउँछन् । हाल तामाङको घरमा ३० वटा खोपा घार र १७ वटा काठको डुँड छन् । त्यसमध्ये अहिले ४० घारमा मौरी छन् । प्रायः वर्षको जेठमा एकपल्ट र कात्तिक–मंसिरमा एकपल्ट मौरीको मह निकाल्ने गरिएको छ ।

गत कात्तिकदेखि हालसम्म १३५ बोत्तल मह बिक्री भइसकेको तामाङले बताए । महका लागि बजार खोज्दै हिँड्न पर्दैन उनलाई । फोनबाट सम्पर्क गर्दै ग्राहक घरैमा आइपुग्छन् । कहिलेकहीँ मह खोज्दै आउनेको भीड नै लाग्छ आँगनमा । महबाट आउने आम्दानीले नै उनको ६ जना (श्रीमती, तीन छोरी र एक छोरा)को परिवार चलिरहेको छ । मह काढ्ने सिजन भएपछि उनी तस्बीर र भिडियो सहित सम्पर्क नम्बर फेसबुकमा राख्छन् । ग्राहक त्यही नम्बरमार्फत मह किन्न पुग्छन् । मध्यपहाडी राजमार्गको मुढेबाट करिब पाँच मिनेटमाथि रहेको तामाङको घर पुग्ने कच्ची सडक बनिसकेको छ ।

मौरी पालनका लागि तामाङले पुरानो घरको पर्खालमा १० खोपा घार र नयाँ घरमा २० वटा खोपा घार बनाएका छन् । घर बनाउने क्रममै काठको खोपा बनाएर पर्खालमा लहरै मिलाएर राख्नुपर्ने हुन्छ । डुँड घारलाई भने पानीले नभेट्नेगरी घरको छानामुनि राखेका छन् । कतिपय डुँडलाई बाहिर बारीको कुनामा छाना हालेर राखिएको छ । तामाङले शौचालयको पर्खाललाई समेत खोपा घारको रुपमा उपयोग गरेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित गैरीगाउँ पुगेका बेला तामाङले घरको भित्ता र काठको डुँडमा मौरी पालन गरेको देखेका थिए । पछि आफ्नो घर बनाउने क्रममा उनले पनि सोही अनुसार घरको भित्तामा खोपा घार र काठको डुँड बनाएर मौरी पालन सुरु गरेका हुन् । मौरी पालनकै सीप सिक्नका लागि उनी गोदावरीसम्म पुगेका छन् । “मावली घरमा देखेर त्यस्तै खालको घारहरु बनाएँ । नभन्दै मौरी आफै घार खोज्दै आएर बस्यो,” तामाङले भने, “मौरी बढ्दै गयो । अरु काम गर्न उत्साह जगायो । धोद्रो भएको रुख काटेर घारहरु थप गर्दै गएँ । अहिले यसैबाट गुजारा चलिरहेको छ ।”

घरभन्दा केही माथि रुपाकोटमा घना जंगल छ । जंगलमा चिमाल, चिराइतो, गुराँस, पात्ले, चुथ्रो, मान्द्रे लगायतका फूल फुल्छन् । त्यही कारण पनि उनलाई मौरी पालनले फापेको हो । हिजोआज मौरी पालनका लागि जताततै आधुनिक घार प्रयोगमा आइसकेको छ तर तामाङले हालसम्म आधुनिक घार प्रयोग गरेका छैनन् । लेकमा आधुनिक घार चिसो हुने र मह कम निकाल्ने भएकाले आधुनिक घार प्रयोग नगरेको तामाङले बताए ।

अहिले सरकारी अनुदान लिनका लागि ‘किसान’ बन्नेहरुको कमी छैन । तामाङले भने हालसम्म कहीँकतैबाट अनुदान लिएका छैनन् । आफ्नै बलबुतामा मौरीसँग रमिरहेका छन् । दुई वर्ष अघि बालसेवा समाज नामक संस्थाले २० हजार अनुदान दिएको थियो । त्यसमा थपथाप गरेर खोपा घार सहितको घर बनाएको तामाङ बताउँछन् । “अहिले सच्चा किसानले अनुदान पाउन सकिरहेका छैनन् । नक्कली किसानले अनुदान पाउँछ,,” तामाङ भन्छन्, “अनुदानका लागि एक पटक घरेलु पुगेको थिएँ । समुह बनाएर आउनु भन्यो, त्यसपछि गइन । अनुदानको सही सदुपयोग भइरहेको छैन ।”

मौरी पालनलाई थप विस्तार गर्ने योजना छ तामाङको । ३० वटा खोपा घार हुने गुवाली बनाउने उनको योजना छ । उनका बुवा मानबहादुर तामाङ पुर्व भारतीय सेना हुन् । तर उनले बुवाको पदचापलाई पछ्याएनन् बरु कृषि पेशातिर लम्किए । चार वर्षअघि मुढेमा हिमपात हुँदा तामाङको ३६ घार मौरी सखाप भएको थियो । मौरी नै नरहेपछि कतिपय घारहरु चिरेर दाउरा पोले । तर घारहरु सफा गरेपछि पुःन क्रमशः आफै मौरी आएको तामाङले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कसम खाएर उम्मेदवारी घोषणा