काठमाडौं । अभिनेत्री पुजा शर्मा एक्सन अबतारमा प्रस्तुत भएकी छिन् । यस अघि ‘लभर गर्ल’को रुपमा प्रस्तुत हुँदै आएकी उनी पहिलो पटक चलचित्र ‘दान्भी’मा प्रस्तुत भएकी हुन् ।
चलचित्र दान्भीको टिजर बिहिबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरियो । टिजरमा अभिनेत्री पुजा सुरु देखि अन्त्यसम्म पनि एक्सन भूमिकामा छिन् । दर्जन भन्दा बढी खलचरित्रलाई उनले ढालेको टिजरमा देखाईएको छ ।
‘विगतमा भन्दा यो फिल्ममा नायिका बन्न मैले करिब ६ महिना त फिल्मको फाईटमात्र सिकेँ । त्यसपछि पनि निकै अभ्यास गरेर एक्सन अबतारमा उत्रन सफल भएको हुँ ।’ अभिनेत्री पुजाले टिजर सार्वजनिक कार्यक्रममा भनिन् । जसमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ ।
यो चलचित्रलाई २०८१ मा रिलिज गरिने निर्माण पक्षले जनाएको छ । यो चलचित्रमा पूजाको जोडी नव–अभिनेता कुन्साङ बम्जनलाई प्रस्तुत गरिएको छ । यो चलचित्रलाई रुपेश तामाङले निर्देशन गरेका हुन् ।
संजोग कुँवर रानाको पटकथा तथा संवाद लेखन, बन्दे प्रसादको सम्पादन, सत्यम राना र श्रीकृष्ण श्रेष्ठको भीएफक्स, अर्जुन पोखरेल, नरेश योगी र केदारराज नेपालीको संगीत यो चलचित्रमा रहेको छ । देव मगर र अनुप गडाल निर्माता, पवन राना मगर कार्यकारी निर्माता तथा कमला लिम्बु, पञ्च बहादुर तामाङ र श्रवणकुमार श्रेष्ठ सह–निर्माता रहेको फिल्ममा हरि लामा ‘घले’को छायांकन छ ।