खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा अस्पतालको जग (बेस) निर्माणका क्रममा बलौटे माटो र माटो मिसाइएको गिटी प्रयोग गरेको पाइएको छ । हरेक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको नीतिअनुसार निर्माण सुरु गरिएको १५ शय्याको अस्पतालको जग ढलानका क्रममा कमसल बालुवा र गिटी प्रयोग गरेको खुलेको हो ।
बलौटे र माटो मिसिएको गिटी प्रयोग
अस्पतालको जगमा पीसीसी ढलानका क्रममा ठेकेदार कम्पनी सिद्धगढी निर्माण कम्पनीले बारीको खानीको बालुवा मिसाएर प्रयोग गरेको जन्तेढुंगा गाउँपालिकाका असिस्टेन्ट सबइन्जिनियर सुरेशकुमार मेहताले बताए । गाउँपालिकाकातर्फबाट ल्याब टेस्ट नगरी प्रयोग नगर्न भने पनि ठेकेदारले मौका छोपेर बारीको बालुवा मिसाएर प्रयोग गरेका हुन् । गुणस्तरमा शंका लागेपछि बारीबाट उठाइएको बालुवा र सावा खोलाको बालुवा ल्याब टेस्टमा पठाइएको थियो । ल्याब टेस्टमा बारीको खानीको बालुवा फेल भएको रिपोर्ट आएको छ ।
‘सुरुमा स्याम्पल देखाउनुभयो, ल्याब टेस्टमा पास भए मात्र ल्याउनु भनेको तर ल्याएर झारेछ, हतारहतार गएर बालुवा झार्न रोक लगायौं,’ मेहताले भने, ‘त्यसबीचमा अस्पताल भवनको डिजाइनकै कारण काठमाडौं जानुप¥यो, त्यहीबेला बालुवा मिक्स गरेर चलाइदिएछ, यहीँबाट समस्या आएको हो ।’
ठेकेदारले अस्पताल निर्माणस्थलमै बलौटे माटो र माटो मिश्रित गिटी थुपारेर राखेका छन् । अस्पतालको जग निर्माणका क्रममा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको भन्दै केही स्थानीयले विरोध गरिरहेका छन् । ठेकेदारले चिसापानीको खुटाबाट बालुवाजस्तै देखिने सेतो माटो लगेर प्रयोग गरेको र माटो मिसिएको गिटी प्रयोग गरिरहेको स्थानीय सुमन राईले दाबी गरे ।
‘उपभोक्ताको गुनासो आएपछि ११ पुसमा निर्माणस्थल पुग्दा बालुवाजस्तै देखिने सेतो माटो र गिटीमा अधिक माटो मिसाएको पाइयो, गाउँपालिकाका प्राविधिकले कमसल सामग्री प्रयोग भएको स्वीकार गरेपछि निर्माण भइरहेको पीसीसी ढलान भत्काउने र नयाँ जग उठाउने मौखिक सहमति भएको थियो,’ राईले भने, ‘तर, त्रुटी सच्याउनुको सट्टा त्यसैमाथि निरन्तर काम भइरहेको पाइयो, कमसल सामान प्रयोग गरेर बनाइएको जग भत्काएर गुणस्तरीय सामान प्रयोग गरेर पुनर्निर्माण गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’
ठेकेदार कम्पनी ड्रागन–रियर जेभीले गत २८ असार २०७९ भित्र निर्माण गरिसक्नेगरी २५ असार २०७८ मा अस्पताल भवन निर्माण गर्ने ठेक्का सम्झौता गरेको थियो । तर, सो जेभीले अस्पतालको काम सिद्धगढी निर्माण कम्पनीलाई सुम्पिएको हो । ड्रागन–रियरले कुल २० करोड ७१ हजार ५ सय ९० रुपैयाँमा निर्माण सक्नेगरी भवन निर्माणको ठेक्का लिएको थियो ।
म्याद नाघेको १८ महिनापछि बल्ल जग उठाउन सुरु
सुरुको सम्झौता म्याद नाघेको १८ महिना पुगेपछि ठेकेदारले बल्ल अस्पतालको जग उठाउन सुरु गरेका छन् । भवनको एकपटक थप भएको म्याद गत असारमै सकिएपछि पुनः अर्को म्याद थपको प्रक्रिया अघि बढाइएको छ । अस्पताल भवन १५ मंसिर २०७७ मा तत्कालीन प्रदेश सांसद रामकुमार राई पासाङ (हाल प्रतिनिधिसभा सदस्य)ले शिलान्यास गरेका थिए ।
सिद्धगढी निर्माण कम्पनीका इन्जिनियर दीपेन्द्र गामीले अस्पतालको जग निर्माणका क्रममा बारीको खानीको बालुवा प्रयोग नगरेको दाबी गरे । ‘ल्याब फेल भएपछि त्यो बालुवालाई चलाएको छैन, जगको सर्फेस मिलाउन मात्र प्रयोग गरेको हो, अलि–अलि मिक्स भयो, पुरै प्रयोग भएको छैन,’ इन्जिनियर गमीले भने, ‘गिटीचाहिँ थुपारेको दुई–तीन वर्ष भयो, लामो समय राखेपछि गिटीको डस्ट पनि माटोजस्तो देखिएको हो ।’
प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीसँग नजिक रहनेगरी नजिकै अस्पताल भवनका लागि निःशुल्क र सशुल्क ५ रोपनी जग्गा जुटाइएको छ । अस्पतालको घडेरीका लागि बनाइएको पर्खालको गुणस्तरको विषयमा समेत स्थानीयले आवाज उठाएका छन् ।
जन्तेढुंगा गाउँपालिकाकी अध्यक्ष अरुणादेवी राईले निर्माणस्थलमा थुपारिएको बालुवा देख्दा ‘प्रयोग गरिएन’ भन्न नसकिने बताइन् । ‘माटै उठाएर ल्यायो भन्ने गुनासो छ, ल्याएर थुपार्नु नै गल्ती भयो, तुरुन्त हटाउन लगाएका छौं,’
अध्यक्ष राईले भनिन्, ‘प्रयोग पनि गरे होलान्, तर इन्जिनियरले प्रयोग नगर्नुस् भनेको थियो ।’
गाउँपालिका उपाध्यक्ष खेम खड्काले जगको सोलिङमाथि बलौटे माटो राखेको बताए । ‘सोलिङमाथि दुई–तीन ट्याक्टर लगाए होला, त्यसपछि इन्जिनियरहरू गएर रोकेका थिए,’ खड्काले भने, ‘गिटी त धोएर हालिरहेका छन् ।’






