मंगल ग्रह पृथ्वीपछि सूर्यको नजिक रहेको ग्रह हो । हेर्दा रातोरातो रङमा देखापर्ने यस ग्रहलाई ‘रातो ग्रह’ पनि भनिन्छ । यो आकारमा पनि पृथ्वीजस्तै देखिन्छ । खोज अनुसन्धानकर्ता यस ग्रहको कतै भागमा जीव वा वनस्पति पो फेला पर्छ कि भन्ने आशामा देखिन्छन् ।
सौर्य परिवारका नौवटा ग्रहमा पृथ्वीमा मात्र जीवन र वनस्पतिको अस्तित्व छ । अन्य ग्रहमा जीव र वनस्पति भएको संकेतसम्म पनि पाइएको छैन । खोजी भने जारी छ । त्यो पनि मंगल ग्रहको कुनाकुनासम्म । अझै पनि वैज्ञानिकको आशा मरेको देखिँदैन ।
पृथ्वीबाट दूरीका हिसाबले नजिक पनि र आकार, प्रकार तथा सूर्यको दूरीका हिसाबले पनि जीवमैत्री वातावरण त्यहाँ पाउन सकिन्छ कि भन्ने आशा पनि मरेको छैन । त्यसैले, अन्वेषण एकपछि अर्को गरी लगातार जारी छ । यो जीव तथा वनस्पति ‘खोजीको ग्रह’ बनिरहेको छ ।
हालसम्मको खोजमा मंगल ग्रहमा कुनै समयमा पानी भएको तथ्य फेला परेपछि यसको अन्वेषणले पृथ्वीको आयु, बचाउ र प्राणी तथा वनस्पतिमैत्री वातावरण निर्माणको सही सन्देश दिने पनि अपेक्षा रहेको छ । हालसम्म अमेरिका, चीनजस्ता अति विकसित मुलुकका खोजमा पठाइएका यन्त्रहरू जहाँजहाँ अवतरण गरेका छन्, ती स्थानमा मात्र अध्ययन भएको छ ।
अध्ययनको यस सीमितताले मानिसको खोजीमा रहेको तलतलपनालाई मेटाउन सकिरहेको छैन । अनुसन्धानमा सुकेका समुद्रका पिँध, ताल तलैया तथा पोखरीका पिँधहरू भेटिँदा पृथ्वीवासीको खोजमा झनै प्रेरणा र उत्सुकता थपिन पुगिरहेको छ । तर, आशंका पुष्टि हुन भने सकिरहेको छैन ।
मंगल ग्रहमा पहिले निकै बाक्लो रहेको हावाको तह सो ग्रहमा विपद् आइपुग्दा व्यापक परिवर्तन हुन गई नष्ट हुन गएको अनुमान रहेको छ, वैज्ञानिकहरूको । प्राकृतिक असन्तुलनका कारणले जीव तथा वनस्पतिमैत्री वातावरण नष्ट भएको हुनसक्ने सम्भावनालाई यसमा औंल्याइएको छ । हाल पृथ्वीमा देखापरिरहेको जलवायु परिवर्तन (ग्लोबल वार्मिङ)को विपत्ति त्यसतर्फ अग्रसर देखिन्छ ।
तर, अहिलेसम्म कुनै पनि जीव वा वनस्पतिको अवशेषसम्म पनि नपाइनु आफैंमा आश्चर्यको विषय बनिरहेको छ । बनावट हेर्दा पृथ्वीको जस्तो सतह देखिनुले मानिसको मन यतिमा अघाएको छैन । त्यसमा पनि पहाड, खोंच, तराई, ज्वालामुखी, क्रेटर, नदी बगेको, समुद्र बनेको र ताल रहेको अवशेष त देखापरिरहेको छ । उच्चसमस्थली र गल्छीहरू पनि देखापरिरहेका छन् ।
पृथ्वीका जस्तै मंगल ग्रहका चन्द्रमा पनि छन् । मंगलका दुईवटा चन्द्रमा छन् । वैज्ञानिक खोजअनुसार त्यहाँको तापक्रम माइनस ४५ डिग्री सेन्टिग्रेड रहने गरेको छ । त्यहाँ रहेको हावामा अक्सिजनको मात्रा भेटिएको छैन । मंगल ग्रहमा मिथेन ग्यास बढी मात्रामा रहेको अनुसन्धानबाट खुलेको छ ।
तर पनि माटो र पत्थरयुक्त सतह भएको मंगल ग्रह कुनै जमानामा पृथ्वीमा महासंकट आइपर्दा वैकल्पिक मानव बस्तीका लागि उपयुक्त हुन्छ कि भन्ने आशाले खोजकर्ता तथा अनुसन्धानकर्ताको मनबाट डेरा सर्न मानिरहेको छैन ।






