माघी नेपालका आदिवासीसहित सबैले मनाउने एक प्रसिद्ध पर्व हो । यो माघ महिनाको पहिलो दिन मनाइन्छ । नेपालका आदिवासी थारू समुदायको नजिक मानिन्छ, माघी । तथापि, मगरलगायत अरू सबै जातजातिले पनि यो पर्व निकै हर्षोल्लासका साथ मनाउँछन् ।
यस पर्वमा प्रकृतिप्रदत्त खानेकुराका साथ घरघरमा मनाइन्छ । नेपाली जनजीवन प्रकृतिसँग नजिक छ । त्यसैले, प्रकृतिसँग अति नजिक सम्बन्ध रहेको माघी नेपालीको मौलिक पर्व हुनगएको हो । पर्व सबै नेपालीको साझा भए पनि नेपालीमाझमा विभिन्न समुदायका मानिसको भाषा, रहनसहन, जीवनशैलीमा रहेको विविधताका कारण एउटै पर्व पनि विशिष्ट र भिन्न आकर्षण बनेर देखापर्छ ।
वर्षभरी खेतीपातीमा व्यस्त रहने नेपालीका लागि यो पर्व विश्राम, भेटघाट र खुसी साटासाटको अवसर बन्ने गरेको छ । थारू समुदायका लागि त यो सबैभन्दा ठूलो पर्व हो । थारू समुदाय संस्कृतिमा धनी छन् भन्ने कुरा माघीमा अभिव्यक्त क्रियाकलापले स्पष्ट पार्छन् । यो पर्व थारू समुदायको नयाँ वर्ष पनि हो । थारू समुदायले माघीपर्व माघ महिनाभर मनाउँछन् । थारू समुदायले यसलाई परापूर्वकालदेखि नै पर्वका रूपमा धुमधामसँग मनाउँदै आइरहेका छन् ।
ज्योतिष शास्त्रमा सौरमासको हिसाबले माघेसंक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकरसंक्रान्ति भनेर पात्रोमा लेखिएको हुन्छ । माघी पुसको अन्तिम दिनदेखि सुरु हुन्छ । सबै जातिमा पुसको अन्तिममा पकाएको खाना माघमा खाने भन्ने चलन छ । त्यसैले, नबिग्रने र नकुहिने खाना तयार गरिन्छ । रोटीका परिकार, तरुल, घिउ, मह, चिनी आदिबाट बन्ने परिकार बढी नै प्रयोग गरिन्छ ।
थारू समुदायमा पुसको अन्तिम दिनमा गाउँभरीका मानिसहरू मिलेर ‘जिता मर्ना’ मनाउँदै सुँगुर काट्ने चलन छ । सुँगुरको मासु, ढिक्री, रोटी, माछाजस्ता विभिन्न परिकार खाँदै रातभर मघौटा नाच नाच्दै ढुमरू गाउने चलन छ । १ माघ बिहानै भाले बासेको प्रहरमा गाउँका मानिस नदीमा गएर सामूहिक स्नान गर्छन् । फर्केर आई आफ्ना दिदीबहिनीलाई ‘निसराउ’ उपहार दिने गर्छन् ।
त्यसपछि आशीर्वाद दिने र लिनेगरी वर्षभरीका सुख–दुःखका कुराहरू साटासाट गर्छन् । घरपरिवारभित्र पनि कामको बाँडफाँट गर्छन् । सोही दिन सबै जम्मा भएर महटवाँ (बडघर) चुन्ने र चौकीदार चुन्ने कार्य सम्पन्न गरिन्छ ।
यस पर्वमा थारू समुदायमा छोरी चेलीलाई उपहार दिने, नयाँ आर्थिक वर्षको कार्ययोजना बनाउने, सामुदायिक सम्बन्ध प्रगाढ बनाउने, अगुवा चुन्ने र घरसल्लाह गर्ने जस्ता महत्वपूर्ण काम गरिन्छ ।
यसरी माघीको धार्मिक, सांस्कृतिक, आर्थिक, राजनीतिकलगायतका धेरै कुराको महत्व रहेको छ, थारू समुदायमा ।
(विभिन्न पत्रपत्रिकाको सहयोगमा)