विश्वको एक मात्र हिन्दू राष्ट्र नेपाल हो । यहाँ मौसमअनुकूल विभिन्नखालका चाडपर्वहरू पर्ने गर्छन् । मूलतः वर्षभरीमा १२ वटा संक्रान्ति पर्छन् । जसमा साउने संक्रान्ति र माघेसंक्रान्तिलाई विशेष रूपमा यहाँका विभिन्न जनजाति, भाषाभाषीले मनाउँदै आएका छन् । तसर्थ, संक्रान्ति सग्राँति दुवै शब्द नेपाली वाङ्मयका लय बनेका छन् । फलतः संस्कृतबाट चोखै सम्हाल्दा संक्रान्ति शब्द नेपालीकरण हुनपुग्दा सग्राँति बन्नपुगेको छ । जुन संक्रान्ति शब्दले परिवर्तनको पहलुवा भाव र कर्मबोध गराउँछ । यसर्थ, मकरसंक्रान्ति परिवर्तनकारी समय योग रहेको छ । अतः समय एक राशिबाट अर्को राशिमा प्रवेश गर्ने योग हो । यसमा पनि दक्षिणायणमा रहेका सूर्य, यसै दिनदेखि उत्तरायणमा सर्दै आउँछ । जसमा १२ महिनामा हुने १२ राशिअनुसार यो माघ महिनामा मकर राशि पर्ने भएकाले माघेसंक्रान्तिलाई मकरसंक्रान्ति पनि भनिन्छ ।
यस दिनदेखि रात छोटा र दिन लामा हुँदै जान्छ भनिन्छ । यो प्राकृतिक नियम नै हो । यस दिनदेखि सूर्य मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले मकरसंक्रान्ति भनिने गरिन्छ । तथापि, देवताहरूका लागि उत्तरायणी दिन र दक्षिणायणी रात हुने भएकाले सूर्य उत्तरायणी हुने समयमा मानिसहरूले आफ्नो मरण यसै समयमा हुने इच्छा गर्छन् । यसमा पनि स्वेच्छामरणको वरदान पाएका गंगापुत्र भीष्म महाभारतको युद्धमा घाइते भई मुत्युको शय्यामा रहँदा मरणका लागि सूर्य उत्तरायणीलाई पर्खेको महाभारतमा वर्णन छ ।
माघेसंक्रान्तिको बिहान गंगासागरमा एकपटक डुबुल्की लगाए मात्र पनि सारा पाप पखालिने विश्वास गरिन्छ
धनु राशिपछिको मकर राशि भविष्य पुराणको विष्णु वचनमा माघेसंक्रान्तिका दिन स्नान गरेर घिउ, चाकु, तिलको लड्डु, तरुल, अन्न, सागपात, पानीको भाँडो र मकलसहितको सिदा दान गरेर आफूले पनि खाने गरेमा वर्षभरी शरीर पोसिलो भइरहन्छ भन्ने उल्लेख छ । यस पर्वमा घिउ, चाकु खाने भएकाले नेपालभाषामा ‘ध्यू चाकु संल्हुु’ भन्ने गरेका हुन् । यसमा भन्ने नै हो भने उपत्यकाको नेवार समुदायमा भने ती खाद्य पदार्थका साथै समयबजी (चिउरा), पोलेको मासु, साँधेको कालो भटमास, अदुवा, रक्सी वा जाँड र माछाको सिद्रा खाने गरिन्छ । त्यसैगरी, गाउँघरमा भने घिउ, चाकु, अघिल्लो दिनमा उसिनेको तरुल, मासको फुलौराका साथै मास र चामलबराबर मिसाई घिउ हालेर पकाएको खिचडी खाने चलन छ । साथै, एकप्रकारको पाटने पालुङ खाने चलन छ । यस पर्वमा तिलको अत्यधिक प्रयोग गरिने र दानसमेत गर्ने भएकाले यस पर्वलाई हाम्रो संल्हु (तिल संक्रान्ति) पनि भनिन्छ ।
अतः कन्दमूलको सेवन मकरसंक्रान्तिजन्य आहारको एक परिकार तरुल पनि हो । यो एक कन्दमूल हो । झन्डै आलु, पिँडालु र सखरखण्डजस्तै जरासित विकसित हुने, बढ्ने खाद्यपदार्थ हो । सम्भवतः पुर्खाले जमिनमुनि खनेर पाइने यो जरोमुनि तरुल, मौसम परिवर्तन भनौं पृथ्वीको गतिमान अवस्थितिमा कोल्टिने अवस्थाजन्य परिवर्तन सुलभ, सुहाउँदो भोजन परिकार बनाएथे । सबै चाडपर्व यसरी नै मौसमी रहेका छन् । जसरी मकरसंक्रान्ति यति पृथ्वीकै चाल र गतिमानकै मापन मुताविक मानिने संस्कार हो भने यो एक जाति, एक वर्ग र एकैराष्ट्रको मात्र सम्पदा रहनसक्दैन । यसरी यो मकरसंक्रान्ति पृथ्वीको आधा गोलाइ पनि हो । यसरी मकर एक प्रकारका जलथलचर पनि हो । अतः मकर गोही पनि हो । जो पानी र जमिन दुवैमा विहार गर्छ । यसरी हुनसक्छ, शीतोष्ण तापक्रम उछिनेर न्यानो तापक्रमतिर उन्मुख हुने हेतु समेटेर गोहीको नाम मकर राखिन पुगेथे । यो हाम्रा पुर्खाहरूले बताउँदै आएका पनि छन् ।
हाम्रो तराई भेकमा थारू समुदायले यस पर्वलाई नयाँ वर्ष प्रारम्भ भएको दिनका रूपमा मनाउने गर्छन् । यस दिनलाई उनीहरू कमैयाबाट मुक्त हुने स्वतन्त्र दिवसका रूपमा पनि मनाउने गर्छन् । आदिवासी थारू समुदायले माघेसंक्रान्तिलाई नयाँ वर्ष (माघीका) नाममा मनाउँछन् भने मगरातका मगर समुदायले यस दिनमा आफ्ना पुर्खाको स्मरण गर्दै दाजुभाइ, दिदीबहिनीबीच भेटघाट, शुभकामना आदान–प्रदान, मिठोमसिनो खानपानका साथ रमाइलो गर्ने पर्वका रूपमा विशेषगरी भित्री तराईमा बसोबास गर्दै आएका थारू समुदाय सञ्चालन गर्ने आफ्नै जातीय नियम रहेको छ । सो गण प्रथानुसार बडघर (गाउँका मूली), चिरकिया (गाउँका पुजारी), चौकीदार (गाउँका हुलाकी), गुरुवा (गाउँका संरक्षक) र गरधुरिया एक वर्षका लागि यसै दिनदेखि चुन्न थालिन्छ ।
यसका साथसाथै समुदायको प्रमुख चुन्ने परम्परालाई माघी दिवानी भनिन्छ भने नयाँ वर्ष माघीकै अवसरमा कमैया फुकाउने, हिसाबकिताब लेनदेन फछ्र्योट गरिने चलन रहेको छ । जसरी ४ वर्षअगाडि नेपाल सरकारले माघी नयाँ वर्षमा सरकारले एकदिने राष्ट्रिय बिदा घोषणा गरेको थियो भने यस समुदायले माघीको अवसरमा यस वर्ष १ माघलाई सार्वजनिक बिदा पनि दिइसकेको छ । त्यसैगरी, तराईमा बसोबास गर्ने अन्य समुदायमा तिलको लड्डुलगायतका परिकार खाँदै माघेसंक्रान्तिका दिनलाई तिल वा संक्रान्ति भन्दै मनाइन्छ । यसका साथसाथै तामाङ, शेर्पा र गुरुङ समुदायमा नदी तलाउ वा डाँडामा अवस्थित देवीस्थलमा मेला भर्दै यो पर्व मनाइन्छ ।
भविष्य पुराणको विष्णु वचनमा माघेसंक्रान्तिका दिन स्नान गरेर घिउ, चाकु, तिलको लड्डु, तरुल, अन्न, सागपात, पानीको भाँडो र मकलसहितको सिदा दान गरेर आफूले पनि खाने गरेमा वर्षभरी शरीर पोसिलो भइरहन्छ भन्ने उल्लेख छ
समग्रमा भन्नुपर्दा मूलतः मुलुक संघीय राजधानीलगायत मुलुकका विभिन्न स्थानमा सबेरै उठेर नजिक तीर्थहरूमा स्नान गर्ने गर्छन् भने काठमाडौं उपत्यकामा भने श्रद्धालु भक्तजनहरू नजिकको टेकु दोभान, पशुपति आर्यघाट, शंखमूल आदि पवित्र नदीमा गई स्नान गरी देवीदेवताको पूजा अर्चना गरी घिउ, चाकु, तरुल, सक्खरमा बनाइएको तिलको लड्डु खाने परम्परा रहेको छ । हाम्रो शरीरलाई निरोगी, फुर्तिलो बनाउनका लागि विभिन्न पौष्टिक खाद्य पदार्थहरूको आवश्यक पर्छ ।
यसमा खासगरीकन जाडोको समय भएकाले शरीरलाई चाहिने आवश्यक न्यानोपन र तागतको आपूर्ति गरेर शरीरलाई स्वस्थ बनाई राख्न मनाउँदै आएको यो माघेसंक्रान्तिका दिन शरीरलाई अत्यन्तै फाइदा हुने मासुजन्यलगायत घिउ, चाकु, तरुल, तिलको लड्डु, पालुंगोको साग, माछासहितको समयबजी खाएर चाड मान्ने पुर्खाहरूले बनाइराखेको यो चलन वैज्ञानिक रूपमा पनि उचित देखिन्छ । जाडोको समयमा शरीरलाई नभइनहुने न्यानोपन, तागत र शरीर बलिष्ठ बनाउन विभिन्न परिकार बनाएर खाने चलन हाम्रा पुर्खाहरूले चलाउँदै आएको यो चाड नेवार संस्कारसँगै सम्बन्धित भएकाले पनि यसको ठूलो महत्व रहेको हो । यसै दिनमा तपस्वी भगिरथले गंगामातालाई पृथ्वीमा अवतरण गराई सागर एवं समुन्द्रमा मिलाएको भन्ने कथनबाट पनि मकर स्नानलाई महास्नान पनि भन्ने गरिन्छ ।
ब्रह्ममुहूर्तकालमा गंगासागरमा एकपटक डुबुल्की मात्र लगाउनाले पनि सारा पाप पखालिनुका साथै प्राणी मात्रको जीवनको प्रतीक एवं चन्द्रमासमेतलाई आफ्नो प्रकाशले आलोकित गर्ने सूर्यको उपासना, पूजा, प्रार्थनालगायत घिउ, चाकु, तिल, तरुल, माससहित सीदा दान दिई धर्म आदि राम्रा कर्म र कर्तव्य गर्नेको फल पनि अति शुभ हुने भई जीवनमा सुख र समृद्धिको विकास हुने कथन रहेकाले पनि यस दिनभर मुलुकका विभिन्न तीर्थस्थलमा स्नान गर्ने र विष्णु एवं शिव मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको अत्यधिक भीड लाग्ने गर्छन् ।
सो पदार्थ आफूले पनि खाएमा शरीर पोसिलो हुनुका साथसाथै निरोगी होइने उल्लेख छ । शरीरलाई तातो बनाउने घिउ, चाकु, तिलका परिकार खाँदै मनाइने माघेसंक्रान्ति नेपालका प्रायः सबै जातीय समुदायले साझा पर्वका रूपमा मनाउँदै आएका छन् । साथै, यिनीहरूले यी वस्तु ब्राह्मणहरूलाई दान दक्षिण गर्ने चलन रहेको छ । यस पर्वमा जिउभरी तेल घसेर दिनभरी घाम तापेर बस्ने पनि चलन रहेको छ ।






