बिरालो प्रजातिले आफ्नो दिसा लुकाउने र पिसाब माटोले पुर्ने गर्छन् । बिरालो प्रजातिका प्राणी सिंह, बाघ, बिरालो आदि सबैले आफ्नो दिसा र पिसाब लुकाउने गर्छन् । यसो गरेपछि उनीहरू ढुक्क भएका देखिन्छन् । माटो वा बालुवा वा धुलोले पुरिसकेपछि पनि उनीहरू अलि पर गएर आफ्नो बिस्टा सुँघ्न अरू कुनै जनावर पो आएको छ कि भनी फर्केर वा चियाएर हेर्ने गर्छन् ।
यस प्रजातिमा आफूले काटेको दूरी, समयसमयमा फर्केर हेर्ने बानी पनि हुन्छ । यसैले, फर्केर कुनै पनि कुराको अवलोकन वा समीक्षा गरिनुलाई सिंहावलोकन पनि भनिन्छ । यस्तो अवलोकन यस प्रजातिमा निकै चतुर र आक्रामक हुन्छ । दिसापिसाब लुकाएपछि यदि आफूले जित्न सकने र जित्नैपर्ने जनावर त्यहाँ आइपुगेको छ भने त्यसको तत्काल सिकार गरिहाल्छन् ।
यदि जब्बर र आफूभन्दा शक्तिशाली जनावर आएर उनीहरूको दिसा पिसाबको पत्तो पाएको छ भने उनीहरू सुरक्षित दूरीको यात्रा गरी आफ्नो बासस्थान बदल्ने गर्छन् । यस अर्थमा बिरालो प्रजातिले आफ्नो दिसापिसाब लुकाउनुमा उनीहरूको सुरक्षा पहिलो स्थानमा पर्छ ।
सिंह र बाघजस्ता डरलाग्दा र सबैभन्दा शक्तिशाली जनावरले पनि आफ्नो दिसा र पिसाब लुकाउन भुल्दैनन्
बिरालो प्रजातिमा आफ्नो प्रजाति पनि शत्रु हुन्छ । सम्बन्धित स्थानमा आफ्नो दीर्घ राजका लागि अपनाइने सतर्कतामध्ये दिसापिसाब लुकाउने काम पनि एक अनिवार्य काममा पर्छ । भनिन्छ, यस प्रजातिले यदि दिसा पिसाब वा रौं पनि सुँघ्न पायो भने अर्को प्रजातिको नश्ल, वंश, उमेर र शक्तिसमेत थाह पाउँछन् । तीव्र घ्राणशक्तिका कारण यी प्रजातिले सुँघेर गर्ने अनुसन्धान दुस्मनविरुद्धको लडाइँ वा आफ्नो बचाउका लागि भरपर्दो आधार बनिरहेको हुन्छ ।
भिन्न र हिंस्रक जनावर बिराला प्रजातिका लागि दुस्मन हुन् । कुकुर र बिरालो परम्परागत शत्रु नैै हुन् । तर, घरमा पालेका बिराला र कुकुर मिलेर बसेको पनि देखिन्छ । सायद यो लामो समयसम्मको अभ्यास र सहबसाइका कारण हुनसक्छ । मानिस वा मालिकका डरले पनि कुकुर बिराला नलडेका हुनसक्छन् ।
तर जंगलमा भने कुकुर र कुकुरजस्ता हिंस्रक जनावरले आफूमाथि आक्रमण नगरोस् भन्ने उद्देश्यले बिराला प्रजातिले आफ्नो उपस्थिति लुकाइराख्न चाहन्छन् । सिंह र बाघ आफैंमा डरलाग्दा र सबैभन्दा शक्तिशाली जनावर हुन् । तर पनि यिनले आफ्नो दिसा र पिसाब लुकाउन छाड्दैनन् ।
मानिसले यसको व्याख्या विभिन्न गर्न सक्ला पनि । तर आहारा, सिकार, बचाउ, आक्रमण तथा समग्र जीवनको रणनीतिअन्तर्गत पर्छन्, यिनका यस प्रकारका कार्यहरू ! कुकुर प्रजातिले आफ्नो उपस्थितिको जानकारी नपाओस् भन्ने उद्देश्यले बिरालोले आफ्नो दिसा छोप्ने गर्छ ।
हरेकका आआफ्ना बासस्थान र सीमारेखा हुन्छन् । अर्काको बासस्थान वा सीमाभित्र प्रवेश गर्नासाथ लडाइँ पर्छ । अर्को तर्क पनि उत्तिकै मननीय छ । प्राकृतिक रूपमा बिरालोले आफ्नो बासस्थानको सीमा निर्धारण गर्न दिसा पुर्ने गर्छ । आफ्नै प्रजातिका अन्य सदस्यलाई आफ्नो सीमा ’boutमा जानकारी दिन दिसा र पिसाब छोप्ने वा माटोमा राख्ने गरेको भनिन्छ । यसो गरेमा माटोमा उनीहरूको गन्ध रहिरहन्छ, लामो समयसम्म ।
अर्को तर्क पनि कम विश्वसनीय छैन । भनिन्छ, अरू बिरालाहरूसँग आफ्नो क्षेत्रका लागि लड्नसक्ने क्षमता नहुँदा आफू बसिरहेको क्षेत्रमा राज गरिरहेको बिरालोले आफू त्यहाँ भएको थाहा नपाओस् भन्नका लागि आफ्नो दिसा छोप्ने गर्छ । घरपालुवा बिरालोले चाहिँ आफ्नो दिसा लुकाउनका लागि छोप्ने गरेको तर्क जीवविद्हरूको रहेको पाइन्छ ।






