मकवानपुर । गत असोजमा कोइला खरिद गर्न नसकेको कारण बन्द भएको मकवानपुरको हेटौंडा सिमेन्ट उद्योग तीन महिनाको अन्तरालपछि सञ्चालनमा आउने भएको छ । यस अघि उद्योग सञ्चालन गर्नुपर्ने माग राख्दै मजदुर सँगठन ट्रेड युनियनले उद्योगमा धर्ना दिएको थियो ।
कोइला व्यवस्थापन हुन नसक्दा बन्द रहेको उद्योगले माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने भएको हो । आर्थिक अभावले कोइला आपूर्ति हुन नसकेपछि उद्योग बन्द गरिएकामा सरकारले अनुदान उपलब्ध भएका उतपादनको लागि तयार गरिएको हो । सरकारले माघ तेस्रो साता आर्थिक सहयोग गर्ने पक्का भएको उद्योग प्रशासनले जनाएको छ ।
उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले उद्योग व्यवस्थापनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमक्ष सरकारको तर्फबाट केही अनुदान उपलब्ध गराउन अनुरोध गरेको जानकारी दिए । यथाशीघ्र उद्योगलाई आवश्यक पर्ने कोइला आपूर्ति गर्नका लागि अनुदान उपलब्ध गराउन माग गरिएको उनले बताए । “अब माघ तेस्रो सातासम्ममा कोइला खरिद प्रक्रिया सुरु गरी सिमेन्टको उत्पादन सुरु गर्ने लक्ष्यमा पुगेका छौ” पाण्डेले भने । उद्योगले सिमेन्ट उत्पादन गर्न आर्थिक संकटका कारण कठिनाइ व्यहोर्नुपरिरहेको छ । उक्त उद्योग व्यवस्थापनले अहिले पर्याप्त आर्थिक स्रोत जुटाउने प्रयास गर्दागर्दै पनि तत्काल स्रोत जुटाउन नसक्दा बोलपत्र आह्वानमार्फत कोइला खरिद गरी ल्याउने कार्यमा अहिले अवरोध उत्पन्न भएको जनाएको छ ।
सो उद्योगलाई हाल नियमित उत्पादन सुरु गर्न करिब तीन हजार मेट्रिक टन कोइला आवश्यक पर्ने र सो कोइलाले एक महिनासम्म सिमेन्ट उत्पादन गर्न पुग्ने उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए । उनका अनुसार अहिले उद्योगको भण्डारणमा करिब छ सय मेट्रिक टन मात्रै कोइला रहेको छ । उद्योगबाट उत्पादित मौज्दात सिमेन्ट दुई लाख २५ हजार बोरा तत्काल विभिन्न सहरमा बिक्री हुन नसकेकाले आर्थिक संकट आइपरेको हो ।
संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेशप्रसाद रिजालले केही दिनअघि उद्योगको आकस्मिक अनुगमन गर्नुभई के–कति कारणले आर्थिक संकट आइपरेको अवलोकन गरेका थिए । जीर्ण भएका उपकरणलाई तत्कालै मर्मतसम्भार गरी सञ्चालन गर्ने विषयमा छलफल भइरहेको उनले बताए । उद्योगका महाप्रबन्धक पाण्डेले उद्योगको साविक सिमेन्ट उत्पादन गर्ने दैनिक १६ हजार बोरा लक्ष्य रहेको भए पनि अहिले विभिन्न उपकरण जीर्ण भइसकेकाले दैनिक १० हजार बोरा मात्रै उत्पादन गर्ने गरिएको बताए ।
विसं २०३३ मा हेटौँडा सिमेन्ट उद्योग स्थापना गरिएकामा विसं २०४३ मङ्सिर २६ देखि व्यावसायिकरूपमा उत्पादन गरी देशको विभिन्न सहरमा बिक्री वितरण हुदै आएको थियो । अहिले उद्योगमा प्रशासन, लेखा र मजदुर गरी १५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । विभिन्न मेसिन तथा उपकरणलाई मर्मतसम्भार गरी नयाँ प्रकृतिबाट सञ्चालनमा ल्याएमात्रै हेटौँडा सिमेन्ट उद्योगलाई आर्थिक संटमुक्त बनाउन सकिने मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले बताए । उनले यो उद्योग नियमिन सञ्चालनमा आए देशको सिमेन्ट आपूर्तिमा ३० प्रतिशतले सहयोग पुग्ने जानकारी दिए ।
संधै घाटामा सिमेन्ट उद्योग किन ?
स्थापनाकालदेखि नै घाटामा रहेको सरकारी स्वामित्वको यो उद्योग नेता तथा कार्यकर्ताको भर्ति केन्द्र मात्रै बन्यो । सरकार फेरीएपिच्छे अध्यक्ष फेरीने र जो अध्यक्ष भएर गएपनि घाटा सुधारको लागि योजना नै नबनाउने गरेको कारण हेटौंडा सिमेन्ट उद्योग लामो समयदेखि घाटा मै बाँचिरहेको छ । निजी लगानीको उद्योग यसरी घाटामा गएको हो भने त्यसलाई बन्द गरिन्थ्यो, वा घाटा घटाउने पहल गरिन्थ्यो तर हेटौंडा सिमेन्ट उद्योगमा यो केही भएन । बरु कर्मचारी पाल्नको लागि सरकारले राज्यकोषबाट व्यायभार खेपिरह्यो । सरकारी स्वामित्व कै हेटौंडा कपडा उद्योग घाटाबाट उठ्न नसकेर बन्द भयो तर हेटौंडा सिमेन्ट उद्योग ४० वर्ष पुरानो प्रविधिसँगै बाँचिरहेको छ ।
पुराना उपकरण र प्रविधिको कारण क्षमता अनुसार उत्पादन गर्न नसकेको र लागत बढी परेको भन्दै नयाँ प्लान्ट जडान गर्ने हेटौँडा सिमन्टेको उद्योगको सवालमा बेला बेलामा नयाँ योजना बन्ने गरेका छन् तर ति योजना कहिल्यै कार्यान्वयनमा आएनन् । घाटा पुर्तिको लागि उद्योग मातहतमा रहेको सरकारी जग्गा विक्रि गर्ने र नयाँ प्रविधि जडान गरी उत्पादान बढाउने प्रस्ताव केही साता अघि चर्चामा आयो । तर यो प्रस्ताव अब ब्रेक लागेको छ । सरकारी स्वामित्वको उद्योगले नयाँ प्रविधियुक्त प्लान्ट ल्याउन आफ्नो नाममा रहेको जग्गा बिक्री गर्ने योजना बनाएको थियो । जग्गा बेच्ने उद्योगको प्रयास तत्कालका लागि रोकिएको हो ।
“हाम्रो सिमेन्टको गुडविलले मात्रै थोरै बजार धानेको छ, विगतमा भन्दा बजार माग घटेको अवस्थामा हेटौँडा सिमेन्टले निजी उद्योगसँग प्रतिस्पर्धा गर्नै सकेन” पाण्डेले भने । दुई वर्षअघि नै हेटौँडा सिमेन्ट सञ्चालक समितिले निर्णय गरेर प्रदेशको उद्योग मन्त्रालयमा जग्गा बिक्रीका लागि अनुमति मागेको थियो । उक्त सिफारिस मन्त्रालयमै थन्किएको अवस्थामा महाप्रबन्धक भएर करिब चार महिनाअघि आएका पाण्डेले जग्गा बिक्रीलाई टुंगोमा पु¥याउन खोजेका थिए ।
हाल उद्योग नियमित सञ्चालनका लागि ८० करोडदेखि १ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । उद्योगमा नयाँ प्लान्ट जडान गर्न ५ देखि ८ अर्ब खर्च लाग्ने छ । हेटौँडा सिमेन्टलाई सिमेन्ट उत्पादन गर्ने देशभरका उद्योगमध्ये सबैभन्दा बढी गुणस्तरीय र विश्वासिलो मानिन्छ । हेटौंडा सिमेन्ट उद्योग विगत चार वर्षमा करिब ८० करोड घाटा व्यहोरेको छ ।