विषम परिस्थितिमा स्थापित सशस्त्र प्रहरी बल नेपालले आज आफ्नो २३औं वर्षगाँठ मनाइरहँदा चुनौतीका बाबजुद आफूलाई एक सक्षम र उत्कृष्ट संगठनका रूपमा उभ्याउन सफल भएको छ । स्थापनाको आधा दशक आन्तरिक द्वन्द्व नियन्त्रणमा अग्रपंक्तिमा रहेको संगठनले त्यसपछिका वर्षमा सीमा सुरक्षा, विपद् व्यवस्थापन, भीआईपी सुरक्षालगायतका जिम्मेवारीमा आफूलाई अब्बल र सक्षम प्रमाणित गरिसकेको छ । कुल ३७ हजार जनशक्तिले ७७ वटै जिल्लामा उपस्थित भएर पूरा गरेको जिम्मेवारी र छोटो समयमा गरेको प्रगति पक्कै पनि सारा नेपाली र नेपालका लागि गौरव गर्नलायक क्षण हो ।
व्यक्ति मात्र होइन, सशस्त्र प्रहरीले गरेको मेहनत, त्याग र पूरा गरेको जिम्मेवारीबाट कोही समूहलाई तनाव भएको हुनुपर्छ, जसको परिणाम पटकपटक संस्थाका विरुद्ध अनर्गल प्रचार गर्ने र सरकारी तहसम्म भ्रम सिर्जना गरेर एउटा फौजको ‘मोरल’मा असर पु¥याउने दूषित प्रयास पनि हुने गरेका छन् । तर, ७७ वटै जिल्लामा उपस्थिति, उत्तरतर्फको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना, त्यसमा पनि तिंकरदेखि ओखलढुंगासम्म आफ्नो उपस्थिति देखाएर राष्ट्रिय एकता, मुलुकप्रतिको जिम्मेवारी र कर्तव्य वर्तमान नेतृत्वले अब्बल ढंगले पूरा गरेको छ । यस अर्थमा दूरदर्शी सोच भएका अहिलेका आईजीपी राजु अर्याल धन्यवादका पात्र हुन् । उत्कृष्ट र असल नेतृत्वको उदाहरण प्रस्तुत गरेका अर्याल संगठनलाई चुस्त दुरुस्त बनाउन सफल भएका छन् । राम्रोलाई राम्रो भन्न सक्नुपर्छ । यसको श्रेय वर्तमान नेतृत्वलाई जान्छ । र, जहाँजहाँ सशस्त्र प्रहरी खटिएको छ, त्यहाँत्यहाँ उत्कृष्ट कार्य गर्न सफल भएको छ ।
२०७२ सालको भूकम्प होस् वा वर्षाको बाढी, पहिरो, आगलागी होस् वा नदीमा डुबेर बेपत्ताहरूको उद्धार, यी सबै कार्यमा सशस्त्र प्रहरीले देखाएको अदम्य साहस र बहादुरीलाई बधाई दिन कन्ज्युस्याइँ गर्नुहुँदैन । यही कामको परिणाम नेपाल सरकारले बीओपी संख्या ६ सय पु¥याउने घोषणा गरिसकेको छ । यसका लागि तत्काल आवश्यक पर्ने करिब १० हजार नयाँ जनशक्तिको दरबन्दी कुनै हालतमा बढाइनुपर्छ । यो केवल एउटा संगठनका लागि होइन समग्र मुलुक र आमजनताका लागि हो ।
आज थोरै जनशक्तिले नेपाल–भारत सीमातर्फको १ हजार ८ सय ८० किलोमिटर खुला सिमानालाई जुन ढंगले व्यवस्थापन गर्न सशस्त्र प्रहरी सक्षम देखिएको छ, यसले प्रमाणित गरिदिएको छ, सशस्त्र प्रहरीको जिम्मेवारी । यति भइसकेपछि थप जनशक्ति, अत्याधुनिक हातहतियार, स्रोत साधनले मुलुकको एक मात्र अर्धसैनिक प्रकृतिको संगठनलाई सुसज्जित गर्न ढिला भइसक्यो । यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।
अहिलेकै कुरा गर्ने हो भने तराईको प्रचण्ड गर्मी, पालमुनिको बास, सर्प, बिच्छीको डर हावाहुरी आए पाल समातेर बस्नुपर्ने बाध्यता, भोक प्यास र विषम परिस्थितिमा खटिएका ती राष्ट्रसेवकहरूको मनोबल उच्च राख्नुपर्ने समय हो, यो ।
नीतिगत कार्यहरू
कार्यादेशहरूको प्राथमिकीकरण बीआईआरडी अवधारणाः बोर्डर सुरक्षा–पीटीआरएस, अन्तर्राष्ट्रिय सुरक्षा– आमर््ड स्ट्रगल, पीओएम, आतंकवादी गतिविधि, राजस्व सुरक्षा, दैवीप्रकोप व्यवस्थापन, सशस्त्र प्रहरी कर्मचारीहरूको शारीरिक स्वस्थता कायम राख्न बडी मास इन्डेक्स (बीएमआई) कार्यविधि तयार गरी कार्यान्वयन गरिएको र साथै नियमावलीमा राख्ने प्रक्रियामा रहेको छ । सुरक्षा बेस तथा बीओपीहरूमा सशस्त्र प्रहरी कर्मचारी ६÷६ महिनामा बदली गर्ने नीति कार्यान्वयन, युनिट सरुवाको नीतिबमोजिम कार्य प्रारम्भ गरिएको, जसअनुरूप १२ वटा गुल्महरूको एकआपसमा युनिट सरुवा गरिएको छ । कार्यसम्पादन मूल्यांकनलाई वैज्ञानिक बनाउन प्रत्येक सशस्त्र प्रहरी कर्मचारीको नियमित रूपमा गोप्य प्रतिवेदन फाराम (कन्फिडेन्सियल रिपोर्ट फर्म–सीआर) भर्ने व्यवस्था मिलाई सोका आधारमा कार्यसम्पादन मूल्यांकन गर्ने कार्यको सुरुवात गरिएको छ ।
यसैगरी, आईजी (एपीएफ) र डीजी (एसएसबी)को वार्षिक बैठकलाई निरन्तरता दिइएको छ । सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमहरू सञ्चालन गरी सीमा क्षेत्रका वडाध्यक्षहरूसँग अन्तक्र्रिया, सरोकारवाला तथा सर्वसाधारणहरूसँग समन्वय वृद्धिका लागि जनचेतनामूलक तथा सीमा सौन्दर्यीकरणजस्ता कार्यक्रमको सुरुवात गरिएको छ । विपद् व्यवस्थापनका क्षेत्रमा अध्ययन अनुसन्धान बढाई विशिष्टीकृत जनशक्ति तयार गर्ने नीतिबमोजिम त्रिभुवन विश्वविद्यालयद्वारा सम्बन्धन हुनेगरी सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययन अधिस्नातक डिप्लोमा (पोस्ट ग्राजुएट डिप्लोमा इन सेक्युरिटी एन्ड डिजास्टर म्यानेजमेन्ट स्टडिज–पीजीडी एसडीएमएस) सञ्चालन गरिएको छ । जसलाई बढुवा हुन अनिवार्य तालिमका रूपमा पनि राखिएको छ । सशस्त्र प्रहरी बल, नेपालका इकाईहरूलाई वातावरणमैत्री बनाउने र सशस्त्र प्रहरी कर्मचारीहरूमा वातावरण संरक्षणप्रति सचेतना अभिवृद्धि गर्न वातावरण प्रदूषणको मुख्य तत्वका रूपमा रहेको प्लाष्टिकजन्य वस्तुको प्रयोग ‘रिड्युस, रियुज एन्ड रिसाइकल’ गर्ने नीति अवलम्बन गरिएका छ । खादा र सिन्थेटिक फूल, प्लाष्टिकका पानी बोतल खरिदलाई निरुत्साहित गरिएको छ ।
संरचनागत कार्यहरू
सशस्त्र प्रहरी कर्मचारीहरूको वृत्तिविकास योजना निर्माण गरी आवश्यकतानुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) गरिएपश्चात् दर्जागत समायोजन तथा जनशक्ति थप गरी १६ वर्षभन्दा बढी भर्ना भएकै दर्जामा रहेका सशस्त्र प्रहरी निरीक्षकहरूसहित ६ हजार ६ सय ७८ जनाको पदोन्नति भइसकेको छ । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालको उपस्थिति बढाउँदै लैजाने नीतिअनुरूप २५ वटा बीओपी थप गरी कुल २ सय ५३ पु¥याइएको छ । सीमा सुरक्षामा खटिएका युनिटहरूको चेन अफ कमान्ड मजबुत बनाउन र थप प्रभावकारी परिचालन गर्नका लागि ४५ वटा बीओपीहरूमा सशस्त्र प्रहरी नायब उपरीक्षकले कमान्ड गर्नेगरी प्रस्तावित सीमा सुरक्षा गुल्महरू स्थापना गरिएको छ । बदलिँदो सुरक्षा चुनौतीको आँकलन तथा आवश्यक तयारीस्वरूप प्रतिआतंकवाद उपशाखा स्थापना गरी कार्य सञ्चालन गरिएको छ ।
त्यस्तै, विपद्जन्य घटनाहरूमा प्रतिकार्यमा तुरुन्त परिचालनमा सहजताका लागि हरेक प्रदेशमा रहनेगरी आठवटा विपद् व्यवस्थापन बेस स्थापना, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर, राजधानी काठमाडौंमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सुरक्षा बेस स्थापना तथा पाँचवटा फिल्ड अस्पताल थप गरी प्रत्येक प्रदेशमा सशस्त्र प्रहरी बल नेपाल फिल्ड अस्पताल स्थापना गरिएको छ ।
संस्थागत कार्यहरू
सशस्त्र प्रहरी बल, नेपालमा पेसागत दक्षता अभिवृद्धि गर्न प्रत्येक दुई–दुई महिनाको अवधिका लागि निश्चित क्रियाकलाप तोकी ‘प्रोफेसनल एक्टिभिटिज साइकल–पीएसी’ सञ्चालनमा संगठनमा १२ वर्ष र २५ वर्ष सेवा अवधि पुगेका सशस्त्र प्रहरी कर्मचारीहरूलाई राष्ट्रसेवा पदक उपलब्ध गराउन पहल गरिएको छ । युनिटप्रतिको गौरव र कार्यरत कर्मचारीहरूको भाइचारापन एवं एकता अभिवृद्धि गरी फौजी संस्कृति प्रवद्र्धन गर्न युनिटहरूको स्थापना दिवस मनाउने कार्य सुरुवात, हरेक सशस्त्र प्रहरी कर्मचारीहरूको युनिट पहिचान झल्किनेगरी फर्मेसन चिह्न लगाउने व्यवस्था मिलाइएको तथा सशस्त्र प्रहरी परिचरहरूको श्रेणी छुट्टिने पहिचान चिह्नको प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । जलउत्पन्न प्रकोपसम्बन्धी प्रतिकार्यका लागि दक्ष जनशक्तिको अभाव महसुस गरी थप ३९ जनालाई गोताखोर तालिम प्रदान गरी जम्मा ९२ जना पु¥याइएको र गोताखोर टिमलाई सातवटै प्रदेशका नौवटा स्थानमा परिचालन गरिएको छ ।
अपरेसनल कार्यहरू
जाजरकोट र पश्चिम रुकुम जिल्लामा गएको भूकम्पमा परेकाहरूको उद्धारका लागि मेडिकल टिमसहित ५ सय जनाभन्दा बढी सशस्त्र प्रहरी कर्मचारीहरू परिचालन गरी १ सय ९० जनाभन्दा बढीको उद्धार गरिएको र भूकम्पबाट प्रभावितहरूको अस्थायी बासको व्यवस्थापनका लागि डीआरएस (डिजास्टर रिलिफ सिस्टम) कन्टेनरका २५ वटा पालसहित जम्मा ३ सय १ पालहरूको निर्माण गरिएको एवं ३६ वटा अस्थायी आवास निर्माण गरिएको छ ।
नेपाल भारत सीमामा अवस्थित सीमा स्तम्भहरूको मर्मत सम्भार कार्यलाई व्यवस्थित गर्न सीमा स्तम्भहरूको निर्माण, मर्मत–सम्भार र पुनस्र्थापनासम्बन्धी मापदण्ड तर्जुमा गरिएको छ । जसअनुरूप १ हजार ८ सयभन्दा बढी बिजोर सीमा स्तम्भहरूको मर्मत सम्भार गरिएको, सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बल (एसएसबी)को समन्वयमा नेपाल–भारत सिमानाको दसगजा खाली गर्ने कार्य (बोर्डर क्लियरेन्स)लाई निरन्तरता दिइएको, ३८ स्थानमा ५ सय ५६ वटा घरटहरा हटाइ १६ दशमलव ७७९ किमी दसगजा खाली गरिएको, १८ वटा भौतिक संरचना निर्माणमा रोक लगाइएको, २६ स्थानमा (१४ दशमलव ८०५ किमी) १३ दशमलव ३२ बिघा खेतीपाती गर्न रोक लगाइएको र १ सय ६१ स्थानमा करिब १ सय ७३ किलोमिटर दसगजा सरसफाई गरेको छ ।
यसैगरी, सशस्त्र प्रहरी बल नेपालबाट १ अर्ब २० करोड ७४ लाख ९७ हजार ५ सय १२ बराबरको अवैध चोरी पैठारीका सामान बरामद, १ करोड ९८ लाख २१ हजार ५ सय ८७ रुपैयाँबराबरको २ हजार १ सय ११ दशमलव २२ ग्राम सुन बरामद, २८ लाख ७० हजार ६ सय ५४ रुपैयाँबराबरको १६ हजार ७ सय ६७ दशमलव ७९ ग्राम चाँदी, ५ करोड ३८ लाख ३ हजार ३ सय ५९ रुपैयाँ अवैध रकम तथा १० हजार ३३ दशमलव ८८ क्युफिट अर्थात् २ करोड ६४ लाख ५३ हजार ४ सय ९ रुपैयाँबराबरको अवैध काठ, विभिन्न किसिमका हतियार २६ नाल एवं संलग्न २१ जना व्यक्ति पक्राउ गरी सम्बन्धित निकायमा बुझाएको छ ।






