सिन्धुली । कमलामाई नगरपालिका–१२ का देवबहादुर थापा २००८ सालमा जन्मेका हुन् । जन्मेको ४÷५ महिनामै आगोले पोलेर हात खुट्टा नै अपांग भएका छन् । बहिनीको सहारामा रहेका उनलाई २०७१ सालमा महिला तथा बालबालिका कार्यालयले ‘क’ वर्गको रातो अपांगताको परिचयपत्र दियो । संघीयतापछि स्थानीय तह बनेपछि कमलामाई नगरपालिकाले अपांगता परिचयपत्र दिन सुरु ग¥यो । हाल स्थानीय तहले पुराना परिचयपत्र भएकालाई परिवर्तन गरी स्थानीय तहको परिचयपत्र दिन र परिचयपत्र नपाएकालाई नयाँ परिचयपत्र दिन थालेको हो ।
यही अभियानअन्तर्गत नगरपालिका कार्यालय सिन्धुलीमाढी आउन नसक्नेका लागि परिचयपत्र दिन शिविरको सुरुवात समेत गरेको छ । शनिबार नगरपालिका–१२ को कवासेमा शिविरको सुरुवात गर्न गएको नगरपालिकाको घुम्ती शिविर टोलीले बाटोमा जाँदै गर्दा उनलाई घरमै सेवा दियो ।
स्थानीय तहको अपांगता परिचयपत्र लिन घुम्ती शिविर स्थलमा बहिनीको सहारामा करिब २ घण्टा चार हात खुट्टा टेकेर जान थालेका उनलाई टोलीले बाटोमै सेवा दिएको हो । उक्त सेवाले उनी निक्कै खुसी भए र सबैको मुखमा हेरेर खुसीले मुस्कुराए । घरको आँगनबाट कच्ची सडक गएको भए पनि उक्त वडामा सवारी साधन नियमित चल्दैनन् । सोही कारणले उनीजस्ता अपांगता भएका व्यक्तिलाई घरमै सेवा दिएको कमलामाई नगरपालिकाका अधिकृत सागरकुमार ढकालले बताए । शिविर स्थलमा पनि धेरै अपांगता भएका व्यक्तिलाई परिवारको सहायतामा ल्याइएको थियो ।
वडामा वंशाणुगत अपांगता धेरै
कनपा– १२ मा वंशाणुगत अपांगता भएका व्यक्ति धेरै भेटिएका छन् । उक्त वडाको धाङलेका डोरबहादुर धुरुङचाकी मगर जन्मदै शारीरिक तथा बौद्धिक अपांग हुन् । उनलाई परिवारका सदस्यले त्यहाँ डोकोमा बोकेर ल्याएका थिए । उनी पुरानै परिचयपत्र प्राप्त व्यक्ति पनि हुन् । उनीजस्तै सरस्वती रिठ्ठाबोटेका ८ वर्षीय बालक नारानबहादुर आले मगरका २ हात र १ खुट्टा अपांग छन् । उनलाई हिडडुल गर्नका लागि परिवारको सहयोग चाहिन्छ । नजिकैको विद्यालयमा कक्षा २ मा अध्ययन गर्ने उनले पनि नगरपालिकाले आयोजना गरेको परिचयपत्र शिविरमा गएका छन् ।
शिविरमा स्वास्थ्य परीक्षण गरिरहेका सिन्धुली अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. सुधांशु झाका अनुसार अधिकांश विरामी वंशाणुगत अपांगता भएका र जन्मसिद्ध अपांगता भएका भेटिएका छन् । तीमध्ये ३ जना बौद्धिक तथा शारीरिक रूपमा अशक्त पनि भेटिएका छन् । डा. झाका अनुसार गर्भवती अवस्थामा प्रयोग गर्नुपर्ने सामान्य खालका निःशुल्क औषधिको प्रयोग गर्न नपाउँदा पनि धेरै मानिस अपांगता हुने गर्छन् । डा. झा भन्छन्, ‘न्यूनतम स्वास्थ्य सेवाको पहँुच गाउँमा नपुग्दा धेरै व्यक्तिमा अपांगता हुने खतरा हुन्छ । त्यो यहाँ पाइयो ।’
शिविरमा वडाका २० जना अपांगता भएका व्यक्तिले सेवा लिएका छन् । तीमध्ये रातो परिचयपत्रको सेवा लिने आठ जना, निलो परिचयपत्रको सेवा लिने सात जना र पहेंलो परिचयपत्रको सेवा लिने पाँच जना छन् । कमलामाई नगरपालिकाले अपांगता भएका व्यक्तिलाई लक्षित गरी गाउँघरमै सेवा दिने लक्ष्यसहित नगरपालिकाका चार स्थानमा घुम्ती शिविरको आयोजना गरेको छ । कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले शिविरको शनिबार सुरुवात गरेकी छन् । शिविरको उद्घाटन कार्यक्रममा बोल्दै देवकोटाले अपांगता भएका व्यक्तिलाई घरमै सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको बताइन् । उनले हरेक महिनाको १ गते कार्यालयबाटै अपांगताको परिचयपत्रको काम गरिएको भए पनि भौगोलिक विकटताका कारण सबैको पहुँच नपुगेकाले शिविरको आयोजना गरिएको बताइन् ।
उनका अनुसार नगरपालिकाले फागुन ३ गते कनपा १ को मझिनीदमार, फागुन ७ गते कनपा २ को निवुवाटार र फागुन ९ गते वडा नम्बर १३ र १४ लाई लक्षित गरी कनपा–१३ मा शिविर आयोजना गरिनेछ ।