काठमाडौं । नेपालको आर्थिक वृद्धिदर ५.३५ प्रतिशतमा सीमित हुने प्रक्षेपण एसियाली डेभलपमेन्ट बैंक (एडीबी)को छ । गत आर्थिक वर्ष नेपालमा ७.१५ आर्थिक वृद्धिदर हासिल भएकोमा कोरोना भाइरस संक्रमणलगायतका कारण यस वर्ष १.८५ ले घट्ने एडीबीले प्रक्षेपण गरेको हो । एडीबीका अनुसार सन् २०१८ मा नेपालको कुल गार्हस्थ उत्पादन वृद्धिदर ६.१ प्रतिशत थियो भने सन् २०१९ मा ७.१ प्रतिशत थियो । सन् २०२१ मा ६ .४ प्रतिशत हुने एडीबीको प्रक्षेपण छ । मुद्रास्फीति दर भने यो वर्ष ६ प्रतिशत हुनेछ । गत वर्ष ४.६ प्रतिशत मूल्यवृद्धि रहेकामा आगामी वर्ष ५.५ प्रतिशत हुनेछ ।
कोरोना भाइरस संक्रमण अझै बढ्दै जाने हो भने योभन्दा पनि कम आर्थिक वृद्धि हुन सक्ने आँकलनसमेत एडीबीको छ । कोरोनाकै कारण रेमिट्यान्समा गिरावट आई आन्तरिक मागमा पनि ह्रास आइरहेको एडीबीको भनाइ छ । चालू आवको अन्तिम त्रैमासमा कोभिडकै कारण रेमिट्यान्स अझै घट्ने एडीबीको प्रक्षेपण छ । यो वर्ष आन्तरिक भ्रमण र नयाँ सिर्जना हुन नसक्ने ठम्याइ एडीबीको छ ।
एसियाली विकास बैंकले गरेको प्रक्षेपणअनुसार सन् २०२० मा एसियाली क्षेत्रको आर्थिक वृद्धिदरमा सुस्तता आउने देखिएको छ । यो वर्ष यस क्षेत्रको आर्थिक वृद्धिदर २.२ प्रतिशतमा सीमित हुनेछ । बैंकले सन् २०१९ को सेप्टेम्बरमा यो क्षेत्रको वृद्धिदर ५.५ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । तर, बैंकले प्रकाशित गरेको आफ्नो फ्ल्यागसिप आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुक यो क्षेत्रमा आर्थिक वृद्धिदरमा सुस्तता आउने प्रक्षेपण गरेको हो ।
कोरोना भाइरस संक्रमण अझ बढ्दै गएमा प्रक्षेपण गरेको भन्दा कम आर्थिक वृद्धि हुन सक्ने आँकलन
सन् २०२१ मा भने ६.२ प्रतिशतको वृद्धिदर कायम हुने एडीबीको अनुमान छ । कोभिड–१९ को त्रास चाँडै समाप्त भएर त्यसपछिका आर्थिक गतिविधि सामान्य भए र मनसुन पनि नियमित समयमा भए आगामी आर्थिक वर्ष २०७७÷७८ मा नेपालले ६.४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सक्ने अनुमान पनि एडीबीले गरेको छ । महामारीको असर सामान्य भएको अवस्थामा सन् २०२१ मा चीनको वृद्धिदर ७.३ प्रतिशत हुने बैंकको अनुमान छ ।
कोभिड–१९ को रोकथामका लागि गरिएको लकडाउनले औद्योगिक र सेवा क्षेत्रमा अवरोध छ । रेमिट्यान्स घट्ने र धान उत्पादनमा कमी आएको छ । यही कारण यो वर्षको औषत मूल्यवृद्धि ६ प्रतिशत पुग्ने एडीबीको नेपाल माइक्रो इकोनोमिक अपडेटको अनुमान छ । गत आर्थिक वर्षमा मूल्यवृद्धि दर ४.६ प्रतिशत थियो ।
त्यस्तै, सन् २०१९ मा ४ दशमलव ६ प्रतिशत रहेको मुद्रास्फीतिदर पनि २०२० मा छ प्रतिशत पुग्न सक्ने प्रक्षेपण एडीबीको छ । २०२१ मा पुनः मुद्रास्फीतिदर ५ दशमलव ५ प्रतिशतमा झर्न सक्ने उल्लेख छ ।
एडीबीका अनुसार कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्रमा ४१ खर्ब डलरको क्षति पुग्नेछ । एडीबीले यो महामारीको कारण सामाजिक र वित्तीय संकट, स्वास्थ्य स्याहार र शिक्षामा दीर्घकालीन असर पनि पर्न सक्ने उल्लेख गरेको छ ।
एडीबीका अनुसार चालू आवको सात महिनामा वस्तु व्यापार घाटा अघिल्लो वर्षको १५ प्रतिशतको विस्तारको तुलनामा ४.९ प्रतिशतले घटेको छ । खासगरी भारतमा पाम तेल र अलैंचीको निर्यात वृद्धि र निर्माण सामग्री, सवारीसाधन तथा पेट्रोलियम पदार्थको घट्दो आयातले गर्दा व्यापार घाटामा संकुुचन आएको छ । सुधारिएको व्यापार सन्तुलनले माघको अन्त्यसम्म चालू खाता घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ अर्ब ५० करोड डलरबाट १ अर्ब डलरमा राख्न सहयोग गरेको छ ।
पेट्रोलियम पदार्थ, पुँजीगत तथा उपभोग्य वस्तुको आयातमा कमी आउँदा यो घाटा गत आवको कुल गार्हस्थ उत्पादनको ७.७ प्रतिशबाट ५.४ प्रतिशतमा खुम्चिने अनुमान छ ।