
अयोध्या तो बस झाँकी है
काशी–मथुरा बाँकी है…
हिन्दी भाषाको माथिका पंक्तिलाई नेपालीमा रूपान्तरण गरिरहन आवश्यक छैन । नेपाली भाषी सबैले यसको अर्थ सहजै बुझ्छन् भन्ने मेरो ठम्याइ हो । गत ८ माघमा व्यक्तिगत कामले भारतको नयाँदिल्ली पुगियो । संजोगवस त्यस दिन भारतको अयोध्यामा नवनिर्मित राममन्दिरमा रामको बालमूर्तिको प्राणप्रतिष्ठा हुँदै थियो । मैले दिल्लीमा पाइला टेक्दा अयोध्यामा प्राणप्रतिष्ठा समारोह सम्पन्न भइसकेको थियो ।
बिमानस्थलबाट सहरतर्फ लाग्ने क्रममा सोचेभन्दा निकै कम ट्राफिक देखियो । चालकसँग बुझ्दा थाहा भयो– धेरै जनता गल्ली, टोल, मोहल्ला र बस्तीहरूका देव मन्दिरहरूमा पूजा पाठमा र उत्सव मनाउन व्यस्त रहेका हुँदा ट्राफिक हल्का भएको हो । नभन्दै त्यस्तै दृश्य देखियो । मठ मन्दिरहरूमा घण्टी र शंखको ध्वनिका साथसाथै ‘जय श्रीराम’को आवाज गुन्जिरहेको थियो र भोगप्रसाद वितरण भइरहेको थियो । भित्री सडकहरूमा त ट्राफिक नै रोकेर बीचसडकमै रंगोली कोरिँदै थियो र दीपावलीको तयारी हुँदै थियो । सूर्यास्तपछि त प्रत्येकजसो घरका कौसी, बार्दलीहरूबाट दीपावलीको दृश्य देखियो ।
रात छिप्पिँदै जाँदा ढोल नगाडाको आवाज र पटाखाको कर्कस ध्वनिका बीच भजन गीत गुन्जिन थाल्यो र निरन्तर ‘जयश्री राम’ सुनिन थाल्यो । बीचबीचमा माथि उल्लिखित ‘अयोध्या तो झाँकी है’ घनिभूत रूपमा सुनियो । वास्तवमा यो नारा ६ डिसेम्बर १९९२ का दिन अयोध्यामा बाबरी मस्जिद भनिएको विवादित ढाँचाको विध्वंसपछि नै सुनिन थालेको हो । भारतमा मुसलमान आक्रान्ताहरूले विभिन्न कालखण्डमा ३० हजारको हाराहारीमा हिन्दू मन्दिरहरू ध्वस्त पारेको र मुगल साम्राज्यको साशनकालमा ती मन्दिरका ठाउँमा मस्जिद निर्माण गरेको बताइन्छ । भारतको गुजरातस्थित सुप्रसिद्ध सोमनाथ मन्दिरलाई पनि मुहम्मद गजनवी, अलाउद्दीन खिलजी र औरंगजेबले लुटेको र ध्वस्त पारेको बताइन्छ । भारत स्वतन्त्र भएपछि तत्कालीन उपप्रधानमन्त्री बल्लभभाई पटेलको सक्रियतामा सो मन्दिरको पुनर्निर्माण भएको थियो । भारतमा रहेको द्वादश ज्योतिर्लिंगमध्ये प्रथम ज्योतिर्लिंग मानिएको सोमनाथको मन्दिर महाभारतकालमा राजा चन्द्रदेवले निर्माण गरेका र पटकपटक पुनर्निर्माण र जीर्णोद्वार भएको बताइन्छ । पछिल्लोपटक स्वतन्त्रतापछि तत्कालीन प्रधानमन्त्री नेहरूको असहमतिका बाबजुद भएको पुनर्निर्माणलाई हिन्दू पुनर्जागरण र पुनरुत्थानको सुरुवात मान्नेहरू धेरै छन् । इस्लाम आक्रान्ता एवं शासकले ध्वस्त पारेका कथित ३० हजार मन्दिर पुनस्र्थापना सम्भव देखिन्न । दाबीकै कुरो गर्ने हो भने त विश्वप्रसिद्ध आगराको ताजमहलसमेत महातेजोलय शिवलिंगमाथि निर्माण गरिएको भनिन्छ । हालको सत्तासीन दल भारतीय जनता पार्टीले आफ्नो पुरानो मातृस्वरूप जनसंघको कालदेखि नै हिन्दुत्व र सनातन धर्मलाई आफ्नो मूल मन्त्र बनाएको छ ।

भाजपाको मेरुदण्ड मानिएको सामाजिक संगठन राष्ट्रिय स्वयंसेवक संघले त हिन्दू राष्ट्रवादलाई आफ्नो मूल सिद्धान्त नै मानेको छ । तर, जेसुकै भए पनि मन्दिर ध्वस्त पारेर बनाइएका सबै मस्जिद भत्काउन सम्भव छैन । तर, सनातनीहरू राम जन्मभूमि अयोध्या, काशी विश्वनाथ र कृष्ण जन्मभूमि मथुरामा चाहिँ इस्लामिक अतिक्रमण हट्नैपर्ने अडानमा छन् ।
अयोध्यामा राम जन्मेको थलोमा रामपुत्र कुशले भव्य मन्दिर निर्माण गरेका भनिन्छ । त्यस मन्दिरलाई राजा विक्रमादित्यले जीर्णोद्वार र पुनर्निर्माण गराएको ऐतिहासिक तथ्य भएको दाबी गरिन्छ । पहिलो मुगल सम्राट बाबरका सेनापति मीर बाकीले त्यो मन्दिर ध्वस्त पारेर त्यसैको जगमाथि बाबरी मस्जिदको निर्माण गराए । अंग्रेज शासनकालदेखि नै जन्मभूमि फिर्ता गराउन पटकपटक द्वन्द्व भए र सयौं वर्षको कानुनी लडाइँसमेत जारी रह्यो । हजारौं व्यक्तिले ज्यान गुमाए । सन् १९९० मा मन्दिर निर्माण आन्दोलनकारीहरूमाथि उत्तर प्रदेशका ‘धर्म निरपेक्ष’ मुख्यमन्त्री मुलायम सिंह सरकारले गोली चलाउँदा सयौंको मृत्यु भएको बताइन्छ । ६ डिसेम्बर १९९२ मा लाखौंको संख्यामा उर्लेका हिन्दू आन्दोलनकारीहरूले बाबरी मस्जिद भनिने ढाँचा ध्वस्त पारिदिए । आजको भारतीय जनता पार्टीको यो विशाल र बिस्तारित रूप त्यही राममन्दिर आन्दोलनको जगमा तयार भएको हो भन्दा फरक नपर्ला । सन् २०१९ मा भारतको सर्वोच्च अदालतको ऐतिहासिक निर्णयपछि मात्र सो स्थान कानुनी रूपमा हिन्दू पक्षको अख्तियारीमा आएको हो । सन् १९९२ मा मस्जिद भत्काइएपछि त्यसलाई हिन्दूहरूले विजयको प्रतीक अर्थात् जन्मभूमि फिर्ता पाएको मानेर ‘अयोध्या तो बस झाँकी है, काशी–मथुरा बाँकी है’ भन्ने नारा बुलन्द बनाएको हो । अब त त्यहाँ भव्य राममन्दिर नै बनिसकेको छ । अर्को शब्दमा भन्ने हो भने ‘झाँकी’ सजीव भइसकेको छ । ‘बाँकी’ भनिएको काशी र मथुरा पनि अत्यन्तै चलायमान हुन थालेको देखिन्छ । राममन्दिर निर्माण र भाजपाको बलियो अवस्थाले उत्साहित हिन्दूहरू ‘बाँकी’ दुई काम फत्ते गर्न कम्मर कसेर लागेको प्रतीत हुन्छ ।
अब ‘बाँकी’ भनिएको काशी विश्वनाथ मन्दिरतिर लागौं । द्वादश ज्योतिर्लिंगमध्येको एक बनारसस्थित काशी विश्वनाथ मन्दिरसँग सटिएको अवस्थामा ज्ञानबापी नाम गरेको मस्जिद छ । यो मस्जिद पनि मुगल शासक औंरंगजेबको आदेशले काशी विश्वनाथको मन्दिरलाई भत्काएर त्यसकै जगमाथि बनाइएको बताइन्छ । मस्जिदको नाम ज्ञानबापी भएबाटै पनि त्यो हिन्दूहरूको थलो रहेको स्पष्ट हुन्छ । मस्जिदको पर्खाल, भित्ता र जमिनमुनिको भागमा हिन्दू देवदेवी एवं प्रतीक चिह्नहरू पुरातात्विक सर्भेका दौरान भेटिएको छ । अहिले प्रचलनमा रहेको विश्वनाथ मन्दिरको परिसरमै एउटा नन्दीरूपी सिला (साँढे) मस्जिदतर्फ फर्केर अवस्थित छ । मन्दिरमा नन्दी महादेवतिर फर्केर रहेको हुन्छ भन्ने सबैलाई थाहा भएकै कुरो हो । हिन्दूहरू विश्वनाथ भगवान्को आदि विश्वेश्वर शिवलिंग मस्जिदभित्र दबिएर रहेको दाबी गर्छन् । यी सब तथ्यहरूकै आधारमा होला अंग्रेजकै पालामा ‘मजिस्ट्रेट’को आदेशमा मस्जिदको जमिनमुनिको तहखानामा हिन्दूहरूलाई पूजा गर्न दिइएको थियो । निरन्तर चल्दैआएको पूजा सन् १९९२ मा मुलायम सिंह सरकारले अनायासै रोकेको थियो । दुई दिनअघि मात्र हिन्दू पक्षको निरन्तर संघर्षपछि जमिनमुनिको भागमा हिन्दूहरूलाई पूजा गर्न अनुमति दिइएको छ । माथिको भुइँतलामा मस्जिदको बजुखाना (हातमुख धुने थलो) को सर्भे गरिँदा शिवलिंगजस्तो देखिने आकृति देखापरेको छ । सम्पूर्ण मस्जिद परिसर फिर्ता लिन हिन्दू साधुसन्त एवं संगठनहरूको कानुनी एवं अन्यखाले संघर्ष जारी छ ।

अब ‘बाँकी’ रहेको भनिएको कृष्ण जन्मभूमितर्फ लागौं । मथुरामा हाल रहेको कृष्ण मन्दिरसँग पनि सटिएर अजंगको मस्जिद एवं इदगाह छ । यो मस्जिद पनि मुसलमान आक्रान्ताले हिन्दू आराधनास्थललाई भत्काएर त्यसमाथि निर्माण गरिएको हो । हिन्दूहरूको दाबीलाई मान्ने हो भने कृष्णजन्म भएको कंसको कारागारका सातमध्ये ६ कोठाहरू त्यही मस्जिदमुनि छन् । खास कृष्णजन्म भएको कोठा मस्जिदमुनि दबिएको उनीहरूको दाबी छ । यहाँ पनि हिन्दूहरू पुरातात्विक सर्भेको माग गर्दै कानुनी लडाइँमा लागेका छन् । अरूखाले दबाब र आन्दोलन त छँदै छ ।
‘झाँकी’ भनिएको अयोध्याले सजीव रूप लिइसकेको छ । ‘बाँकी’ भनिएको काशी विश्वनाथ र मथुरा कृष्ण जन्मभूमि आन्दोलन चरमतर्फ अग्रसर छ । हिन्दू मात्र होइन, गैरहिन्दू सनातनीहरू अर्थात् शिख र जैनजस्ता समुदाय पनि उत्साहित र एकजुट देखिन्छन् । थोरै विजयको उन्माद र उत्ताउलोपन नदेखिएको होइन । तर, उन्मादभन्दा जोश, खुसी र अत्मविश्वास बढी देखिन्छ । आफूलाई गैरसनातनी द्रभिड सभ्यताको प्रतिनिधि भनेर उभ्याउन खोज्ने दक्षिण भारतीय तप्कामा समेत सनातनी प्रभाव बढेको स्पष्टै अनुभव हुन्छ । अल्पसंख्यक मुसलमानहरूमा थोरै निराशा र आक्रोश हुनसक्छ । तर, तिनीहरूमा पनि सहिष्णुताको मात्रा बढेको पाइन्छ । इतिहासको कालखण्डमा भएको गल्ती सच्याउनुपर्छ भन्ने मान्यताले बिस्तारै ठाउँ बढाउँदै गएको प्रतीत हुन्छ । अर्कोतर्फ सरकार त आफूलाई सनातन पुनरुत्थानको संवाहकका रूपमा चिनाउन पाउँदा गर्व गर्नेहरूकै हातमा छ । माथि उल्लिखित थलोहरूको पुनप्र्राप्ती मात्र होइन, विद्यमान मठमन्दिरहरूको सबलीकरण र सुदृढीकरणले पनि अचम्मको गति लिएको देखिन्छ । यो सबलाई सनातन पुनर्जागरण, पुनरुत्थान वा पुनस्र्थापनाको नयाँ युगको सुरुवात भनेर परिभाषित गरियो भने अत्युक्ति नहोला ।
भारतमा यस्तो भइरहँदा त्यसको प्रभाव नेपालमा नपर्ला ? यी सबबाट नेपालको सामाजिक, सांस्कृतिक एवं राजनीतिक क्षेत्र अछूतो रहनसक्ला ? गत ८ माघमा राममन्दिरको प्रतिमा प्रतिष्ठाको दिनमा नेपालमा देखिएको खुसी र उत्साह पनि उल्लेखनीय थियो । खुद अयोध्या पुगेर रामको दर्शन गर्ने नेपालीहरूको संख्या हजारौंमा थियो र त्यो क्रम अझै जारी छ । नेपालमा कुनै महत्वपूर्ण सनातनी थलो अतिक्रमण नै गरेर गैरसनातनी ढाँचा निर्माण गरिएको चाहिँ छैन होला । यसो जोरी खोजेर टाँसिएर निर्माण गरिएका एक–दुई घटना हुनसक्छन् । नेपालमा भौतिक संरचनामा असर नपरे पनि विगत केही वर्षदेखि धर्म, संस्कृति र पहिचानमाथि मानसिक आक्रमणचाहिँ प्रचूर मात्रामा भएको छ । समग्र सनातनीहरूमा आएको पुनरुत्थानको भावनाले नेपालीहरूमा नकारात्मक आवेग पैदा नगरोस् भनेर कामना गरौं ।






