‘व्यवस्था होइन, अवस्था’ वा ‘अवस्था होइन, व्यवस्था’ परिवर्तन गर्नुपर्ने के हो ? विभिन्न खाले भाषा सुनिन्छ र आआफ्नो सुविधा र स्वार्थअनुसार भाष्य स्थापित गर्ने प्रयासले गति लिएको पनि देखिन्छ । कुन कुरो ठीक हो त ? ‘विशेषज्ञ’को कमी छैन । रामवाण उत्तर पनि तत्कालै आउला ! देवनागरी लिपिमा लेखिएको ५७ अंकलाई ‘सन्ताउन्न’ भन्न नसकेर वा नजानेर ‘फिफ्टी सेभेन’ भनेर वाचन गर्ने व्यक्तिले यो मुलुकमा नेपाली गीतकारका रूपमा मान्यता पाएका छन् ! पढाइ र पेसा दुवै हिसाबले एक लेखाकर्मी अनायासै जलस्रोतविद्का रूपमा टेलिभिजनका पर्दामा देखापर्छन् र उपदेश दिन थाल्दछन् । राजनीति र राजनीतिक व्यवस्थाका सम्बन्धमा त सम्पूर्ण नेपाली नै महान् विशेषज्ञ भइहाले !
अवस्थाको कुरा गरौं । नेपाली जनताको स्थिति निश्चय नै धेरै आशा लाग्दो छैन । अधिकांशको त कहाली नै लाग्दो हो । भ्रष्टाचार र अनाचारको कुरा गर्दा जुनसुकै नेतातर्फ सजिलै शंकाको सुई घुम्दछ । यी शासक नेताको विगत र आगत दाँज्दा सोझै भन्न सकिन्छ, नियमित आम्दानीका भरमा यत्रो छलाङ सम्भवै छैन । दिन प्रतिदिन मुलुकको युवा जनशक्ति रित्तिँदै गएको अवस्था छ । कोही पनि सन्तुष्ट छैनन् । झन् विद्यमान मन्दीले त अवस्था नाजुकै देखिन्छ । यी सब खाले दुरावस्थाका लागि वर्तमान व्यवस्था मात्र होइन, निकट विगतको संवैधानिक राजतन्त्रात्मक व्यवस्थालाई समेत ‘गाँडतन्त्र’ आदि इत्यादि उपनाम दिएर तथानाम गाली गर्ने क्रम एउटा फेसन नै बनेको छ । अझ एकथरी ‘आशावादी’मा त ‘सरकारको फिर्ती सवारी’को कामना गर्ने उपक्रम पनि सुरु भएको छ ।
के साँच्चै व्यवस्थाका कारण नै जनताको अवस्था ध्वस्तै भएको हो त ? राजाको प्रत्यक्ष साशनको कथित सुशासनको समयका तुलनामा जनताको जीवनस्तर नराम्ररी ओरालो लागेको हो ? २०४६ साल अघिका लगभग ३० वर्षको तुलनामा त्यसपछिका ठीक ३० वर्षको अवधिको तुलना गर्ने कि ? पहिलो अवधिका तुलनामा कति किलोमिटर कालोपत्रे सडक बने र त्यसको तुलनामा दोस्रो अवधिमा कति बने ? स्वास्थ र शिक्षाको अवस्थाको वस्तुगत तुलना गर्दा कस्तो चित्र भेटिन्छ ? सञ्चार जगत्मा कत्रो छलाङ भयो ? केही समयअघि दिनको १९ घण्टासम्मको लोडसेडिङको कष्ट नेपाली जनताले किन बेहोर्नुप¥यो ? १० वर्षपछिको विद्युत्को मागसम्म आँकलन गर्न नसक्ने तत्कालीन महाप्रभु शासक पनि जिम्मेवार छन् कि ? सामान्य एउटा अनुभूतिलाई समेटौं । ४५ सालमा नेपालको कुनै डाँडाको टुप्पोमा उभ्भिएर तलतिरको बस्ती हेर्दा कस्ता घर देखिन्थे ? आज कस्ता देखिन्छ्न् ? आज ती घरका छानाहरू कम्तीमा रंगीबिरंगी जस्तामा परिवर्तित भएका छैनन् र ?
यहाँ वर्तमानमा जनता अत्यन्तै खुसी छन् भन्न पटक्कै खोजिएको छैन । यहाँ फगत तुलना मात्र गरिएको हो । यसो गर्दा पनि ‘यी सब उन्नति प्रगति त समयले स्वतः ल्याएको हो’ भन्ने ओंठे जवाफ आउँछ । ‘समयले स्वतः ल्याएको भन्ने’ भनाइलाई स्विकार्ने हो भने ४६ साल अघिको ३० वर्षे अवधिमा स्वतः हुने गति पनि सुस्त भएको भनेर मान्नु परेन र ? वास्तविकता के हो भने परिवर्तित व्यवस्थामा जनताको चुलिएको आकांक्षा पूरा हुन नसकेको ठीक साँचो हो । हुन सक्ने हदको ५० प्रतिशत मात्रै प्रगति भएको पनि ठीक होला । तर, विगतको व्यवस्थाको तुलनामा पछिल्लो व्यवस्थामा मुलुकको प्रगति र उन्नति धेरै बढी छ ।
निश्चित रूपमा भ्रष्टाचारले विकराल रूप लिएको छ । हिजोका धेरै तन्नमहरू आज एक्कासि नवकुँवेरका रूपमा देखिँदा धेरै अनुसन्धानको आवश्यकता नै पर्दैन । तर, भ्रष्टाचारकै कुरा गर्दा पनि एउटा अनौठो चित्र देखापर्दछ । के हिजो राजाको सक्रिय शासन व्यवस्थामा भ्रष्टाचार हुँदैनथ्यो ? सायद झटपट जवाफ आउला, हुँदैनथ्यो । यो जवाफ ठीक होइन । हिजोको भ्रष्टाचारको परिमाण आजभन्दा पटक्कै कम थिएन । फरक के थियो त्यसबेलाको भ्रष्टाचार नितान्त केन्द्रीकृत थियो ।
भ्रष्टाचार गर्ने विशेषाधिकार एक विशेष उपाधि प्राप्त विशेष व्यक्तिमा केन्द्रीकृत थियो र त्यस्ता व्यक्ति’bout प्रश्नसम्म गर्न नपाइने कानुनी व्यवस्था थियो भन्दा धेरैलाई अनौठो लाग्ला । त्यो भ्रष्टाचार अहिले विकेन्द्रीकृत भएको छ । एक जना व्यक्ति र उसको असीमित अधिकार प्राप्त नातेदार र परिवारले मात्र गर्ने गरेको भ्रष्टाचार अहिले सयौं वा हजारौंमा सरेको छ । भ्रष्टाचारलाई निर्मूल पारिनुपर्छ । तर, के केन्द्रीकृत भ्रष्टाचारको तुलनामा विकेन्द्रीकृत भ्रष्टाचार उत्तम होइन र ?
ध्यान दिएर हेर्ने हो भने अवस्था धेरै नसुध्रे पनि वा अपेक्षाअनुरूप नभए पनि पहिलेको तुलनामा बिग्रेको चाहिं हुँदै होइन, सुध्रिएको छ । यसबाट व्यवस्था खराब भन्ने कुरो चाहि“ सोह्रै आना गलत हो । लोकतान्त्रिक व्यवस्थाको समुन्नत अवस्था अर्थात् गणतन्त्र खराब हुनै सक्दैन । समस्या व्यवस्थाको होइन, व्यवस्थापनको हो । भ्रष्टाचारलाई जन्मसिद्ध अधिकार मान्ने हाम्रा नेताको मनस्थिति त छँदै छ, व्यवस्थापन क्षमता चाहिं शून्य नै देखियो । राजनीतिक व्यवस्थापन वा आन्दोलन सञ्चालनमा अब्बल देखिए पनि विकास र आर्थिक व्यवस्थापनमा यी आदरणीय भनाउँदाहरू निम्नस्तरीय देखिए । असफल पुस्ताले पुस्तान्तरनको निर्णय गर्न ढिलो भइसक्यो । अन्यथा, निराशाले विष्फोटको रूप लिन सक्छ ।






