‘ऋण तिर्न खोज्दा जनप्रतिनिधिबाट पिटिए’

राजविराज । मिटरब्याजीको आरोप खेपिरहेका एक जनप्रतिनिधिमामाथि सोही विषयलाई लिएर महिलाहरूमाथि निर्घात कुटपीट गरिएको आरोप लागेको छ ।

सप्तरीको रुपनी गाँपालिका–५ का वडाअध्यक्ष गंगाराम यादवले ऋणबापत चर्काे ब्याज लिएको र सो रकम तिरेर धितोबापत राखेको जग्गा फिर्ता गर्न नमानेको विषयमा सम्बन्धित निकायमा उजुरी गर्दा आफूहरू कुटिएको महिलाहरूको आरोप छ ।

शनिबार पत्रकार महासंघ सप्तरीको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी सोही पालिका–६ तेरहौताकी ५० वर्षीया सुनरीदेवी चौधरी र ५५ वर्षीया बच्चादेवी चौधरीले यस्तो आरोप लगाउँदै घटनाको छानबिन तथा दोषीमाथि कारबाहीको माग गरेका छन् । वडाध्यक्ष यादवकै अगुवाइमा गत ७ माघमा वडा कार्यालयनजिकैको सडकखण्डमा आफूहरूमाथि कुटपिट गरी घाइते बनाएको र स्वास्थ्यलाभपश्चात् न्यायका लागि पहल गरिदिन सञ्चारकर्मीमाझ आइपुगेको पत्रकार सम्मेलनमा पीडित महिला सुनरीदेवी चौधरीले बताइन् ।

उनले आफूमाथि आक्रमण हुँदा बचाउन पुगेकी छिमेकी बच्चादेवीसमेतलाई निर्घात कुटपिट गरिएको र दुवै जना उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भई स्वास्थ्यलाभपश्चात् घर फर्किएको बताइन् । उनले उपचार क्रममा खर्च भएको ५० हजार रुपैयाँ पनि ऋण सापटी लिनुपरेको सुनाइन् ।

आठ वर्षअघि २ लाख रुपैयाँ यादवसँग ऋण लिएबापत सोही पालिकास्थित १४ कठ्ठा ३ धुर जग्गा उनलाई धितोबापत पास गरेर दिएको सुनरीदेवीको भनाइ छ । ऋण लिएको दुई वर्षपछि २ लाख ५० हजार रुपैयाँ (ब्याजसहित) फिर्ता दिन जाँदा यादवले लिन नमानेको र जग्गासमेत फिर्ता गर्न नमानेकाले आफ्नो बिचल्ली भएको सुनरीदेवीले सुनाइन् ।

२ लाख रुपैयाँ ऋणबापत धितो राखेको पूरै जग्गा यादवले कब्जा गरेपछि गाउँपालिकाको न्यायिक समिति, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पनि अहिलेसम्म आफूले न्याय नपाएको पीडितको गुनासो छ । वडा कार्यालयमा समेत उजुरी दिन जाँदा लिन आलटाल गरेको र पछिल्लोपटक ७ माघमा आफूमाथि वडाध्यक्ष यादवले मानिससमेत लगाएर निर्घात कुटपिट गरेपछि थप ५० हजार रुपैयाँ कर्जा लिएर उपचार गर्नुपरेको उनको दुखेसो छ । आफूलाई न्याय दिलाइदिन पहलका लागि उनले सञ्चारकर्मीहरूसँग आग्रह गरेकी छन् ।

यता वडाअध्यक्ष यादवले हुल बाँधेर वडा कार्यालयमा आई आफूलाई उल्टै गालीगलौज गरेको बताउँदै जग्गा आफूले ५ लाख रुपैयाँ तिरेर किनेको दाबी गरेका छन् । उनले ती महिला कुनै कुटपिट नगरेको र विभिन्न बहाना बनाई आफूलाई बदनाम गर्र्न खोजेको बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)

epaper

ताजा समाचार

वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युट बिच सम्झौता