पाँचथर । सदरमुकाम फिदिममा शनिबारदेखि सुरु भएको चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण वाइ वाइ पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाँचथर क्लवसँग सप्तरीको नमोबुद्ध एफसी ३–० ले स्तब्ध भएको छ ।
सदरमुकामस्थित फिदिम खेलमैदानमा भएको खेलमा आयोजक पाँचथर क्लवले सुक्रराज राईको ह्याट्रिकमा नमोबुद्ध विरुद्ध ३–० को शानदार जीत निकालेको हो । खेलको आठौं मिनेटमा नमोबुद्ध एफसीका गोलकिपर उद्धव मगरको गल्तिको फाइदा उठाउदै सुकराजले सुरुवाती अग्रता लिएका थिए ।
खेलको ३३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका उनले ६१ औं मिनेटमा अर्को व्यक्तिगत गोल गर्दै ह्याट्रिक पूरा गरे । खेलको म्यान अफ् दि म्याच बन्दै उनले नगद २५ सय रुपैंयाँ प्राप्त गरे । यो जीत सँगै पाँचथर क्लव प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
आयोजकले दर्शकका लागि राखेको सुटआउट हिरोको पुरस्कार भने राजेश राईले पाए । त्यस्तै दर्शककै लागि राखिएको फ्यान अफ् दि म्याचको पुरस्कार उर्गेन तामाङले पाए । दुबै पुरस्कारको राशी समान २५–२५ सय रहेको छ ।
प्रतियोगिता अन्तर्गत आइतबार झापा ११ र रेडहर्स एफसी इलामबीच प्रतिश्पर्धा हुने आयोजक संस्थाका सचिव योगराज सेढाइले बताए । आठ टिम सहभागि प्रतियोगिता फागुन १९ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले नगद ५ लाख ५ हजार ५५५ रुपैंयाँ र उपविजेताले नगद २ लाख ५५ हजार ५५५ रुपैंयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको उद्घाटन संघीय सरकारका युवा तथा खेलकुद विकासमन्त्री डिगबहादुर लिम्बूले गरेका थिए ।






