घरेलु मैदानमै नेपालको लगातार हार, कहाँ चुक्यो ?

काठमाडौं । आईसीसी क्रिकेट विश्व कप लिग–२ को क्रिकोणात्मक सिरिजमा नेपालले घरेलु मैदानमा लगातार पराजय भोगिरहेको छ । आइतबार नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित भयो । यसअघि नामिवियासँग लगातार दुई हार ब्यहोरेको थियो ।

आईसीसी क्रिकेट विश्वकप लीग–२

पहिलो त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग पराजयपछि कीर्तिपुरस्थित टियु मैदानमा नामिबिया पनि रहेको शृंखलामा चार खेल खेलेकोमध्ये नेपालले एकमात्र जित दर्ता गरेको छ । यसअघि नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो ।

नेपाली टिममा अनुभवी खेलाडीमात्र छैनन्, उनीहरुले नियमित अभ्यास गरेको ब्याटिङमैत्री टियु मैदानमा नेपालको एकपछि अर्काे हारलाई सामान्य भन्न सकिदैन ।

नेपालले लिग–२ अन्तर्गत सेप्टेम्बरमा क्यानडा र अक्टोबरमा अमेरिकाको भ्रमण गर्ने तालिका छ । क्रिकेटमा नेपालले राम्रो खेल पस्किरहेको समयमा लिग–२ का खेलहरुमा लगातार पराजय भोगेसँगै दर्शकहरु चिन्तित बन्न पुगेका छन् । नेपालले आफ्नो सफलताको सम्भावनालाई बढाउनका लागि रणनीतिक रुपमा अगाडि बढ्नुपर्ने देखिन्छ । नेपाली खेलाडीले समर्पणको भावनालाई मजबुद बनाउँदै कडा परिश्रम र रणनीतिको रुपान्तरणमा समेत ध्यान केन्द्रीत गर्नुपर्ने खेल विश्लेषक दिवाकरलाल अमात्य बताउँछन् ।

नेपाली टिममा केही खेलाडीको उचारचढावले खेलमा ठूलो परिवर्तन हुनुलाई स्वभाविक मान्न सकिँदैन । हारजित भन्दा पनि प्रदर्शनलाई फोकस गर्न सकेको खण्डमा नेपाली क्रिकेटले प्रगति गर्न सक्ने देखिन्छ । नेपालले क्रिकेटमा प्रगति गर्नका लागि र आईसीसी क्रिकेट विश्वकप लिग–२ मा राम्रो नतिजा ल्याउनै पर्ने अवस्था छ ।

टोलीले कमजोरी पहिचान गर्न प्रदर्शनको गहन विश्लेषण गर्नुपर्ने देखिन्छ । नेपालले घरेलु मैदानमा कमजोर प्रदर्शन गरेको विषयलाई सहजरुपमा नजरअन्दाज गर्न सकिँदैन । नेपाली क्रिकेटका दर्शकको विश्वव्यापी प्रशंसा हुने गर्दछ । जसका कारण विपक्षी टिमको मनोवैज्ञानिक रुपमा दर्शकको भिडले पनि गल्ने गरेको देखिन्छ । तर यसपटक घरेलु मैदानमा नेपालको रेकर्ड बिग्रेको छ । गत संस्करणमा लिग–२ का १२ मध्ये १० खेलमा जितेको नेपालले यस पटक त घरेलु् मैदानमा नै तीन हार भोगिसकेको अवस्था छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाई पनि घरेलु मैदानको फाइदा उठाउन नसकेको स्विकार्दछन् । उनी पनि नेपालको लगातार हारबाट रणनीतिक परिवर्तनको सोचमा पुगिसकेको अवस्था छ ।

फर्ममा गिरावट
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालको लगातार तेस्रो हारको प्रशिक्षक क्रिकेट पण्डितहरुले पनि विश्लेषण गरेको हुनुपर्छ । उसो त क्रिकेट खेल आफैमा उतार–चढाव र प्रदर्शनमा परिवर्तन भइरहने खेल हो । टिमका खेलाडीमा सामान्य फिटनेसले वा मनोभावनाको असरले पनि खेलाडीले चाहेजस्तो निरन्तर प्रदर्शन गर्न संघर्ष गर्नुपर्ने हुन्छ । यतिबेला भने नेपालको टिमको फर्ममा गिरावटको अनुभव गर्न सकिन्छ । अनुशासन खेलाडीका लागि पहिलो सर्त हो । डाइट, समयमा सुत्ने, नियमित अभ्यास गर्ने विषयलाई खेलाडीले नेपालको आन्तरिक कारण देखाएर उम्कन सक्दैन । त्यसैगरी खेलाडीले ठूलो सपना देखेको छैन भने पनि प्रदर्शनमा उचारचढाव आइरहन्छ ।

बलियो विपक्षी : आईसीसी क्रिकेट विश्वकप लिग–२ मा सहभागी टोलीहरू प्रतिस्पर्धात्मक छन् । सबै टोलीको प्रतिस्पर्धाको स्तर उच्च रहेकाले पनि नेपाली टिमको मनोबल उच्च हुन आवश्यक छ । यसका लागि पनि जितको मानसिकता सिर्जना गर्नुपर्ने हुन्छ । पछिल्लो समय विपक्षीका केही खेलाडीले असाधारण राम्रो प्रदर्शन गरेकाले पनि नेपालले जित कुर्नुपरिरहेको छ । नेपाली टिममा अब रुपान्तरण तथा सफलतामा कोचको पनि आवश्यकता छ । जसका कारण खेलाडीमा जितको मानसिकता विकास होस् । यसअघिका कतिपय खेलमा नेपालले कमब्याक गरेको अवस्था थियो ।

टोली गतिशीलता : आन्तरिक टोली गतिशीलताले टोलीको प्रदर्शनमा ठूलो भूमिका खेल्छ । चोटपटक, टोलीभित्र असहमति वा कोचिङ स्टाफमा परिवर्तन जस्ता मुद्दाहरूले टोलीको एकता र मैदानमा प्रदर्शनलाई असर गर्छ । यस्ता विषयमा पनि क्यानले ध्यान दिएको पाइँदैन । परम्परागत सोचबाट पर हटेर यी विषयलाई समेत विशेष प्राथमिकता दिनुपर्ने हुन्छ । राष्ट्रिय टिमका खेलाडीको साथी संगतिले पनि असर गर्दछ ।

तयारी र रणनीति : क्रिकेटमा सफलताको लागि पर्याप्त तयारी र रणनीतिक योजना आवश्यक छ । नेपालको लगातार हारका कारण विपक्षीहरूले खडा गरेका चुनौतीहरूलाई अझ राम्रोसँग अनुकूलन गर्न सक्नेगरी तयारी गर्न आवश्यक देखिन्छ । तयारी विधि र रणनीति पुनः मूल्यांकन गर्न आवश्यक भएको हो कि भन्ने विषयमा समेत विश्लेषण गरेर अगाडि बढ्ने बेला भएको छ । मुख्य प्रशिक्षक देसाइले पनि अब सबै टिम बलियो हुने भएकाले तयारीमा विशेष फोकस गर्नुपर्ने बताइरहेका छन् ।

तालिम र विकास : कमजोरीहरू पहिचान गरिसकेपछि नेपालले लक्षित तालिम सत्र र विकास कार्यक्रमहरू मार्फत् तिनीहरूलाई सम्बोधन गर्न केन्द्रित हुनुपर्छ । यसले विशिष्ट कौशल, फिटनेस स्तर र मानसिक लचिलोपनमा काम गर्नुपर्ने देखिन्छ । कतिपय खेलाडीमा मानसिक तनावसमेत भएको हुनसक्छ । यसको समेत व्यवस्थापन गर्नपर्छ । विकास निरन्तर हुने प्रक्रिया हो । त्यसैले आजको भोलि नतिजा निस्कँदैन । त्यसका लागि निन्तरताको आवश्यकता रहन्छ ।

रणनीतिक योजना : नेपालले आफ्ना विपक्षीको बलियो पक्ष र कमजोरीलाई ध्यानमा राखी आगामी खेलका लागि स्पष्ट रणनीति बनाउनु पर्छ । त्यसका लागि विपक्षीका खेलहरुलाई नियमित हेर्ने उनीहरुको स्तर मूल्यांकन गर्ने, कमजोरी पहिचान गर्ने र त्यसको फाइदा उठाउने गरी रणनीति तय गर्नुपर्छ । त्यसमा खेलाडीको समेत महत्वपूर्ण भूमिका हुन्छ । यसमा ब्याटिङ, बलिङ र फिल्डिङका लागि रणनीतिक योजनाहरूका साथै अन्य आकस्मिक योजनाहरू तय गर्नुपर्छ ।

टोली मनोबल र एकता : टोलीको लागि उच्च मनोबल र बलियो टोली एकता कायम राख्नुपर्ने हुन्छ । नेपाली टोलीमा कहिलेकाही खेलाडीबीच मनमुटावको अवस्था सिर्जना भएको देखिन्छ । जसका कारण पनि खेल प्रदर्शनमा कमजोरी हुने स्पष्ट हुन्छ । सकारात्मक टोली संस्कृतिको निर्माण र खेलाडीहरूबीच बलियो सम्बन्ध बनाएर मैदानमा प्रदर्शन सुधार गर्न टिम निर्माणका प्रशिक्षणमा समेत ध्यान केन्द्रीत गर्नुपर्छ ।

हारबाट सिक्ने : प्रत्येक हारले सिक्ने र विकासको लागि अवसर प्रदान गरेको हुन्छ । हारबाट नै सिक्न सक्ने भएकाले त्यसलाई मसिनोगरी विश्लेषण गर्ने क्षमता राख्नुपर्छ । हार्दा निरास हुने जित्दा उन्माद देखाउने गर्नुहुँदैन । नेपालमा त सरकारले पनि यस्तै गर्छ । हार्दा केही थाहा नपाएजस्तो गर्छ । जित्दा आवश्यक भन्दा बढी प्रशंसा गर्ने तर त्यसलाई स्थायी बनाउन लगानी, रणनीति नीति तय भने नगर्ने रोगलाई सरकारले डाइलोसिस गर्नुपर्छ । के गल्ती भयो र भविष्यका खेलहरूमा कसरी सुधार गर्न सकिन्छ भनेर नेपालले आफ्नो हारको विश्लेषण गरोस् र आगामी दिनमा मन जित्ने प्रदर्शन गरोस् ।

तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
६५ प्रतिशत मत खस्यो