जसले हजार सपना छोडेर गए

काठमाडौं । अग्रज गायक तथा संगीतकार भक्तराज आचार्य हामीमाझ रहेनन् । उनको सोमबार अपराह्न ८२ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको भैंसेपाटीमा बस्दै आएका आचार्यलाई दम बढेपछि ललितपुरको मेडिसिटी अस्पताल लगिएको थियो । तर, बाटोमै निधन भएको उनका परिवारले जनाएका छन् । उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् ।

‘लामो समयदेखि श्वासप्रश्वासको समस्या भोगिरहनु भएका उहाँलाई अपराह्न साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरुपराज र मैले मेडिसिटी अस्पताल लैजाँदै थियौं । सो क्रममा उहाँको बाटोमै निधन भयो,’ संगीतकार हरि लम्सालले भने ।

भजन शिरोमणिको उपाधि पाएका गायक आचार्य गत दसैंमा लडेर घाइते भएका थिए । जसका कारण उनको टाउकोमा चोट लागेको थियो । त्यसपछि घरमै आराम गर्दै आएका उनी लामो समयदेखि दूध मात्र पिएर बाँचिरहेका थिए ।

१९९९ सालमा धनकुटामा जन्मिएका आचार्यको बाल्यकाल भारतको डुम्सीपाडामा बितेको थियो । धनकुटामा रोगको महामारी फैलिएपछि आचार्य परिवार त्यहाँबाट भारतको डुम्सीपाडामा बसाइँ सरेका थिए । भक्तराजले बाल्यकालमै बुबालाई गुमाए । त्यसपछि उनको परिवारमा झनै आर्थिक समस्या आएको थियो । तथापि, आमाले चिया बगानमा मजदुरी गरेर उनलाई हुर्काएकी थिइन् । त्यतिबेला उनी आमासँग चिया बगानमा रमाउँदै गीतहरू गाउँथे । यहाँसम्मकी उनले अध्ययनभन्दा गायनमा आफ्नो समय खर्चिन थाले ।

साथीहरूले स्वरको प्रशंसा गरेपछि भक्तराजले गायक बन्ने सपना देख्न थाले । तर, त्यहाँ बसेर गायक बन्ने उनको सपना पूरा हुने अवस्था थिएन । पढाइभन्दा विभिन्न सांगीतिक कार्यक्रममा उनको लगाब बढेपछि आमाले पनि नाई भन्न सक्ने अवस्था आएन । त्यसबेला नेपाली संगीतवृत्तमा नारायण गोपाल चर्चामा थिए । भक्तराजलाई पनि उनका गीत मन पथ्र्यो । त्यसपछि गायक बन्नकै लागि उनी काठमाडौं छिरेका थिए ।

काठमाडौं आउँदा उनीसँग हार्मोनियम, एउटा टिनको बाकस, केही कपडा र पुस्तक थिए । केही वर्ष काठमाडौं बसेर संघर्ष गर्दा पनि गाउने अवसर नपाएपछि उनी फेरि डुम्सीपाडा फर्कनुपरेको थियो । तर, उनको मन ठाउँमा अडिएन । गाउँ फर्केर दिदीसँग बस्दै आएका उनको दिदीसँगै ठाकठुक भएपछि फेरि गायक बन्ने हुटहुटीले काठमाडौं आए ।

उनी काठमाडौमा संघर्ष गरिरहेका बेला २०३० सालमा रेडियो नेपालले देशव्यापी गायन प्रतियोगिता आयोजना गरेको थियो । उनी सो प्रतियोगितामा उत्कृष्ट भए । स्वर्णपदक पनि जिते । तर पछि आर्थिक अभावमा उनले ६०० रुपैयाँमा स्वर्णपदक समेत बेच्नुपरेको थियो ।

तर, सधंै समय खराब हुँदैन । उनले त्यसपछि रेडियो नेपालमा नै करारमा जागिर पाए । यसपछि उनले रेडियो नेपालदेखि राजदबारसम्म गीत गाउने अवसर पाए । सोही क्रममा उनले ‘माया मेरी साँझ बनी डोली चढी आउँछिन्…’ गीत गाए । यो गीतले उनलाई गायकका रूपमा केही परिचय दियो ।

यसपछि दाम्पत्य जीवनमा बाँधिएका उनले एकपछि अर्को गीत गाए । सोही क्रममा भक्तराजले ‘जति चोट दिन्छौ देऊ मायालु, मुटुभित्र साँचेर राख्ने छु…’ गीत गाए । यो गीतबाट उनी निकै लोकप्रिय भए । त्यसपछि भक्तराजको गायन यात्रा चुलिँदै गयो । गीत गाउँदै जाने क्रममा एउटा घटनाको सिकार भए । एक साँझ गुलाम अलीको गीत सुनेर घर फर्किने क्रममा सांघातिक हमलामा परेका भक्तराजले सो घटनापछि जेनतेन ठिक हुँदै गए । तर, सोही क्रममा उनको जिब्रोमा समस्या देखियो । पछि जिब्रोमा क्यान्सर भएको चिकित्सकले घोषणा गरेपछि उनले जिब्रो काट्नुप¥यो । यसपछि उनको गायन यात्रामा पूर्णविराम लाग्यो ।

उनले गाउन नसकेपछि दुई होनहार छोराहरू सत्यराज आचार्य र स्वरुपराज आचार्य बिस्तारै गायनमा आए । सत्यस्वरुप आज नेपाली सुगम संगीतमा लोकप्रिय कलाकारका रूपमा परिचित छन् । यस्ता दुई होनहार गायकका बुबा एवं तिनै गायक संगीतकार भजन शिरोमणि आचार्यको आइतबार दमको समस्याका कारण निधन भयो ।

आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी भइरहेको सो प्रतिष्ठानका परिषद् सदस्य चेतन सापकोटाले जनाएका छन् ।

गायक आचार्यका ‘मुटु जलिरहेछ’, ‘जति चोट दिन्छौ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरूको’, ‘माया मेरी साँझ बिहान’, ‘हजार आँखा हेर्ने’लगायत थुप्रै गीतहरू लोकप्रिय छन् । उनी भजनमा पनि त्यत्तिकै पोख्त थिए । गायक आचार्यले दर्जनौंको संख्यामा भजनहरू गाएका छन् । आचार्यले करिब ४०० वटा गीतमा स्वर तथा संगीत दिएको उनका छोरा स्वरुपले जनाएका छन् । उनको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पनि बनेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा रेणु दाहाल ९२ मतले अगाडी