प्रकोप व्यवस्थापन र सुरक्षा

सामान्यतया प्रकृतिमा आउने विनासकारी हलचल, रोग, महामारीलाई प्रकोप भनिन्छ । प्राकृतिक प्रकोप पनि विभिन्न प्रकारका हुन्छन् जस्तो आँधीबेहरी, बाढी पहिरो, भूकम्प, रोग र महामारी आदि । मानिसको नियन्त्रणभन्दा बाहिर हुने भएकोले प्रकोपबाट बच्न अपनाउनुपर्ने सावधानी नै प्रकोप न्यूनीकरणको सर्वोत्तम उपाय हो । भूकम्प र बाढीको प्रकोपलाई केही वर्ष अगाडि मात्रै हामीले बेहोरिसकेका छौं । अहिले आएर कोरोना भाइरसको संक्रमणसँग लड्दै छौं । प्रकोपको जोखिमबाट बच्न वा क्षतिलाई न्यूनीकरण गर्न प्रकोपको प्रकृतिअनुसार हामीले के–कस्तो सावधानी अनाउन जरुरी छ भन्ने कुरा सबैमा जानकारी हुनु आवश्यक छ ।

२०७२ सालमा गएको महाभूकम्पको धङधङी अझै पनि हामीमा छ । भूकम्पले भत्काएका भौतिक संरचनाको निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । भूकम्पलाई नियन्त्रण गर्न नसकिए पनि हामी सचेत भयौं भने यसको असर भने कम गर्न सकिन्छ भन्ने शिक्षा हामीले पाइसकेका छौं । विनाशकारी भूकम्पको असर कम पार्न सर्वसाधारण नागरिक सबै सचेत भइसकेका छन् । भूकम्प प्रतिरोधात्मक घर बनाउने अग्लो घर नबनाउने, घर बनाउँदा गुणस्तरीय सामग्रीको प्रयोग गर्ने प्राविधिज्ञको सहयोग लिने सम्भव भएसम्म घर कम्पाउन्डभित्रै खाली जग्गा राख्ने, उपलब्ध भएसम्म गाउँ टोलमा सार्वजनिक स्थल छुट्याउने, भूकम्प आइरहेको बेला घरको मजबुद स्थलको आड लाग्ने, नभाग्ने भूकम्प रोकिनासाथ नजिकको खाली स्थानमा पुग्ने, सुत्ने कोठाको भित्रपट्टि गरुंगो चिजवस्तु नराख्ने आधारभूत मान्यतालाई पालन गरिए भूकम्पको क्षतिलाई हामी कम गर्न सक्छौं । यो कुरा सबै नेपालीले महसुस गरिसकेका छन् । भूकम्पको सन्दर्भमा अपनाउनुपर्ने सावधानी यही नै हो ।

मानिसको नियन्त्रणभन्दा बाहिर हुने भएकाले प्रकोपबाट बच्न अपनाउनुपर्ने सावधानी नै प्रकोप न्यूनीकरणको सर्वोत्तम उपाय हो

यसैगरी गएको पुस महिनामा चीनको वुहान राज्यमा देखापरेको कोरोना भाइरसको संक्रमणले विश्वलाई नै आतंकित बनायो । चीनमा देखापरेको यो महामारी केवल तीन महिनाको समयमै विश्वका दुई सय छ मुलुकमा फैलियो । विश्वका करिब चौध लाख जनतामा फैलिएको कोरोना भाइरसले करिब पचहतर हजारको ज्यान लिइसकेको छ भने यो संख्या अझै बढ्दै छ । छोटो समयमा विश्वलाई नै प्रभावित बनाउने कोरोना भाइरस सम्भवतः अहिलेसम्मकै सबैभन्दा घातक महामारी हो । यस संक्रमणविरुद्ध लड्न विश्वका सबै राष्ट्रहरूले नै एकजुट हुनुप¥यो । संक्रमित व्यक्तिको संसर्गबाट सहजै रूपमा सर्दै जाने यो भाइरसबाट बच्ने उपाय भनेको संक्रमितबाट अलगिने, सरसफाइमा विशेष ध्यान दिने, भीडभाड र सार्वजनिक स्थलमा नजाने, आफ्नै घर कम्पाउन्डभित्रै सीमित रहने तथा अत्यावश्यक कार्य परी बाहिर निस्कँदा गगल्स, पन्जा र सुरक्षात्मक मास्क प्रयोग गर्नु नै हो । संक्रमणको आशंका भए चिकित्सककहाँ पुगिहाल्ने, आइसोलेसनमा रहने यसको सुरक्षाको क्रममा अपनाउनुपर्ने मुख्य उपाय हुन् ।

बाढी पहिरोबाहेक अन्य प्रकोपको कुनै अग्रिम संकेत हुँदैन । प्रकोप सधैं अप्रत्यासित रूपमै आउनेगर्छ । यसर्थ, यसको सम्भाव्यतालाई दृष्टिगत गरी सधैं सावधानी अपनाउँदै जाने हो भने यसको असरबाट बच्न सकिन्छ । प्रकोपको सन्दर्भमा हामीले सधैं तीन कुराहरूलाई विशेष ध्यान पु-याउनुपर्छ । पहिलो हो अग्रिम सावधानी अपनाउने । दोस्रो प्रकोप व्यवस्थापनमा ख्याल राख्ने कुरा । यसैगरी तेस्रो हो सुरक्षात्मक उपाय अपनाउने । भूकम्प र महामारीको सन्दर्भमा अपनाउनुपर्ने अग्रिम सावधानी माथि उल्लेख गरिएको छ । बाढी पहिरो पनि प्राकृतिक प्रकोपमै पर्ने भए पनि यसको अग्रिम लक्षण भने पाउन सकिने भएकोले होसियारी अपनाए यसको प्रभावबाट बच्न सकिन्छ । सामुद्रिक तटसँग जोडिएका देशले प्रायजसो समुद्री आँधीबेहरीको सामना गरिरहनुपर्छ भने भूपरिवेष्ठित मुलुकले भने बाढी पहिरोको सामना गर्नुपर्ने कुरा सर्वविदितै छ । पछिल्लो समयमा हाम्रो मुलुकले पनि सालिन्दा बाढी पहिरोको प्रकोप बेहोर्नुपरिरहेको छ । अविरल वर्षाको कारण भूक्षय हुने वा पहिरो जाने, नदी कटानमा परिने, नदीको डुबानमा परिने तथा नदीले आफ्नो बहाव नै परिवर्तन गर्दा ठूलो धनजनको नोक्सान हुने र बाढीको विनाश सहन बाध्य हुनुपर्ने अवस्था सिर्जना हुँदै आएको छ । हाम्रो परिप्रेक्ष्यमा वनजंगलको विनाश र ढुंगा, बालुवा, गिटीको जथाभाबी हुने उत्खनन् बाढीपहिरोको प्रमुख कारण बन्दै छ ।

सालिन्दा बढ्दो अवस्थामा रहेको बाढी पहिरोको प्रकोप रोकथामका लागि हामी सचेत बन्न सकेका छैनौं । नदी किनारको बसोबास त्यसै पनि जोखिमयुक्त हुन्छ भन्ने कुरा सबैलाई थाहा छ । सकेसम्म यस्तो जोखिमयुक्त ठाउँमा स्थायी बसोबास गर्नुहुँदैन । बस्नु परिहाले नदीको उद्गम स्थलको दूरी, नदीमा मिसिँदै आउने सहायक नदी नाला र खोल्साको अवस्था तथा त्यस क्षेत्रमा नियमित रूपमा हुने वर्षाको मात्रा, आसपासको वनजंगलको स्वरूप तथा जमिनी अवस्था एवं पहिरोको जोखिमसमेतलाई ध्यानमा राखी बसोबास गरिए वर्षायाममा हामी होसियार बन्न सक्छौं । अविरल वर्षा भइरहे सम्भावित खतराका ’boutमा अग्रिम सावधानी अपनाउन सकिन्छ । यसैगरी महामारीको संक्रमणबाट हालै हामीले अपनाउँदै आएको सावधानी त सबैले महसुस गरेकै छ । यस्तै प्रकोपको अवस्थामा व्यवस्थापन पक्षको महŒव अत्यन्त उच्च हुन्छ ।

कोरोना संक्रमण नियन्त्रण गर्ने क्रममा सरकारले अपनाएको हालैको सुरक्षा व्यवस्थालाई कडाइका साथ पालना गर्नुपर्छ

सामान्यतया प्रकोप व्यवस्थापन भन्नाले प्रकोपको समस्यालाई उपयुक्त ढंगले समाधान गर्ने व्यवस्था भन्ने बुझिन्छ । यस क्रममा निर्धारित विधिअनुसारै आवश्यक प्रबन्ध मिलाइन्छ । तर, प्रकोप व्यवस्थापनमा निर्धारित विधि मात्र पर्याप्त नभए वा निर्धारित विधिले व्यवस्थापन पक्षलाई सम्बोधन गर्न नसके धनजनको रक्षार्थ जस्तोसुकै कार्य गर्न पनि पछि पर्नुहुँदैन । यस्तो चुनौतीपूर्ण अवस्थामा हामीले विधि वा ऐन नियमको परिधिभित्र सीमित रहनेभन्दा विचल्लीमा परेका नागरिकको सुरक्षालाई बढी महŒव दिनुपर्ने हुन्छ । प्रकोप व्यवस्थापन भन्नासाथ प्रकोपबाट ग्रसित भइरहेको अवस्थालाई जनाउँछ । प्रकोपबाट बच्न अपनाउनुपर्ने सावधानी र सजगताको चरण समाप्त भएपछि नै प्रकोपको चरण प्रारम्भ हुने भएकोले यस चरणमा गर्नुपर्ने व्यवस्थापन पक्षको सबै दायित्व राज्यप्रशासनमा रहने भए पनि सर्वसाधारणलगायत नागरिक समाज सबैको आआफ्नातर्फबाट हुने सुरक्षात्मक कार्य कम महŒवपूर्ण हुँदैन । प्रकोप प्रभावितलाई तत्कालै सुरक्षित स्थानमा पु¥याउने, घाइते वा बिरामी परेकालाई चिकित्सकीय सेवा तत्कालै प्रदान गर्ने, लुगा कपडालगायत खाने बस्नेको व्यवस्था मिलाउने कार्यमा सबैले आ–आफ्नातर्फबाट साथ सहयोग पु-याउनुपर्छ । यो अवस्थामा सरकारको मात्र भर पर्नुहुँदैन । तर, परिस्थितिअनुसार कस्तो व्यवस्थापन पक्ष पं्रभावकारी हुन्छ र त्यसलाई तत्कालै कार्यान्वयन गर्ने कस्तो नीति निर्धारण गर्नुपर्छ ? भन्ने कुरा लागू गर्ने निकाय भनेको सरकार नै हो । यो अवस्थामा सरकारमा रहेका पदाधिकारीले अपनाउने विवेकपूर्ण कार्य प्रकोप व्यवस्थापनको कोसेढुंगा ठहरिन्छ ।

कोरोना भाइरसको संक्रमण रोकथामका निम्ति सरकार र नागरिक दुवै पक्षबाट हालै गरिएको व्यवस्थापन समष्टिगत रूपमा उत्कृष्ट छ । तथापि यसमा सानातिना त्रुटिहरू पनि नभएको होइन । एकै साथ विश्वव्यापी रूप लिएको यो संक्रमणको अवस्थामा अन्य विकसित देशले गरेको व्यवस्थापन कार्यलाई हामीले अनुशरण गर्ने अवसर पाएको कारण पनि हामीले यसको भयावह अवस्थालाई बेहोर्नुपरेको छैन तर अझै पनि ढुक्क हुने अवस्था छैन । यो हामी सबै नेपालीकै लागि खुसी र गौरवको विषय हो । हाम्रो स्थानीय स्रोतसाधन मात्रै यसको व्यवस्थापन पक्षमा पर्याप्त नभएको सर्वविदित छ । सरकारले जारी गरेको लकडाउनको निर्देशनपालन गरेर आमनागरिकले पनि आफ्नो कर्तव्य पूरा गर्दै आएका छन् । चिकित्सकका लागि अत्यावश्यक ठानिने सुरक्षात्मक सामग्रीको व्यवस्था पनि सरकारले मिलाउँदै छ । लकडाउनमा रहेका नागरिकको लागि अत्यावश्यक मानिने दैनिक उपभोग्य वस्तु सहज रूपमा निरन्तर आपूर्ति गराउने कार्यमा भने सरकारको व्यवस्थापन पक्ष कमजोर देखियो ।

अर्कोतर्फ संक्रमित मुलुकबाट स्वदेश फर्किएका नागरिकको व्यवस्थापनको दायित्व सरकारै हुने भए पनि के–कुन मुलुकबाट कुन–कुन दिन के–कुन एयरलाइन्सको कुन फ्लाइटबाट के कति नागरिक स्वदेश भित्रिए ? उनीहरूको स्थायी बसोबास स्थल र हालैको बसोबास स्थल कुन हो ? सो विवरणसहितको नाम थर र सम्पर्क फोन नम्बरसमेतको अभिलेख विमानस्थलमै राख्नुपर्ने कार्यमा समयमै सरकारले ध्यान पु-याएन । यो सरकारको व्यवस्थापन पक्षको सबैभन्दा ठूलो कमजोरी हो ।

व्यवस्थापन पक्षमा देखिएको अर्को गम्भीर त्रुटि दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि नियन्त्रण नहुनु हो । लकडाउनमा रहेका नेपालीले त्यसै पनि खाद्यान्नको समस्या झेल्नुपरिरहेको छ । सरकारको व्यवस्थापनको पक्ष कमजोर हुँदा यो समयमा कालोबजारीले सीमा नाघ्यो । उपभोक्ताले सामान्य अवस्थाको तुलनामा दुई, तीन सय गुणा बढी मूल्यमा सामान खरिद गर्ने अवस्था सिर्जना भयो । ज्याला मजदुरीमा जीविकोपार्जन गर्दै आउने निम्नवर्गको आम्दानीको स्रोत बन्द भएको अवस्थामा आकासिएको मूल्य वृद्धिले थप आक्रान्त बनायो । तर, सरकारी पक्षले भने यसलाई प्रचारात्मक अभियानकै रूपमा लिए पनि खाद्यान्न व्यवस्थित गर्न र मूल्य वृद्धि नियन्त्रण गर्न सकेन ।

व्यवसथापन पक्षमा देखिएको अर्को कमजोरी सामान्य अवस्थाकै बिरामीलाई पनि कोरोना संक्रमितकै नजरले हेरियो । प्रसूति वेदनाले छटपटाइरहेकी महिलाकै उपचार गर्न कतिपय चिकित्सक हच्किए । ज्यान जोखिममा राखी अहोरात्र चिकित्सा सेवामा समर्पित रहँदै आएका चिकित्सकका लागि अत्यावश्यक सुरक्षात्मक सामग्रीको अटुट व्यवस्था मिलाइ चिकित्सकको मनोबल उच्च गराउन सरकार सक्षम देखिएन । यसैको प्रभावले सर्वसाधारण बिरामीले पनि थप कष्टप्रद जीवन बिताउन बाध्य हुनुप¥यो । व्यवस्थापन पक्षमा देखिएका यस्ता कमजोरी भविष्यमा आइलाग्न सक्ने अन्य सबै खाले प्रकोपमा नदेखिऊन भन्नका लागि सरकारले सावधानी अपनाउन जरुरी छ ।

यसैगरी प्रकोपको समयमा सबैले ध्यान पु¥याउनुपर्ने अर्को महŒवपूर्ण कुरा सुरक्षा हो । प्रकोपको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा व्यवस्थाका दुई चरण हुन्छन् । पहिलो प्रकोप आउनुपूर्व रोकथामका लागि अपनाउनुपर्ने सावधानी वा सुरक्षा हो भने अर्को प्रकोपको समयमा अपनाउनुपर्ने सुरक्षा ? सावधानीको क्रमको सुरक्षा व्यवस्थाका ’boutमा माथि उल्लेख भइसकेको हुँदा यहाँ प्रकोपको समयमा अपनाउनुपर्ने सुरक्षाका सम्बन्धमा उल्लेख गरिन्छ । प्रकोपको प्रकृति र असरको ’boutमा पूर्वअनुमान गर्न सकिँदैन । प्रकोप देखा पर्नासाथ असर कम पार्न र नियन्त्रण गर्न उतिखेरै कार्ययोजना तर्जुमा गर्नुपर्ने हुन्छ । यस क्रममा सुरक्षा व्यवस्था सुदृढ भएन भने प्रकोपले महामारीको रूप लिन सक्छ । कतिपय अवस्थामा कानुनको परिधिबाहिरको प्रभावकारी आकस्मिक योजना लागू गर्नुपर्ने अवस्था पनि आउने भएकोले सुरक्षाकर्मीले पनि संयमता अपनाई बुद्धिमतापूर्ण ढंगले कार्य गर्नुपर्ने हुन्छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने क्रममा सरकारले अपनाएको हालैको सुरक्षा व्यवस्थाका ’boutमा हामी जानकार छौं । संक्रमित व्यक्तिको संसर्गबाट सहजै अर्कोमा सार्ने भएकोले स्थल र हवाई यातायातमा लगाइएको रोकलाई, पूर्णरूपमा पालना गराउनु, मुलुकको सीमा क्षेत्रको नाकामा आवागमन बन्द गर्न अपनाइएको सुरक्षा तैनाथी तथा लकडाउनको समयमा घरमै बसेका, आइसोलेसनमा रहेका र उपचारको क्रममा रहेका संक्रमित समेतको सुरक्षार्थ अपनाइएको व्यवस्था निश्चय नै प्रशंसनीय रहँदै आएको छ ।

आमनागरिक संक्रमणबाट जोगिऊन् भन्ने उद्देश्यले मिलाइएको सुरक्षा व्यवस्थाको अतिरिक्त स्वास्थ्य सेवामा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षा, स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सुरक्षात्मक सामग्री, संक्रमितको लागि आवश्यक पर्ने औषधोपचार समेतका कार्यहरू सुरक्षा कार्यभित्र पर्ने भएकाले प्रकोप र महामारीको अवस्थामा पु¥याउनुपर्ने सुरक्षाको क्षेत्र व्यापक हुन्छ । बाढी पहिरो, आँधिबेहरी र भूकम्पको समयमा मिलाउनुपर्ने सुरक्षा व्यवस्था सामान्यतया उस्तै हुने भए पनि प्राकृतिक प्रकोपको सुरक्षा व्यवस्था भने प्रकोपको चरण समाप्त भएपछि नै प्रारम्भ हुने भएको कुरा सर्वविदितै छ । यस क्रममा अपनाउनुपर्ने घाइते वा पीडितको उद्धार, औषधिउपचारको व्यवस्था, बिचल्लीमा परेका प्रभावित व्यक्तिको उद्धार, उनीहरूको लागि आवश्यक पर्ने खाने, बस्ने स्थानको व्यवस्था, पुनः प्रकोप देखापर्न सक्ने अवस्था भए सर्वसाधारणलाई सुरक्षित बनाउने आवश्यक व्यवस्था तथा प्रकोप पीडितको धनजनको सुरक्षासमेतको कार्य गर्नुपर्ने भएकोले प्रकोपको चरण पु¥याउनुपर्ने सुरक्षा व्यवस्था प्रभावकारी र भरपर्दो हुनुपर्छ ।

हामीले सावधानी अपनायौं भने प्रकोपबाट जोगिन सक्छौं भन्ने कुरा सबैले महसुस गर्दै आएका छौं । कोरोना संक्रमणको प्रकोप पूर्णरूपमा नियन्त्रण नभएसम्म हामीले सजगतालाई निरन्तरता दिनैपर्छ । प्रकोपको अवस्थामा नआत्तिई पूर्णसुझबुझका साथ कार्य गरिए आफू र परिवारका सदस्यलाई प्रकोपमुक्त राख्न सकिन्छ । सरकार एवं विज्ञले दिने निर्देशन र सुझाबलाई अक्षरशः पालन गर्नुपर्छ आवश्यक पर्दा सुरक्षाकर्मीको साथ सहयोग लिनुपर्छ । नागरिकले पूरा गर्नुपर्ने यो दायित्वबाट हामी सबै पछि हट्नुहुँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 2,858 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
विवेकशील साझाले भन्याे : हामी अत्यन्तै दुःखी छाैँ