काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको पाँचौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको पहिलो दिन ३–अन्डर ६५ को स्कोरमा भेट्रान प्रो रामे मगर शीर्षस्थानमा रहेका छन् ।
रामेले एमेच्योर युवा गल्फर तथा डिफेन्डिङ च्याम्पियन सद्भाव आचार्यलाई एक स्ट्रोकले पछि पारे । २–अन्डर ६६ सहित सद्भाव आचार्य दोस्रो स्थानमा रहँदा १–अन्डर ६७ सहित भुवन नगरकोटी र धनबहादुर थापा संयुक्त रूपमा तेस्रो स्थानमा रहे । इभन–पार ६८ खेलेका टंकबहादुर कार्की पाँचौं र १–ओभर ६९ सहित रवि खड्का छैटौं स्थानमा छन् ।
२–ओभर ७० को स्कोरमा पहिलो दिनको खेल सकाएका रमेश अधिकारी, सूर्यप्रसाद शर्मा र दिनेश प्रजापतिले संयुक्त रूपमा सातौं स्थानमा रहेका छन् । यसैगरी, पशुपति शर्मा, जयराम श्रेष्ठ, दीपक मगर, तोरणविक्रम शाही तथा एमेच्योर गल्फरद्वय राहुल बिके र टासी छिरिङले ३–ओभर ७१ को नतिजामा संयुक्त रूपमा १०औं स्थान बाँडे ।
लामो समयपछि शीषस्थानमा रहन सफल रामेले उत्कृष्ट प्रदर्शनमा फ्रन्ट नाइन ३–अन्डर ३१ मा पूरा गरे । उनले पहिलो, दोस्रो र चौथो होलमा बर्डी प्रहार गरे । ब्याक नाइनमा पनि १०औं, १२औं र १३औं होलमा एक–एक सट बचाउँदा ६–अन्डरको स्थितिमा पुगिसकेका थिए । तर, ४–पारको १६औं होलमा डबल बोगी र १८औं होलको बोगीले ब्याक नाइन इभन–पार ३४ मा सकाए ।
राष्ट्रिय टिमका सदस्य एमेच्योर गल्फर सद्भावले फ्रन्ट नाइनमा ३–अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गरे । छैंटौं होलको बोगीविरुद्ध चार बर्डी प्रहार गरे । उनले पहिलो, दोस्रो, सातौं र आठौं होलमा एक–एक सट बचाए । ब्याक नाइनमा तीन बर्डी र चार बोगी प्रहार गरे । ११औं, १३औं र १६औं होलमा बर्डी प्रहार गरे पनि १२औं, १४औं, १५औं र १७औं होलमा एक–एक सट खेर फाल्दा ब्याक नाइन १–ओभर ३५ मा पूरा गर्न बाध्य भए ।
सिजनको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन विजेता भुवनले चौथो र पाँचांै होलको बर्डीको सहायताले फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए । यसपछि १०औं होलमा एक सट बचाए भने १३औं र १६औं होलको बोगीले ब्याक नाइन १–ओभर ३५ मा पूरा गरे ।
धनले सुरुवात राम्रो गर्न सकेनन् । दोस्रो, पाँचांै र सातौं होलमा बोगी खेप्दा नवौं होलको बर्डीले फ्रन्ट नाइन २–ओभर ३६ मा सकाए । ब्याक नाइनमा भने लय समाते । १०औं, ११औं, १३औं र १५औं होलमा बर्डीको सफलता प्राप्त गरे भने १७औं होलको बोगीले ब्याक नाइन ३–अन्डर ३१ मा पूरा गरे ।
चारदिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ११ एमेच्योर खेलाडीको सहभागिता रहेको छ । ३६ होलको समाप्तिमा कट लागू हुनेछ । जहाँ उत्कृष्ट २१ खेलाडीले तेस्रो र चौथो दिनका लागि स्थान सुरक्षित गर्नेछन् । एमेच्योर खेलाडीको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्नेछ ।
कुल ५ लाख ७२ हजार २ सय ५० नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुने खेलाडीरूले क्रमश ६७ हजार र ४८ हजार हात पार्नेछन् । यसैगरी चौथो हुनेलाई ४० हजार र पाँचौं हुनेलाई ३६ हजार प्रदान गरिनेछ । कट बनाउने २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।






