डढेलो बस्तीमा पस्दा दिप्रुङ चुईचुम्मामा लाखौंको क्षति

खोटाङ । जंगलमा लागेको डढेलोले खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे खिसाकामा एक घर, तीन मतान र एक गोठ जलेको छ । स्थानीय डुगुरडुम सामुदायीक बनमा लागेको डढेलोले बुधबार जीवन राईको घर र मतान, सुवास राईको मतान र गोठ तथा ताराकुमार राईको मतान जलेको हो ।

आगलागीमा सुवासको मतानसँगै मतानमा राखिएको नगद ७५ हजार, चार तोला सुन, तीन तोला चाँदी, १० मुरी मकै, पाँच वटा खसी, दुई वटा बाछा लगायत जल्दा १५ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी प्रहरी निरिक्षक बेनु कार्कीले जानकारी दिए । सुवासकै घरमा राखिएको नवसंस्कृति युवा समाजको दुई लाख बराबरको भाँडा वर्तन समेत नष्ट भएको छ । उनको मुल घरलाई भने आगो लाग्नबाट बचाइएको छ ।

यस्तै, जीवनको घरसँगै भाँडावर्तन, सात मुरी धान, सात मुरी कोदो, पाँच मुरी मकै, नगद १५ हजार लगायत जल्दा पाँच लाख बराबरको क्षती भएको छ । ताराकुमारको मतान सहित दुई वटा खसी जल्दा ५० हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ । अन्य घरलाई स्थानीयले छानोमा बसेर आगोबाट जोगाएका थिए ।

गाउँको चारैतिर फैलिएको सामुदायीक वनमा डढेलो लाग्दा खिसाका र ढाँडे वस्तीमा दिनभर तनाव भएको थियो । साँझ परेपछि हवारातिर डढेलो फैलिँदै गएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पिएस्पी चाम्लिङले बताए । अस्थायी प्रहरीचौकी भँडारेघाट, प्रहरीचौकी दिप्रुङ चुईचुम्माबाट खटिएका प्रहरी, गाउँ प्रहरी र स्थानीयले डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

epaper

ताजा समाचार

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित