‘एन्जेल्स’हरूका ‘खलनायक’ – सूर्यप्रसाद उपाध्याय

स्वर्गीय सूर्यप्रसाद उपाध्यायलाई मैले व्यक्तिगत रूपमा चिनिनँ । उहाँलाई २०३६ सालमा जनमत संग्रहका बेलामा डा. केआई सिंहका साथ बहुदलको पक्षमा प्रचार गर्न खुलामञ्चमा आयोजित आमसभामा एक युवा दर्शकका रूपमा देखेको हुँ । अन्त्येष्टिका बेला उहाँको पार्थिव शरीरको आर्यघाटमा दर्शन गर्ने अवसर प्राप्त भएको थियो । त्यसबेला प्रतिबन्धित नेपाली कांग्रेसका नेतात्रय गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले चारतारे झन्डाको सम्मानसहित शवलाई चितासम्म पु¥याउनुभएको दृश्य पनि मेरा आँखासामु ताजै छ । उहाँको निधनको १३औं दिनमा राष्ट्रिय सभागृहमा आयोजित शोक सभा र त्यसमा जम्मा भएका त्यसबेलाका नेपाली राजनीतिक दृश्यपटका पक्ष विपक्षका र खुला र प्रतिबन्धित सबैको एकैठाउँमा भएको जमघट तत्कालीन परिवेशमा अद्वितीय थियो । त्यो सभामा ‘पञ्चायत आमा’ भनिने डा. तुलसी गिरीको कुनै अभिव्यक्तिका कारण कांग्रेसका युवाहरूले गरेको हुटिङ र त्यसलाई कृष्णप्रसाद भट्टराईले नियन्त्रण गर्नुपरेको दृश्य म आज पनि सम्झन्छु । तर, त्यस सभामा डा. गिरीले सुर्यबाबुका ’boutमा भन्नुभएको एउटा वाक्यांश मेरो दिमागमा गडेको थियो । प्रखर राजावादी निरंकुश पञ्चायती व्यवस्थाका समर्थक गिरीले सूर्यबाबुका ’boutमा बोल्दै संज्ञा दिनुभएको थियो, ‘सूर्यबाबु रेस्टिङ प्लेस हुनुहुन्थ्यो ।’ गिरीको भनाइको तात्पर्य थियो– सूर्यबाबु सबैखाले मानिसका लागि अन्तिम आश्रयस्थल हुनुहुन्थ्यो । यी र यस्तै घटना परिघटनाहरूले नेपाली कांग्रेसप्रति आस्था राख्ने एक युवा मस्तिष्कमा सूर्यप्रसाद उपाध्याय भनेको ‘आदरणीय सम्माननीय’ व्यक्तित्व भन्ने छाप परेको थियो ।

कालान्तरमा नेपालमा बहुदलीय शासन व्यवस्था पुनस्र्थापित भयो । नेपाली कांग्रेसलगायत सबै राजनीतिक दलमाथिको प्रतिबन्ध हट्यो । कम्युनिस्ट पार्टीका कार्यालयहरूमा माक्र्स, लेनिन र माओका तस्बिरहरू निकै आदरपूर्वक टाँगिएका दृश्यहरू देखापरे । कांग्रेस कार्यालयमा बीपी कोइरालाको तस्बिर भगवान्कै श्रेणीमा पुज्न थालियो । स्वर्गीय सुवर्णशमशेरको तस्बिरले कांग्रेस कार्यालयमा स्थान पाउन केही समय लाग्यो, तर पायो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाहरूलाई निधनपश्चात् आज कांग्रेसले त्यस्तै सम्मान दिएको छ । तर, स्वयं किसुनजीका शब्दमा कांग्रेसका ‘चार महान’मध्येका एक वा पुराना कांग्रेसबीच ‘चार तारा’मध्येका एक सूर्यप्रसाद उपाध्यायले कांग्रेस कार्यालयमा यथोचित स्थान आजसम्म पाउनुभएको छैन ! कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले सूर्यबाबुको तस्बिर राख्ने घोषणा गरेका थिए र पनि आजसम्म कार्यान्वयन भएको छैन । यदाकदा मसिनो रूपमा कतै कुना कन्दराबाट आवाज उठ्ने गर्छन् । तर, त्यो आवाज कहिल्यै मुखरित हुन पाएन, स्थापित हुने त धेरै परको कुरो भयो । आखिर किन ?

सूर्यबाबुलाई उहाँले पाउनुपर्ने हकबाट त वञ्चित गरियो नै, उहाँलाई खतरनाक ‘खलनायक’का रूपमा पनि चित्रण गरियो । बीपी कोइरालाजस्ता महान व्यक्तित्वको कलमबाट सूर्यबाबुलाई एकदमै तल्लोस्तरको गाली गर्ने अकल्पनीय काम भयो । बीपी र सूर्यबाबु दुवैलाई नजिकबाट चिन्ने र उहाँहरूको अन्तरसम्बन्धलाई बुझ्ने कतिपय व्यक्तिहरू अनौपचारिक कुराकानीका क्रममा ‘बीपीले त्यस्तो भन्ने सम्भावना नै छैन’ भन्न पछि पर्दैनन् । तर, ती महानुभाव सार्वजनिक रूपमा मुख खोल्न भने आँट गर्दैनन् । आखिर किन ?

जे जसरी भए पनि सूर्यप्रसाद उपाध्यायलाई खलनायकका रूपमा चित्रण गरिएको पाइन्छ । त्यसो गर्दा उहाँलाई ‘भारतको एजेन्ट’, ‘सीआईडी’ ‘भारतको पैसाले राजनीति गर्ने’ र ‘राजाको मुखविर’जस्ता घृणालायक पात्रका रूपमा उभ्याइएको पाइन्छ । साँचो अर्थमा उहाँको सबल वा दुर्बल पक्षको विश्लेषण गरेर प्रस्तुति भएको भने विरलै भेटिन्छ

म यहाँनेर पञ्चायतकालमा जेल जीवन गुजारेका एक व्यक्तिले मलाई सुनाएको ‘कथा’ बताउन चाहन्छु । मलाई यो घटना बताउने व्यक्तिको निधन भइसकेको हुँदा उनको नाम मैले उल्लेख गरिरहेको छैन । सत्रसाले काण्डपछि नेपाली कांग्रेसका अनगिन्ती नेता कार्यकर्ता जेल परे भने कैयन् निर्वासनमा जान बाध्य भए । यसैक्रममा गिरिजाप्रसाद कोइराला पनि गिरफ्तार हुनुभयो । बन्दी रहँदाकै अवस्थामा एक युवा पत्रकार भनाउँदा पनि बन्दीका रूपमा जेल आइपुगे । ती युवाले चार–पाँच महिना जेलमा बिताएपछि एक दिन निद्रामा बर्बराएको स्वयं गिरिजाप्रसादले सुन्नुभयो । उनी बर्बराउँदै थिए, ‘जरसाहेब ! अब त पुग्यो नि ! मैले खबर दिइसकें नि ! ६ महिना हुनलाग्यो ! अब कति यहाँ बस्नु !’ म स्वयंले स्वर्गीय गिरिजाप्रसाद कोइरालासँग यस ‘घटना’का ’boutमा सोध्ने धृष्टता गरेको थिएँ । त्यसबेला गिरिजाबाबुले ‘छोड यी सब कुरा’ भनेर हाँस्दै टारिदिनुभएको म सम्झन्छु । उहाँले इन्कार भने पटक्कै गर्नुभएन । बीपीको ‘आत्म वृत्तान्त’मा यी व्यक्ति प्रतिभाशाली, तर सूर्यबाबु ‘गद्दार’ ! के साँच्चै बीपी कोइरालाले आफ्ना अनन्य सहयोगी सूर्यप्रसाद उपाध्यायलाई यो हदमा ओर्लेर गाली गलौज गर्नुभयो होला त ? विश्वास गर्न वास्तवमै गाह्रो छ ।

जे जसरी भए पनि सूर्यप्रसाद उपाध्यायलाई खलनायकका रूपमा चित्रण गरिएको पाइन्छ । त्यसो गर्दा उहाँलाई ‘भारतको एजेन्ट’, ‘सीआईडी’ ‘भारतको पैसाले राजनीति गर्ने’ र ‘राजाको मुखविर’जस्ता घृणालायक पात्रका रूपमा उभ्याइएको पाइन्छ । साँचो अर्थमा उहाँको सबल वा दुर्बल पक्षको विश्लेषण गरेर प्रस्तुति भएको भने विरलै भेटिन्छ । उहाँ जीवित हुँदा त आमकार्यकर्ताबीच सूर्यबाबुलाई भेट्नसम्म पनि प्रतिबन्धित रहेको नेपाली कांग्रेसभित्र ‘कालोसूची’मा परिने डर हुन्थ्यो भनेर बताउने व्यक्तिहरू आज पनि हामीमाझ छन् ! सूर्यप्रसाद उपाध्याय के त्यस्तै ‘अग्राह्य’ वा ‘अपाच्य’ व्यक्ति नै थिए त ?

तत्कालीन नेपालको परिस्थितिलाई विश्लेषण गर्ने हो भने थोरै पनि राजनीतिक समझ भएका जो कसैले पनि भन्नसक्छ– नेपालमा मूलतः दुई शक्ति थिए । पहिलो, विपक्षी विचार राख्ने राजनीतिक शक्तिहरू (प्रतिबन्धित दलहरू) पछाडि लामबद्ध तर राज्यको प्रहार खप्न बाध्य जनता र दोस्रो, राज्यशक्ति स्रोत हत्याउन सफल राजा र उनका समर्थकहरूको जमात । तर, त्यसबेला बिर्सन नमिल्ने अत्यन्तै प्रभावशाली तेस्रो शक्ति पनि थियो– भारत ! भारतको प्रभावलाई आजसमेत पुरै नकार्न सकिने अवस्था छैन । त्यसबेला त भारत अत्यन्तै महŒवपूर्ण र धेरै हदसम्म निर्णायक भूमिकामा थियो । राजदण्डको निर्मम प्रहार बेहोरेका सम्पूर्ण राजनीतिक व्यक्ति एवं शक्तिले प्रत्यक्ष वा परोक्ष रूपमा भारतको समर्थन खोजेकै हुन् र आशा राखेकै हुन् !

स्वयं बीपी कोइरालाले ७ वर्षको बन्दी जीवनपश्चात् छुटकारा पाउनुभयो र अर्को झन्डै ९ वर्ष निर्वासित जीवन बिताएर २०३३ सालमा ‘राष्ट्रिय मेलमिलाप’को नाराका साथ नेपाल फर्किनुभएको हो । राष्ट्रिय मेलमिलापको नारालाई तमाम व्याख्या र विश्लेषण गरेर प्रस्तुत गरिन्छ । ती व्याख्या र विश्लेषण सबैलाई स्विकार्दास्विकार्दै पनि एउटा अकाट्य सत्यलाई मान्नैपर्ने हुन्छ । बंगलादेश विजयबाट मदमत्त एवं ‘आपत्काल’को घोर अस्त्रमार्फत सम्पूर्ण विपक्षलाई कालकोठरीमा थुन्ने इन्दिरा गान्धीसँग ‘सम्झौता’को कुनै सम्भावना मात्र नभएको होइन, अपितु उनको ‘आदेश’ मान्नुपर्ने बाध्यता खप्न नसकेर नै बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नारा दिएर नेपालका राजासमक्ष मित्रताको हात बढाउँदै नेपाल प्रवेश गर्नुभएको हो । म यहाँ बीपीले आत्मसमर्पण गर्नुभएको जस्ता अनर्गल प्रलाप गरिरहेको छैन । यति मात्र भन्दै छु– बीपीको राष्ट्रिय मेलमिलापको रणनीतिका पछाडि बाध्यात्मक परिस्थिति पनि थियो । अलि कठोर शब्दमा भन्ने हो भने बीपीले भारतीय संस्थापन पक्षसँग मेलमिलापको सम्भावना न्यून भएको अवस्थामा नेपालभित्रका राजालगायतका राष्ट्रिय शक्तिसँग मेलमिलापको प्रस्ताव गर्नुभएको हो ।

ध्यान दिएर हेर्ने हो भने सूर्यबाबुले २०२०÷२१ सालमै नेपालका राष्ट्रिय शक्तिसँग मेलमिलापको वकालत गर्नुभएको देखिन्छ । उहाँले व्यवहारमै सो नीतिलाई उतार्नुसमेत भएको थियो । २०१७ साल काण्डको ९ महिनापछि नै उहाँ छुट्नुभयो । यसकारण उहाँलाई ‘राजाको सीआईडी’ आदि इत्यादि भन्ने आरोप पनि लगाइन्छ । सम्भवतः उहाँको भारतका नेहरू परिवारसँगको अन्तरंग सम्बन्धले गर्दा छिटो छुटकारा पाउन सम्भव भएको हो । उहाँले तुलसी गिरी वा विश्वबन्धु थापाले जस्तो प्रजातान्त्रिक मान्यताको मूल्यमा कुनै पद स्विकार्नुभएन । उहाँले चाहनुभएको भए राजाबाट जस्तोसुकै ठूलो पद पनि पाउन सक्नुहुन्थ्यो भन्ने कुरो त उहाँका घोर आलोचकले समेत स्विकार्छन् ! उहाँले राजा महेन्द्र र पछि वीरेन्द्रसँग निरन्तर संवाद जारी राख्नुभयो । स्वर्गीय सुवर्णशमशेरले पछि यही नीतिको अवलम्बन गर्नुभयो । २०२४ सालमा बीपी र गणेशमानजीलाई छुटाउन यही नीतिले ठूलो काम गरेको थियो । धेरैले यस’bout लेखे भने पनि कांग्रेस पार्टी सूर्यबाबुको नीति र मेहनतका ’boutमा औपचारिक रूपमा स्विकार्न तयार देखिन्न । मेलमिलापको नीतिअनुसार नै प्रजातन्त्र पुनस्र्थापनाको स्पष्ट खाकासहित बीपी छुट्नुभएको थियो, राजा महेन्द्रसँग भएको ‘सम्झौता’अनुरूप । तर, सम्झौताका पक्षकारहरूको आतुरता, व्यग्रता र थोरै उत्ताउलोपनका कारण वातावरण बिथोलिएर सो सम्झौताले मूर्तरूप लिन नपाएको जानकार संलग्नहरूले मलाई बताएका छन् ।

यहाँनेर मलाई सूर्यबाबुका अनन्य सहयोगी वरिष्ठ सञ्चारकर्मी स्वर्गीय चन्द्रलाल झा (संयोगवश मेरा आदरणीय ससुरा)ले बताउनुभएको एउटा प्रसंग उल्लेख गर्न चाहन्छु । बीपी र गणेशमान निर्वासनमै हुनुहुन्थ्यो । यता सूर्यबाबु आफ्नै तवरले सक्रिय हुनुहुन्थ्यो । उहाँले राजा महेन्द्रसँग निरन्तर संवाद जारी राख्नुभएको थियो । अन्ततः राजा महेन्द्र प्रजातान्त्रिक शक्तिलाई राजनीतिक प्रक्रियामा सामेल गराउन तयार भए । प्रजातान्त्रिक शक्तिलाई पृथक् राखेर पञ्चहरूको सहयोगले मात्र मुलुकले गति लिन नसक्ने कुरो बुझाउन सूर्यबाबु सफल हुनुभएको थियो । २०२८ साल माघको दोस्रो साता सुरु हुँदासम्म सहमतिको खाका तयार भइसकेको थियो । ठ्याक्कै भन्नुपर्दा दलीय व्यवस्थासहितको संविधानले अन्तिम रूप लिइसकेको थियो । राजा महेन्द्र त्यसबेला चितवन भरतपुरमा थिए । १६ माघ २०२८ मा राजालाई भेट्न अन्य केही व्यक्तिका साथ सूर्यबाबु चितवन प्रस्थान गर्न विमानस्थल पुगिसकेका थिए । सो भेटघाटपछि बहुदलीय शासन व्यवस्था लागू हुने तय थियो । सम्भवतः आगामी अन्तरिम सरकारको प्रमुख सूर्यबाबु बन्ने पनि तय थियो । ठीक यहीबेला चन्द्रलालजीलाई तत्कालीन मुख्य अञ्चलाधीश (सायद विष्णुमणी आचार्य)बाट ‘महाराजधिराजको स्वास्थ्यका कारण भेटघाट हुन नसक्ने’ बताउँदै सूर्यबाबुलाई रोक्न भनेका थिए । चन्द्रलालजीले विमानस्थल पुगेर सूर्यबाबुलाई अञ्चलाधीशको सन्देश सुनाएका थिए । भोलिपल्ट अर्थात् १७ माघ २०२८ मा बिहानै राजा महेन्द्रको निधन भयो ।

महामुनिश्वरद्वारा सम्पादित सूर्यप्रसाद उपाध्याय नामक लेख संग्रह पुस्तकमा यस्तैखाले कुनै ठूलै परिवर्तनको तयारी भएको र वरिष्ठ अधिवक्ता शम्भूप्रसाद ज्ञवाली नयाँ संविधान ड्राफ्ट गर्न संलग्न रहेको तथ्य तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्टले इंगित गर्नुभएको छ ।

निश्चित रूपमा सूर्यबाबुले राजासँग राम्रो सम्बन्ध कायम गर्नुभएको थियो । तर, उहाँले यस सम्बन्धलाई आफ्नो व्यक्तिगत फाइदाका लागि नभई प्रजातान्त्रिक मूल्य र मान्यताको पुनस्र्थापनाका लागि प्रयोग गर्नुभएको थियो । वास्तवमा राष्ट्रिय मेलमिलापको नीतिलाई अंगीकार गर्नु मात्र भएन, अपितु त्यस नीतिको व्यावहारिक प्रयोगमार्फत सकारात्मक परिणतिमै लगभग पु¥याउनुभएको थियो । नियतिको क्रूरता नै मान्नुपर्छ पटाक्षेप हुनसकेन ! चौथाई कांग्रेस कारावासमा र आधा कांग्रेस निर्वासनमा हुँदा पनि सूर्यबाबुको निवासबाट कांग्रेसका गतिविधि सञ्चालन भइरहे । उहाँलाई आफ्नो निवासबाट दरबारको विरोधमा क्रियाकलाप सञ्चालन गरेको आरोप लाग्दा पनि उहाँले निर्बाध आफ्नो कार्यसञ्चालन गर्न पाउनुभएको थियो । यसका लागि उहाँमाथि शंका गर्ने थुप्रै छन् । तर, ती व्यक्ति सूर्यप्रसाद उपाध्यायको राजालाई विश्वासमा लिन–दिन सक्ने अद्वितीय क्षमताको प्रशंसा गर्न चुक्छन् । निश्चित रूपमा राजालाई झसंग बनाउने सशस्त्र कदमजस्ता काममा चाहिँ उहाँ संलग्न हुनुभएन । बीपी विद्रोह र सशस्त्र संघर्षको लामो घुम्ती पार गरेर मेलमिलापको बाटोमा आउनुभयो भने सूर्यबाबुचाहिँ सुरुदेखि अन्त्यसम्म मेलमिलापको पथमा अनवरत लागिरहनुभयो । सूर्यबाबुलाई सीआईडी वा राजाको मानिस आरोप लगाउने हो भने १६ पुस २०३३ पछिको बीपीलाई पनि त्यस्तै भन्नुपर्ने हुन्छ ! राष्ट्रिय मेलमिलापका असली प्रवर्तक सूर्यप्रसाद उपाध्याय नै हुन् !

सूर्यबाबु अत्यन्तै चतुर कूटनीतिक खेलाडी पनि हुनुहुन्थ्यो । २०२४ सालमा बीपी र गणेशमानजीलाई बन्दीगृहबाट निकाल्न उहाँले खेल्नुभएको भूमिकाका ’boutमा थोरै कुरा बाहिर आएको छ । गिरिजाप्रसाद कोइरालालाई राजासँग भेट्टाउनेदेखि आफ्नै तर्फबाट निरन्तर वकालत त छँदै थियो । साथसाथै, भारतीय संस्थापन पक्षदेखि लिएर तत्कालीन बृटिस राजदूतलाई समेत संलग्न गराएर उहाँले ठूलै वातावरण तयार पारेकै कारण बीपीको सम्मानजनक रिहाइ सम्भव भएको हो । साँच्चै भन्ने हो भने उहाँको त्यत्रो योगदानलाई लुकाएर उल्टै खलनायकका रूपमा प्रस्तुत गर्ने कृतघ्नता र पाप भएको छ । २०३३ सालपछि मुलुकमा प्रत्यागमनपछि बीपीलाई भयंकर फौजदारी अभियोग र ‘फाँसी दे’ भन्ने स्याल हुइयाँका बीच रिहा र औषधोपचारको व्यवस्था पनि सूर्यप्रसाद उपाध्यायको अत्यन्तै चुस्त एवं चतुर चालका कारण सम्भव भएको हो । मैले माथि उल्लेख गरेका महामुनिश्वरद्वारा सम्पादित पुस्तकमा वरिष्ठ चिकित्सक डा. मधु घिमिरेले यस’bout उल्लेख गर्नुभएको छ र मैले डा. घिमिरेसँग थप कुरा पनि गरेको छु । डा. मृगेन्द्रराज पाण्डेबाट संकेत पाएपछि डा. मधुले बीपीको गम्भीर स्वास्थ्य स्थितिका ’boutमा एउटा रिपोर्ट तयार पार्नुभयो । डा. पाण्डेलाई राजासमक्ष बीपीको अवस्था’boutमा जाहेर गर्न तत्कालीन प्रधानमन्त्री तुलसी गिरी र अन्य दरबारियाहरूले रोकेको प्रतीत भएको रहेछ । डा. घिमिरे आफ्ना दाजु स्वर्गीय शंकर घिमिरेका साथ पहिले त्यो रिपोर्ट लिएर त्यसबेला बीपीको विश्वासपात्र मानिएका अधिवक्ता गणेशराज शर्माकहाँ जानुभएछ । शर्माले त ‘तिमीहरू कुरो बिगार्न आएको ? स्याबोटेज गर्ने ? तुलसी गिरीले बीपीलाई छोडाउँदै छन्’ भन्दै हपारेर पठाइदिएछन् ! घिमिरे दाजुभाइ त्यसपछि सूर्यबाबुकहाँ पुगे । शंकर घिमिरेको सूर्यबाबुसँग घनिष्ठ सम्बन्ध थियो । सो रिपोर्ट पढ्नेबित्तिकै सूर्यबाबुले त्यसको झन्डै ५० प्रतिलिपि बनाएर खाममा हाल्दै आफैंले प्रापकको नाम लेखेर बाँड्न लगाउनुभयो । प्रापकहरूमा नेपालस्थित विदेशी दूतावासका अधिकारीहरू पनि थिए । सम्भवतः कैयनसँग उहाँले टेलिफोनमार्फत कुराकानी पनि गर्नुभयो । त्यो रिपोर्ट कहाँकहाँ पुग्योपुग्यो ! पटनामा देवेन्द्रप्रसाद सिंहको निवासमा रहेका गिरिजाप्रसाद कोइरालाकहाँ पनि पुगेछ । त्यत्तिकैमा भारतीय प्रधानमन्त्रीकहाँबाट गिरिजाबाबुको खोजीसमेत भएछ । भोलिपल्ट साँझसम्ममा दरबारमा दुई महŒवपूर्ण विदेशी सरकार प्रमुखहरूबाट बीपीको गम्भीर स्वास्थ स्थितिप्रति चासो व्यक्त गर्दै सन्देश प्राप्त भएछ । ती दुई महानुभावहरू थिए– बेलायती प्रधानमन्त्री जेम्स कालाघान र भारतीय प्रधानमन्त्री मोरारजी देसाई ! त्यसै रात बीपीलाई दरबारमा बोलाइयो र रिहाइ मात्र भएन, औषधोपचारको व्यवस्थासमेत भयो । यस्ता थिए सूर्यप्रसाद उपाध्याय !

सूर्यबाबुलाई भारतीय एजेन्टका रूपमा व्याख्या गरिएको पनि पाइन्छ । यस’bout बुझ्न थोरै सैद्धान्तिक व्याख्याको आवश्यकता पर्छ । राजनीतिक वृत्तमा केन्द्रबिन्दुबाट बायाँ हुनेलाई लेफ्टिस्ट र दायाँ हुनेलाई राइटिस्ट भन्ने प्रचलन रहेको छ । नेपालीमा यी शदलाई वामपन्थी र दक्षिणपन्थी भनेर अनुवाद गरेको देखिन्छ । कतिपय अवस्थामा कन्जरभेटिभ र लिबरल भनेको पनि भेटिन्छ, अर्थात् अनुदारवादी र उदारवादी । खासमा लेफ्टिस्ट भनेको यथास्थितिलाई नरुचाउने र जे जस्तो भए पनि परिवर्तन चाहनेलाई भनिन्छ भने राइटिस्ट भनेको परम्परा र इतिहासलाई समेटेर जान खोज्नेलाई भनिन्छ । लेफ्टिस्ट भन्ने बित्तिकै कम्युनिस्ट हुन्छ र राइटिस्ट भन्ने बित्तिकै पुरातनपन्थी रूढीवादी हुन्छ भन्ने सोच सोह्रै आना गलत हो । यस अर्थमा म राइटिस्टलाई कन्जर्भेटिभ भन्न रुचाउँछु । तर, कन्जर्भेटिभ भन्नाले अनुदारवादी होइन, अपितु कन्जर्भ गर्ने अर्थात् संवद्र्धन संरक्षणमा विश्वास गर्ने सोच हो । त्यसकारण कथित दक्षिणपन्थीलाई म संवद्र्धनवादी भन्छु भने वामपन्थीलाई परिवर्तनवादी भन्छु । विश्वमा कायम जुनकुनै राजनीतिक प्रणाली वा सोच पनि यी दुई ध्रुवमध्ये एकातर्फ झुकाव राख्ने हुन्छ ।

प्रजातान्त्रिक समाजवादको सिद्धान्त अँगालेपश्चात् नेपाली कांग्रेसले पनि आफूलाई परिवर्तनवादी धारमा उभ्याएर प्रस्तुत भयो । भारतीय राष्ट्रिय कंग्रेससमेत यही धारका प्रतिनिधिका रूपमा देखाप¥यो । समग्रमा परिवर्तनवादी धारमा उभिँदाउभिँदै पनि यी दुवै राजनीतिक दलभित्र संवद्र्धनवादी र परिवर्तनवादी सिद्धान्तलाई प्रतिनिधित्व गर्ने फरक ध्रुवीय विचार एवं व्यक्तित्वहरू रह्यो नै । नेपाली कांग्रेसभित्र सूर्यबाबु र सुवर्णशमशेर मूलतः संवद्र्धनवादी हुन् भने बीपी कोइराला परिवर्तनवादी हुन् । गणेशमान सिंह वैचारिक रूपमा त्यति कित्ता नछुट्टिएका व्यक्तित्व हुन् । उहाँ एक महान् लडाकु एवं निष्ठावान् व्यक्ति हुनुहुन्थ्यो । प्रजातान्त्रिक मूल्य र मान्यताप्रति अविचलित आस्था र ‘कोइरालाजी’प्रतिको विश्वास नै उहाँको मूल पहिचान हो । त्यसभन्दा तल आउँदा कृष्णप्रसाद भट्टराई परिवर्तनवादीहरूको बढी संगतमा रहेर पनि मूलतः संवद्र्धनकै पक्षमा देखिनुहुन्छ । मैले उहाँमा व्यक्तिगत रूपमा राजाहरूका प्रति हदैसम्मको घृणा देखेको छुँ, तर उहाँ अन्तिम घडीसम्म पनि संवैधानिक राजतन्त्रको पक्षमा उभिनुभयो । भारतमा पनि कांग्रेसभित्र महात्मा गांधी र नेहरूले संवद्र्धनवादको प्रतिनिधित्व गर्थे भने सुभाषचन्द्र बोस र जयप्रकाश नारायणहरू परिवर्तनवादका पक्षधर हुन् । जयप्रकाश नारायण त पछि कांग्रेसबाट अलग भएर समाजवादी नै बन्नुभयो ।

भारतीय स्वतन्त्रता संग्राममा नेपाली नेताहरूको संलग्नताका ’boutमा धेरै बताइरहन नपर्ला ! बीपी र सूर्यप्रसाद दुवै त्यस संग्राममा होमिनुभएको थियो । बीपीले भारतीय कांग्रेसभित्रका राजेन्द्रप्रसाद, जयप्रकाश नारायण र चन्द्रशेखर र कांग्रेसबाहिरका आचार्य नरेन्द्रदेव, राममनोहर लोहिया र मधु दण्डवते इत्यादिको सामीप्यता प्राप्त गर्नुभयो । उता, सूर्यप्रसाद उपाध्यायले रफिक अहमद किदवई हुँदै जवाहरलाल नेहरू र पछि इन्दिरा गान्धीको सामीप्यता प्राप्त गर्नुभयो । यी दुवै नेताहरूको पृष्ठभूमि र इतिहास त छँदै थियो । बीपीको कृष्णप्रसाद कोइरालादेखिको संघर्षको इतिहासले स्वभावैले विद्रोही बनाएको थियो । उता, सूर्यबाबुको राणाहरूसँगको संगत र सामीप्यता इत्यादिले धेरै हदसम्म समन्वयवादी बनाएको थियो । समग्रमा भन्नुपर्दा परिवर्तनकामी नेपाली कांग्रेसभित्र बीपी परिवर्तनवादी क्रान्तिकारी (लेफ्टिस्ट) सोचको नेतृत्व गर्नुहुन्थ्यो भने सूर्यप्रसाद उपाध्यायले समन्वय र संवद्र्धनवादी (राइटिस्ट) सोचलाई प्रतिनिधित्व गर्नुहुन्थ्यो ।

निःसन्देह सूर्यबाबु नेहरू परिवारसँग अत्यन्तै नजिक हुनुहुन्थ्यो । नेहरू वा इन्दिरा गान्धी मात्र होइन कांग्रेसभित्र नेहरू परिवारका समर्थकहरूसँग समेत उहाँको बलियो सम्बन्ध र सम्पर्क थियो । सूर्यबाबु दिल्ली पुग्दा ३०÷३५ सांसदहरू उहाँलाई भेट्न लाइन लाग्थे । उहाँ दिल्लीमा रातो बत्तीसहितको सरकारी सुरक्षामा आवतजावत गर्नुहुन्थ्यो । के फगत यी सबका आधारमा मात्र उहाँलाई ‘भारतीय एजेन्ट’को बिल्ला भिराउनमिल्छ ? कोही कसैसँग सूर्यप्रसाद उपाध्यायले यस सम्बन्धका कारण नेपालको अहित गरेको वा प्रजातान्त्रिक मूल्य र मान्यतालाई छोडेको प्रमाण छ ?

बीपीको भारतीय समाजवादीहरूसँग त्यस्तै वा त्यसभन्दा बढी अन्तरंग सम्बन्ध थियो । प्रथम भारतीय राष्ट्रपति राजेन्द्रप्रसाद, पुराना कांग्रेसी र पछिका समाजवादी जयप्रकाश नारायण र चन्द्रशेखर एवं प्रखर समाजवादी नेता राममनोहर लोहियासँग बीपीको गाढा सम्बन्ध थियो । आजका नितिशकुमार र लालुप्रसादले बीपीलाई अत्यन्तै उच्च तहको सम्मान दिन्छन् ! भारतीयहरूसँगको यो गाढा सम्बन्धका कारण नै बीपीलाई पनि ‘भारतीय एजेन्ट’ भनिदिने ?

वास्तवमा यी दुवै नेताहरू भारतमा आआफ्नो ठाउँमा ठूलो प्रभाव राख्थे । ‘प्रभाव क्षेत्र’चाहिँ फरक थियो । सूर्यबाबुको प्रभाव क्षेत्रचाहिँ मूलतः भारतको सत्ताको केन्द्र रह्यो भने बीपीको चाहिँ विपक्ष ! साँच्चै भन्ने हो भने यी दुवै नेताहरूमा भारतको प्रभावभन्दा उहाँहरूको भारतमाथिको प्रभाव अत्यधिक थियो । उहाँहरू दुवै ‘भारतीय एजेन्ट’ होइन, उहाँहरू दुवै भारतमा नेपालको ‘एजेन्सी’ खोल्न सफल हुनुभएको थियो ।

सूर्यबाबुलाई लगाइने अर्को आरोप हो– पैसा ! उहाँबाट पैसा नथाप्ने बिरलै कोही थिए । म यहाँ उहाँबाट पैसा थाप्नेहरूको नाम किटान गर्दै ती ‘याचक’हरूका लागि असहज परिस्थिति सिर्जना गरिदिन चाहन्न । एउटा सानो घटनाचाहिँ उल्लेख गर्छु । मित्र अनारसिंह कार्कीको अनुभव हो यो । बीपी निर्वासनमै रहेको ताका (सम्भवतः ओखलढुंगा काण्डभन्दा पहिला) कार्कीलाई गिरिजाबाबुले ‘सोलुतिरका पूर्व सैनिकहरूसँग सम्पर्क कायम गर्न र त्यसपछि बनारस जान’ अह्राउनुभएछ । आवश्यक तयारीपछि कार्की उहाँलाई भेट्न जानुभयो । तत्कालै एउटा ट्याक्सीमा गिरिजाबाबुले कार्कीलाई लिएर भाटभटेनी जानुभयो । कार्कीलाई बाहिर ट्याक्सीमा कुराइयो । केहीबेर पछि गिरिजाबाबु फर्कनुभयो र कार्कीलाई बाटो खर्च दिनुभयो । अनारसिंहजीलाई पछि मात्र थाहा भयो, त्यो सूर्यवाबुको निवास थियो ! त्यसबेला गिरिजाबाबुले अनारजीलाई भन्नुभएको थियो, ‘जे सुकै भए पनि यिनी नभइनहुने मानिस हुन् ।’ दुई महान् महिलाहरूले सूर्यबाबुका ’boutमा स्वयं मेरा सामु भन्नुभएको थियो, ‘सूर्यबाबुको गुन बिर्सन मिल्दैन ।’ कुनै सन्दर्भमा फरकफरक समयमा स्वर्गीय सुशीला कोइराला र मंगलादेवी सिंहले यस्तो भाव किन प्रकट गर्नुभयो होला ? म जान्दिनँ ! तर उहाँहरूको स्वरमा प्रचुर कृतज्ञता थियो र म अन्दाज गर्नसक्छु, त्यो कृतज्ञता केका लागि भनेर ! व्यक्तिगत आर्थिक वा अन्य कुनै मद्दत ! जेसुकै होस् वा जोसुकै होस्, त्यसबेला सूर्यबाबुबाट सहयोग नपाएका बिरलै कोही थिए ! उहाँको आर्थिक स्रोत जेसुकै होस्, उहाँ ‘बिटुलो’ हो भने उहाँबाट थाप्नेहरूचाहिँ ‘चोखो’ कसरी ?

आखिर सूर्यप्रसाद उपाध्याय किन ‘खलनायक’ बन्नुभयो त ? नेपाली कांग्रेसमा बीपी कोइरालाको उचाइमा पुग्नसक्ने वा बीपीलाई वैचारिक वा अन्य हिसाबले समेत चुनौती दिनसक्ने एक मात्र व्यक्तित्व सूर्यबाबु हुनुहुन्थ्यो । स्वयं वीपी यसबाट ‘त्रस्त’ हुनुहुन्थ्यो कि ? मलाई लाग्दैन बीपीलाई सूर्यबाबुबाट कुनै त्रास थियो । बीपीको फैलिएको र बिस्तारित व्यक्तित्वमा सूर्यबाबु कुनै दृष्टिले पनि ‘ग्रहण’ साबित हुने सम्भावना थिएन । तर, दुई प्रकारका तŒवहरूका लागि सूर्यप्रसाद उपाध्याय ‘असहज’ हुन पुनुभयो । कुनै पनि महान् व्यक्तिको सफलता र व्यक्तित्वबाट फाइदा उठाउन उद्यत एकखाले प्रवृत्ति जहाँ पनि हुन्छन् । बीपीको नाममा साना–ठूला मठ खोल्ने अनि आफू मठाधीश भएर जीवनको सुख सुविधाको बन्दोबस्त गर्ने योजना बोकेका केहीका लागि बीपीको उचाइको नजिकसम्म पुग्ने कोही पनि स्वीकार्य थिएन । त्यस्ता तŒव सूर्यबाबुको व्यक्तित्वलाई स्खलित गराउन सक्रिय हुनु अस्वाभाविक थिएन । यी त भए बीपीको नामको मन्दिर चलाउने ‘पुजारी’ ! तर, यीभन्दा पनि खतरनाक अर्को तŒव थियो । एन्जेल्स नभएको भए माक्र्स र मोतीराम नभएको भए भानुभक्त यति उचाइमा स्थापित हुने थिएनन् ! बीपीको विराट व्यक्तित्वका कारण एक–दुई जनालाई बीपीको ‘एन्जेल्स’ बन्ने महŒवाकांक्षा जाग्यो । कतिसम्म भने एक जना स्वनामधन्य विद्वान्ले त बीपीको निधनपश्चात् ठीक बीपीको नक्कल गरेर बेतको कुर्सीमा बसेर औंला खेलाउँदै ‘आज बीपीले सपनामा भन्नुभो’खाले प्रवचन दिएको समेत देख्न पाइयो ! ती ‘एन्जेल्स’हरूका लागि बीपीको व्यक्तित्वका आयामहरूलाई आफूखुसी व्याख्या गरेर आफू ‘बीपी विचार’का एकाधिकार व्याख्याता बन्नु थियो । यी ‘एन्जेल्स’हरूलाई बीपीको व्यक्तित्वको अतिरञ्जित महिमामण्डन गर्नु थियो र त्यस काममा सूर्यबाबुको व्यक्तित्व ठूलो तगारो थियो । यसरी यी र यस्ता समूहको सुनियोजित दुष्प्रचारको सिकार हुनुभयो, सूर्यबाबु ! सूर्यबाबु सुनियोजित षड्यन्त्र र दुष्प्रचारका कारण अन्यायमा परेका ऐतिहासिक अद्वितीय पात्र हुनुहुन्छ । उहाँलाई बेवास्ता गर्नु वास्तवमा कृतघ्नताको पराकाष्ठा हो र पाप हो ।

(प्रस्तुत आलेख कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा विमोचित ‘चिन्तन – सूर्यप्रसाद उपध्याय’ नामक पुस्तकमा प्रकाशित मेरो लेखलाई थोरै सम्पादन गरेर पुनरमुद्रण गरिएको हो ।)

तपाइको प्रतिक्रिया
(Visited 328 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम