साहसीको भाग्य

नेपोलियन बोनापार्ट सैनिक दलबलसहित अल्पसपर्वततिर बढिरहेका थिए, त्यो देखेर एक जना बुढीले नेपोलियनलाई भनिन्, ‘नेपोलियन, फर्क । यहीँबाट फर्क । अगाडि अल्पसपर्वत छ, निकै खतरनाक पर्वत छ । अल्पसलाई कसैले नागेर जान सक्दैनन् । ….अल्पस अगाडि फेरि उफ नदी छ, त्यो नदी पनि कसैले पार गर्न सक्दैनन् । त्यसैले भनेको मान, यहीबाट फर्क ।’ बुढीको कुरा सुनेर नेपोलियन मुसुक्क हाँसे र भने, ‘आमा, नेपोलियनका लागि असम्भव भन्ने कुरा केही छैन । तपाईं नै भन्नुहोस् आमा, मानिसले गर्न नसक्ने के नै छ र यहाँ ? आँट भएपछि मानिसका लागि त यहाँ सबै कुरा सम्भव छ ।’

नेपोलियनको त्यो अदम्य साहस देखेर बुढी दंग परिन् र अगाडि भनिन्, ‘हो, तिम्रो कुरा साँचो हो । यति आत्मविश्वास र साहस भएको निडर मानिसलाई कुनै कुरा असम्भव छैन । नेपोलियन जाऊ, अगाडि बढ, तिमीलाई अल्पसले त के संसारको कुनै पर्वतले पनि रोक्न सक्दैन ।’ अनि नेपोलियन सेना लिएर अगाडि बढे ।

हो, साहस मानिसको यस्तो गुण हो, जसको कारण नै मानिसले ठुलाठुला अकल्पनीय कार्य गर्न सफल हुन्छन् । असम्भवलाई सम्भव बनाएर देखाइदिन्छन् । साहसको मनोविज्ञानलाई राम्रोसँग बुझेर नै मनोवैज्ञानिक एल्बर्ट हुब्बर्डले भनेका छन्, ‘साहसबिना कहिल्यै कुनै महान् कार्य सम्पन्न भएको छैन ।’

इतिहास साक्षी छ, संसारमा सुरो र निडर मानिस नै सफल भए, भइरहेका छन् । नेपोलियन सुरो थिए । हिटलर सुरा थिए । लेनिन सुरा थिए । माओत्सेतुङ सुरा थिए । सुवासचन्द्र बोस सुरा थिए । भगतसिंह सुरा थिए । चन्द्रशेखर सुरा थिए ।

नेपालका पृथ्वीनारायण शाह सुरा थिए । वीर बलभद्र, भक्ति थापा, भीमसेन थापाजस्ता गोर्खाली सैनिक अझ सुरा र बहादुर थिए । बीपी कोइराला सुरा थिए । गणेशमान सिंह पनि सुरो नै थिए । मदन भण्डारी र गिरिजाप्रसाद कोइराला पनि सुरो थिए ।

इतिहास साक्षी छ, संसारमा सुरा र निडर मानिस नै सफल भए र भइरहेका छन्

अधिकाशं मानिसले सुरो र निडर व्यक्तिको रूपमा नेपोलियन बोनापार्टलाई सम्झिने गर्छन् । हो, नेपोलियन निकै सुरो थिए । उनीसँग अदम्य साहस थियो । यो सत्य हो । तर सुकरात त नेपोलियनभन्दा पनि बढी सुरा थिए । महात्मा गान्धी त झन् संसारकै सुरा व्यक्ति हुन् । महात्मा गान्धीले भनेका नै छन्, ‘सबै किसिमको डररहीत हुनु नै निडरता हो । मृत्युको डर, हत्याको डर, सांघातिक आक्रमणको डर, रोग र भोकको डर, उपेक्षाको डर, आलोचनाको डर, भूतको डर, मानिस रिसाउने डर इत्यादि सबै डरबाट मुक्त हुनु नै निडरता हो ।’

हामीले समाजमा देखी नै रहेका छौं, एउटा काँथर व्यक्ति, एउटा डरपोक व्यक्ति, जसमा कार्य गर्ने खुबी हँुदैन, आँट हँुदैन, उसले भाग्यलाई नै सराप्ने गर्छ । आफूलाई सधैं अभागी ठान्छ । अनि अरूलाई दोष दिने कार्य मात्र गर्छ । यो साँचो हो, डरपोक नै अभागी हुन्छ । यो सत्य हो, साहसीलाई नै भाग्यले साथ दिन्छ । त्यसैले त साहसी व्यक्तिले आँटेको काम पूरा गरेर नै छोेड्छ । साहसी व्यक्ति हमेसा दह्रो मन र दह्रो खुट्टा लिएर लक्ष्यतिर अगाडि बढ्छ । आँट्यो कि अगाडि बढ्यो, बढ्यो । कुनै शक्तिले उसलाई रोक्न सक्दैन, छेक्न सक्दैन ।

ऊ लक्ष्यमा पुगेर नै छोड्छ । सफलताको माला लगाएर नै छोड्छ । विजयको झन्डा गाडेर नै छोड्छ । त्यो ’cause उसले थोमस कार्लाइलको यो भनाइ राम्रोसँग बुझेको हुन्छ, ‘पत्थरको त्यो चट्टान, जुन कमजोरका लागि बाटोको पर्खाल हुन्छ भने साहसीका लागि सफलताको सिँढी बन्न पुग्छ ।’ कथंकदाचित् पहिलो प्रयास सफल भएन भने पुनः प्रयत्न गर्छ । अर्काे प्रयत्न गर्छ । झन् ठुलो आँट लिएर अघि बढ्छ । तर लक्ष्यमा नपुग्दासम्म मैदान छोड्दैनन् ।

विश्वप्रसिद्ध उद्योगपति हेनरी फोर्डको पहिलो अटोमोेबाइल कारखाना एक वर्षमा नै बन्द भएको थियो । विश्व प्रसिद्ध कार्टुनिस्ट वाल्ट डिस्नेको पहिलो स्टुडियो नै टाँट पल्टिएको थियो । हिन्दी सिनेमाका महानायक अमिताभ बच्चन अल इन्डिया रेडियोको स्वर परीक्षामा फेल भएका थिए । फिल्मी जगतमा प्रवेश गरेपछि पनि उनले धेरै हन्डर खाएँ । थुप्रै ठोक्कर खाएँ । उनले अभिनय गरेका १०औं सिनेमा एकपछि अर्को असफल हँुदै गए । यहाँसम्म कि नायिकाले अमिताभसँग अभिनय गर्न ठाडै इन्कार गर्न थाले ।

एउटा हिन्दी सिनेमाबाट त अमिताभ बच्चनलाई हटाएर राकेश पाण्डेलाई नायक बनाइएको थियो । तर, अमिताभ बच्चन विफलताबाट आतिएनन् । हरेस खाएनन् । निष्ठापूर्वक आफ्नो बाटोमा अगाडि बढिरहे, बढी नै रहे । त्यो किन भने अमिताभ बच्चनलाई अब्राहम लिंकनको कथा थाहा थियो । लिंकन माइन्ड अवगत थियो । त्यसैले उनले नायक राकेश पाण्डेहरूलाई भ¥याङ बनाउँदै शिखरतिर साहसिक पाइला चाल्दै गए, अगाडि बढदै गए । र, महानायक भए ।

लिंकन माइन्डको मूल मर्म नै निष्ठा हो । निष्ठा अर्थात् निरन्तर स्थिरता । त्यसैले कुनै पनि कार्य सुसम्पादनका लागि निष्ठापूर्वक प्रयत्न गर्नुपर्छ, गर्दै रहुनुपर्छ । निष्ठापूर्वक प्रयत्नबिना कुनै पनि कार्य सुसम्पन्न हुन सक्दैन । यो धु्रवसत्य हो ।

नेपोलियन मुसुक्क हाँसेर भने, ‘आमा, नेपोलियनका लागि असम्भव भन्ने कुरा केही छैन’

महान् राजनीतिज्ञ अब्राहम लिंकन कतिपटक असफल भए । कतिपटक पराजित भए । तर, उनी असफलताबाट निरास भएनन्, आत्तिएनन् । पराजयले घुँडा टेकेनन् । निष्ठापूर्वक आफ्नो कर्तव्यपथमा हिँडिरहे, डटिरहे । कर्तव्यपथका पर्खाल तोड्दै गएँ, फोड्दै गए । भत्काउँदै गए । गन्तव्य गोरेटोका चट्टान कुल्चिँदै गए । आफ्नो गन्तव्यमा पुग्ने खुड्किलो बनाउँदै गए । उनी माथि चढ्दै गए, अगाडि बढ्दै गए । उनी रोकिएनन्, अगाडि बढिरहे । अन्त्यमा उनी सफल भए । गाउँको एउटा दाउरे अमेरिकाजस्तो शक्तिशाली राष्ट्रको राष्ट्रपति भएर विश्व विख्यात बन्नु चानेचुने कुरा थिएन । लक्ष्यप्रतिको महान् संकल्पको छाती र निष्ठाको दह्रो खुट्टाले नै उनले यस्तो सफलता प्राप्त गरेका थिए ।

रात पर्नासाथ कतिपय मानिस अँध्यारोसँग किन डराउँछन् ? अघि सरेर बोल्न किन सर्माउँछन् ? उठेर शिक्षकसँग प्रश्न सोध्न किन हिच्किचाउँछन् ? परीक्षासँग किन नर्भसाउँछन् ? अन्याय र अत्याचारलाई पनि किन सहेर बस्छन् ? भूतसँग किन तर्सिछन् ? खै कहाँ छ भूत ? भूत न त हाम्रा बाआमाले देखेका छन्, न त साथीभाइ वा अरू कसैले देखेका छन् । नपत्याए सोधे हुन्छ बाआमालाई वा साथीभाइलाई । भूत भनेको मनको डर हो । जुन मानिस डराउँछ, उसैले नै भूत देख्छ । त्यसैले मनबाट यस्ता तथाकथित डरलाई हटाउनु नै जीवनमा सफलताको बाटो पहिलाउनु हो । यदि मानिस डरपोक भयो भने जति ज्ञानवान् भए पनि उसले जीवनमा कुनै महान् कार्य गर्न सक्दैन ।

भनाइ नै छ, एकान्तमा शिक्षा हुन्छ, भीडमा परीक्षा, जो भीडबाट जोगिन्छ, उसको शिक्षाको कुनै अर्थ रहँदैन । हुन पनि हो, अधिकांश विद्धान मानिस केही बिग्रिने पो हो कि भनेर डराउँछन्, अगाडि सर्दैनन् । तर, एउटा अनपढ वा कम पढेको तर साहसी व्यक्ति अगाडि सर्छ र नेतृत्व गर्छ । अनि विद्धानमाथि शासन गर्छ ।

हो, डरको अगाडि जित छ । अतः जसले डरलाई जित्छ, उसले जीवनमा जित्छ । डरसँग हार्ने, जीवनमा अवश्य नै हार्छ । त्यसैले मानव जीवनलाई सार्थक बनाउन चाहनेहरूले उपर्युक्त कुरालाई मनन गरेर आफूमा साहसिक गुणको विकास गर्नुपर्छ । एक निडर व्यक्ति बन्नुपर्छ । दृढसंकल्प र अथक परिश्रमका साथमा आफ्नो महान् लक्ष्यमा पुग्न साहसिलो पाइला चलाउने हो भने निश्चित रूपमा तपाईं सफलताको शिखरमा पुग्नुहुनेछ । भोलि तपाईंको उच्च सफलता देखेर डरपोकले भन्नेछन्, फलानो त क्या भाग्यमानी रहेछ ।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम