कुमारी बैंकलाई सकसमाथि सकस

काठमाडौं । पर्याप्त पुँजी कोष नहुँदा सकसमा रहेको कुमारी बैंक पनि डुब्ने आशंकामा सर्वसाधारणले धमाधम निक्षेप फिर्ता लिन थालेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार सुरुदेखि पुससम्ममा ३ खर्ब ३३ अर्ब ६० करोड ९० लाख निक्षेप जम्मा गरिसकेकामा माघमा आएर यो रकम घटेर ३ खर्ब ३२ अर्ब ६ करोड ४० लाखमा झरेको छ । कुमारी बैंकलाई पत्याउन छाडेका ग्राहकले महिना दिनभित्रमा १ अर्ब ५४ करोड रुपैयाँ निक्षेप निकालेका देखिएको छ ।

लाभांश दिन नपाउने भएका कारण थप समस्यामा परेका कुमारी बैंकलाई अहिले गैरबैंकिङ पुँजीले पनि थिच्न थालेको छ ।

घरजग्गा धितो राखेर ऋण दिएको कुमारी बैंकलाई अहिले त्यही सम्पत्ति बोझ बन्न थालेको छ । पछिल्ला पाँच वर्षमा कर्जा असुल नभएका ऋणीको धितो पनि लीलाम गर्न नसकेपछि कुमारी बैंकमा गैरबैंकिङ सम्पत्ति थुप्रिन थालेको हो ।

– एक महिनामा डेढ खर्ब रुपैयाँ निकालेपछि समस्यामा

– राष्ट्र बैंकको पटकपटकको कारबाहीमा कुमारी

हाम्रो मुलुकमा धितोमा सबैभन्दा बढी जग्गा र सुन राख्ने प्रचलन छ । नेपाल राष्ट्र बैंकको चालू आवको माघसम्मको तथ्यांकनुसार कुमारी बैंकको गैरबैंकिङ सम्पत्ति १ अर्ब ७६ करोड ४० लाख पुगेको छ । पुससम्ममा सो बैंकको गैरबैंकिङ्ग सम्पत्ति १ अर्ब ५५ करोड मात्र रहेको थियो । एक महिनामा २६ करोड गैरबैंकिङ सम्पत्ति थपिएपछि बैंकलाई थप सकस भएको छ ।

कर्जा प्रवाहमा मौलाउँदै गएको बेथितिका कारण कुमारी बैंक आर्थिक संकटमा पर्ने स्थिति देखिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालक समितिका अध्यक्षको मिलेमतोमा प्रवाह भएका कर्जा उठाउन नसक्ने स्थिति देखिएपछि मुलुककै प्रमुख वाणिज्य बैंकमध्येको एक कुमारी बैंक संकटोन्मुख अवस्थामा पुगेको हो । सो बैंकले महोत्तरी भंगाहाका दीनेशकुमार महतोलाई दिएको १ अर्ब ८० करोड रुपैयाँ डुब्ने अवस्थामा पुगिसकेको छ ।

राजनीतिक प्रभाव र आर्थिक प्रलोभनका कारण बैंक अध्यक्ष र सीईओहरूले सर्वसाधारण जनताको पैसा दुरुपयोग हुनेगरी लगानी गर्दैजाँदा बैंक समस्याग्रस्त बन्दै गएको छ ।

महतोको सबै श्रीसम्पत्ति बेच्दा पनि बैंकको आधा ऋण असुली हुने सम्भावना छैन । बैंकले भनसुन र आर्थिक प्रभावमा परेर महतोलाई कर्जा प्रवाह गरेको आरोप लागेको छ । आर्थिक मन्दीका कारण चलअचल सम्पत्ति बिक्री हुने स्थिति पनि नदेखिएपछि गैरबैंकिङ सम्पत्ति अझ थुप्रिने अवस्थामा कुमारी बैंक पुगेको छ । यस्तो अवस्थामा कुमारी बैंकले लगानी गरेको करिब २ अर्ब रुपैयाँ डुब्ने खतरा बढेको छ ।

कुमारी बैंकले महतोलाई ऋण दिँदाखेरि नै कर्जा धान्नेगरी धितो पनि नभएको बताइएको छ । १ अर्ब ८० करोड रुपैयाँभन्दा माथिको ऋण भएको कुमारीले तीनवटा उद्योग अल्फा, रिलायन्स र देवी इलेक्ट्रिकल्स तथा अजात पेट्रोलपम्प लीलामीमा राखे पनि त्यसमा पर्याप्त स्टक नभएको र धितो पनि कमसल भएको बताइएको छ ।

वाणिज्य बैंकहरूको नियामक निकाय नेपाल राष्ट्र बैंकसमेत कुमारी बैंकले गलत स्थानमा लगानी गरेको देख्दादेख्दै पनि कुनै चासो नराख्नुले यसमा राष्ट्र बैंकका उच्च तहका अधिकारीको समेत मिलेमतो रहेको आशंका गरिएको छ ।

निमयनकारी निकाय नेपाल राष्ट्र बैंकको कडा र प्रभावकारी सुपरीवेक्षकीय क्षमताले गर्दा पनि नेपाली बैंकिङ क्षेत्रलाई अन्य क्षेत्रका तुलनामा सबैभन्दा पारदर्शी र सुशासनयुक्त क्षेत्रका रूपमा लिइन्छ ।

राष्ट्र बैंकको आँखा छलेर बैंकका सञ्चालक एवं व्यवस्थापन पक्षले गरेको बदमासी राष्ट्र बैंकले स्थलगत निरीक्षण तथा नियमन गर्दा अन्ततः कुमारी बैंक पटकपटक राष्ट्र बैंकको कारबाहीमा परेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थालाई गरिएको कारबाहीसम्बन्धी विवरणनुसार कुमारी बैंक एकै वर्षमा चारपटक कारबाहीमा परेको छ ।

तत्कालीन कुमारी बैंक, काष्ठमण्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स, महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक, देव विकास बैंक र क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) गाभिएर तथा मर्ज भएर कुमारी बैंक बनेको हो । कहिले राष्ट्र बैंकले रोक्का राखेका खाता कारोबार गरेको, कहिले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनविपरीत कार्य गरेको त कहिले सहुलियत कर्जाको दुरुपयोग गरेको सम्बन्धी कैफियतमा पटकपटक कुमारी बैंक कारबाहीमा परिसकेको छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–०८० को पहिलो त्रैमासमा नेपाल राष्ट्र बैंकअन्तर्गतको नियमन विभागले रोक्का राख्न निर्देशन दिएका खातामा कुमारी बैंकले नियमित कारोबार गरेको भेटिएको थियो । सोपश्चात राष्ट्र बैंकले सो बैंकका प्रमुख कार्यकारी अधिकृतलाई यस्तो कारोबार नगर्नु–नगराउनु भन्दै सचेत गराएको थियो ।

आव २०७९–०८० को दोस्रो त्रैमासमा राष्ट्र बैंकले कुमारीलाई सम्पत्ति शुद्धीकरण ऐन (एन्टी मनी लाउन्डरिङ)विपरीत कारोबार गरेको भन्दै कारबाही ग¥यो । त्यसबेला राष्ट्र बैंकले कुमारीलाई ५० लाख रुपैयाँ जरिमाना तिराएको प्रतिवेदनमा उल्लेख छ । त्यसको लगत्तै अर्थात् आव २०७९–०८० को तेस्रो त्रैमासमा पनि कुमारी बैंक सहुलियत कर्जाको दुरुपयोग गरेको शीर्षकमा कारबाहीमा प¥यो ।

सहुलियत कर्जा प्रवाह गर्दा औचित्य पुष्टि नहुनेगरी कर्जा प्रवाह गरेको, मुद्दती निक्षेपमा प्रकाशित ब्याजभन्दा बढी ब्याज दिएको, कर्जा नोक्सानी व्यवस्था एवं जोखिम भार प्रदान नगरेको भन्दै राष्ट्र बैंकले कुमारीका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा (२)(क) बमोजिम सचेत गराएको थियो ।

राष्ट्र बैंकको सो सचेतनापछि पनि कुमारी बैंकमा बेथितिको शृंखला रोकिएन । आव २०७९–०८० को चौथो त्रैमासमा स्रोत परिचालन अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकले कुमारीलाई ५९ लाख ६३ हजार ६ सय ९४ रुपैयाँ जरिमाना तिराएको थियो । राष्ट्र बैंकका अनुसार कुमारीले २०७९ माघ महिनामा तोकिएको कर्जा अनुपात कायम नगरेका आधारमा सो कारबाही गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 1,807 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
फेदीखोलामा एमालेका सुवेदी दोहोरिए