काठमाडौँ । शुक्रबारबाट देशव्यापी रिलिजमा आएको चलचित्र महाजात्राको दोस्रो गीत ‘मुरी मुरी साथी…’ को भिडियो युट्युवबाट सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक गरिएको यो गीतमा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाईएको छ । गीतमा शब्द हर्क साउद, सङगीत तथा स्वर कालीप्रसाद बाँस्कोटाको रहेको छ । यसलाई छायांकन निर्देशक पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् ।
यो चलचित्रको कथाबस्तु यही गीतका यी मुख्य तीन पात्रकै वरिपरि घुमेको छ । आपतकालीन रुपमा पैसा व्यवस्थापन गर्न आइपर्ने अवसर र त्यसको क्रममा तीन पात्रले गर्ने सङघर्षको कथा यसमा देखाईएको छ ।
जात्रा र जात्रै जात्रापछि षट्कोण आर्ट्सले निर्माण गरेको यो तेश्रो सृँखला ‘महाजात्रा’ निर्माण गरिएको हो,‘गीतमा तीन पात्रले जीविकोपार्जनका लागि गर्ने सङघर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिवीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरेका छौँ’, निर्देशक भट्टराईले भने । फिल्ममा उनीहरू बीच शृंखलावद्ध रुपमा आउने उतारचढावसँगै झाँगिएको मित्रतालाई प्रस्तुत गरिएको निर्देशक भट्टराईले बताए ।
यो चलचित्रमा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झा वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।
महाजात्रालाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । मनोरञ्जनसँगै राष्ट्रिय विषयलाई समेटिएको फिल्मलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह लगायतका विशिष्ट व्यक्तिले हेरिसकेका छन् ।
यो चलचित्रले रिलिज भएको चार दिनमा करिब पाँच करोडको व्यापार गरिसकेको यसका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँले जानकारी गराएका छन् ।






