क्षेत्रीय क्वारेन्टाइनलाई पूर्वमन्त्रीले दिए स्वास्थ्य सामग्री

सिन्धुपाल्चोक । कोरोना भाइरस(कोभीड–१९) का संक्रमीत विरामीहरुलाई सुरक्षितसँग राख्नका लागि सिन्धुपाल्चोकमा स्थापना गरिएको क्षेत्रीय क्वारेन्टाइनका लागि पूर्व कानुनमन्त्री एवम प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सासंद शेरबहादुर तामाङले स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

कोरोना आशंकाका विरामीहरुलाई राख्नका लागि सिन्धुपाल्चोकमा ३ क्षेत्रमा क्षेत्रीय क्वारेन्टाइन स्थापना गरिएको छ । पूर्वमन्त्री तामाङले तिनै क्षेत्रको क्वारेन्टाइनमा पुगेर आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेका थिए ।

सुनकोशी गाउँपालिका–७ मा रहेको ग्रामीण महिला सिर्जनशील परिवारको भवनमा स्थापना गरिएको क्वारेन्टाइनमा पुगेर पुर्व मन्त्री तामाङले त्यहाँ बस्ने विरामी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि पीपीइ सेट, मास्क, ग्लोबस र सेनिटाइजर प्रदान गरेका थिए । क्षेत्रीय क्वारेन्टाइन सञ्चालक समितिका संयोजक एवम बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पालाई स्वास्थ्य सामग्री प्रदान गरेका थिए ।

त्यस्तै चौतारामा रहेको अर्काे क्वारेन्टाइनका लागि विपद व्यवस्थापन समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई स्वास्थ्य सामग्री प्रदान गरेका थिए । चौताराको क्वारेन्टाइनका लागि पनि अन्य क्वारेन्टाइनमा प्रदान गरे झै स्वास्थ्य सामग्री पूर्वमन्त्री तामाङले हस्तान्तरण गरेका थिए ।

त्यस्तै मेलम्चीमा रहेको अर्काे क्षेत्रीय क्वारेन्टाइन सेन्टरका लागि उक्त क्वारेन्टाइन सञ्चालक समितिका मूल संयोजक एवम मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

जिल्लास्तरीय विपद व्यवस्थापन समितिले सहयोग गर्ने संघ, संस्था एवम व्यक्तिहरुलाई एकद्वार प्रणालीबाट मात्रै सहयोग हस्तान्तरण गर्न अनुरोध गरिएको थियो । त्यही व्यवस्था अनुसार पूर्वमन्त्रीले क्वारेन्टाइनका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको सुनकोशी क्षेत्रीय क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक एवम लिसंखुपाखर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्णप्रसाद दुलालले जानकारी दिए । गाउँ–गाउँमा गएर भिडभाड गरेर स्वास्थ्य सामग्री प्रदान गर्नुभन्दा क्वारेन्टाइनमा नै वितरण गर्दा प्रभावकारी हुने भएकाले आफुले क्वारेन्टाइनका लागि स्वास्थ्य सामग्री प्रदान गरेको पुर्व मन्त्री तामाङले जानकारी दिए ।

सुनकोशी गाउँपालिका–७मा रहेको क्षेत्रीय क्वारेन्टाइनमा बाह्रविसे नगरपालिका, भोटेकोशी, त्रिपुरासुन्दरी, सुनकोशी र लिसंखुपाखर गाउँपालिकाका कोरोना आशंकाका विरामीहरुलाई राख्न गरिएको छ । त्यस्तै चौतारामा रहेको अर्काे क्षेत्रीय क्वारेन्टाइमा चौतारा साँगाचोकगढी नगरपालिका, जुगल र बलेफी गाउँपालिकाका विरामीहरुलाई राख्न सुरु गरिएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।

त्यस्तै मेलम्ची स्थापना गरिएको क्वारेन्टाइनमा मेलम्ची नगरपालिका, इन्द्रावती, पाँचपोखरी र हेलम्बु गाउँपालिकाका विरामीहरु राख्न सुरु गरिएको प्रमुख तामाङले जानकारी दिए । तिनै क्षेत्रमा तिन वटा आइशोलेसन वार्डसमेत गठन गरिएको छ, क्वारेन्टाइन र आइशोलेसन वार्डका लागि सबै स्थानीय सरकारले ५÷५ लाख सहयोग प्रदान गरेको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 291 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा