
आज चैत २४ गते । अनायासै २४ चैत २०४६ सालको सम्झना भयो । जनआन्दोलनको स्तरमा इतिहासमा अंकित सो आन्दोलन त्यस दिन चरम चुलीमा पुगेको थियो । जवानीको दिनमा सो आन्दोलनमा सक्रिय सहभागी भएको नाताले पनि यस्तो हुनु नितान्त स्वाभाविक हो । आज म सो आन्दोलनमा आफू प्रत्यक्ष रूपमा संलग्न भएका केही दृश्य परिदृश्य दोहो¥याउन गइरहेको छु । सम्भवतः आजका पाठकलाई चाखलाग्दो हुनसक्छ । वर्णन थाल्नुभन्दा अघि केही कुरा स्पष्ट पार्न चाहन्छु । यस आलेखको उद्देश्य कुनैखाले जस लिने वा पारितोषिकको दाबी गर्ने पटक्कै होइन । कसैको महिमामण्डन गर्नु वा मानमर्दन गर्नु पनि हुँदै होइन । विगतका अन्दोलन, संघर्ष वा युद्ध अथवा क्रान्तिमा सहभागी भएबापत पुरस्कार अथवा लाभांश लिने प्रथा प्रचलनको म सर्वथा विरोधी हुँ ।
त्यसबेला म कृषि विकास बैंकमा सेवारत थिएँ । ५ माघबाट स्वर्गीय गणेशमान सिंहको निवास चाक्सीबारीमा आयोजित तत्कालीन प्रतिबन्धित नेपाली कांग्रेसको सम्मेलनले प्रजातन्त्र दिवसको अवसर पारेर ७ फागुनदेखि कम्युनिस्ट वाममोर्चासहित संयुक्त जनआन्दोलन सुरु गर्ने उद्घोष गरेको थियो । भारतीय नेताहरू चन्द्रशेखर, सुब्रमण्यम स्वामी, हरिकिसन सिंह सुरजित र एमजे अकवरले समेत सो सम्मेलनमा सहभागिता जनाएर आन्दोलनका लागि सुभेच्छा प्रकट गरेका थिए ।
७ फागुनमा आन्दोलन साँच्चिकै सुरु भयो । काठमाडौंको मुटुमा अनायासै कांग्रेस र कम्युनिस्ट पार्टीका झन्डासहितको जुलुस देखिनु एउटा अत्यन्तै रोमाञ्चक अनुभव थियो । ७ फागुनदेखि २३ चैतसम्म पुग्दा आन्दोलनले निकै आरोह–अवरोह देख्यो । आन्दोलनकारी कहिले अत्यन्त उत्साहित हुन्थे भने कतिपय अवस्थामा अत्यन्तै निरुत्साहित हुन पुग्थे । त्यसको इति वृत्तान्त उल्लेख गर्न चाहन्नँ । त्यसै पनि धेरैले यस’boutमा लेखेका छन् । आफ्नो प्रत्यक्ष संलग्नता भएका एक–दुई घटना कोर्दै छु ।

आन्दोलन अगाडि बढ्दै जाँदा पद्मरत्न तुलाधरलगायत केही अभियन्ताको गिरफ्तारीपश्चात् वीर अस्पतालका चिकित्सकहरूले धर्ना प्रदर्शन गरेका थिए
माथि नै उल्लेख गरिसकेको छुँ । म त्यसबेला कृषि विकास बैंक मुख्य कार्यालयमा कार्यरत थिएँ । २०४६ जेठमा सातौं तह अधिकृतका रूपमा प्रवेश गरेको मेरो सेवाको परीक्षणकाल १ वर्ष पनि पूरा भएको थिएन । बैंकमा पहिलेदेखि नै उत्तमनारायण श्रेष्ठ, नारायणनरसिंह केसी, विनोद भट्टराई, विनोद आचार्य, श्याम खड्का, प्रदीप कोइराला, नारायण भट्टराई, श्रीहर्ष कोइराला, दीपक कोइराला र गोविन्द कोइरालाजस्ता कांग्रेसी पृष्ठभूमि र इतिहास भएका व्यक्तिहरू कार्यरत थिए । म त एक सामान्य समर्थक एवं बैंकमा नवप्रवेशी थिएँ ।
आन्दोलनको घोषणा भएपछि हामीले जनआन्दोलनका लागि बैंकभित्र चन्दा संकलन गर्ने निर्णय ग¥यौं । चन्दा संकलन कामको संयोजन गर्ने जिम्मा मेरै काँधमा आइपुग्यो । नारायण भट्टराई र दीपक कोइरालाजस्ता मित्रहरूको साथमा मुख्य कार्यालयका कोठाकोठामा पुग्दै चन्दा संकलन गर्न थालियो । त्यसबेला एउटा सरकारी संस्थानका कर्मचारीले जनआन्दोलनका लागि चन्दा संकलन गर्नु त जोखिमको काम थियो नै, चन्दा दिनु पनि उत्तिकै खतरापूर्ण काम थियो । तर, जति ठाउँमा पुगियो, सबैले श्रद्धापूर्वक सहयोग गरे ।
बैंक प्रशासनलाई हाम्रो त्यस कदमका ’boutमा थाहा नहुने त कुरै भएन । तत्कालीन सरकारी निकाय अञ्चलाधीश कार्यालय वा गृह मन्त्रालयलाई पनि जानकारी भयो नै । बैंकमा एक जना विभागीय प्रमुख थिए– प्रकाश शर्मा । उनी तत्कालीन शरदचन्द्र शाहको नेतृत्वमा रहेको खेलकुद परिषद् कार्यसमितिको सदस्य नै थिए । खेलकुद परिषद् त्यसबेला पञ्चायती व्यवस्थाको बलियो खम्बा र मण्डलेको थलोका रूपमा चिनिथ्यो । हामीले प्रकाश शर्मासँग समेत चन्दा माग्यौं र उनले दिएका थिए ! हाम्रो त्यो काम अति उत्साह थियो वा मूर्खता थियो म भन्न सक्दिनँ । सायद जम्मा १२ वा १३ हजार रुपैयाँ उठेको थियो । त्यसमध्ये ६ हजार ८ सय रुपैयाँ भतिजो विनोद भट्टराईमार्फत नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईकहाँ पठायौं । बाँकी रकम छोरा विनोद आचार्यमार्फत जनआन्दोलन उपत्यका संयोजक जगन्नाथ आचार्यकहाँ पठाइयो । त्यसबेलाको १२÷१३ हजार भनेको सम्भवतः आजको कम्तीमा ४ लाख रुपैयाँ हो । यहाँसम्म त ठिकै थियो । तर, केही पछि रमाइलो भयो ! किसुनजी त्यसरी प्राप्त रकम आदि इत्यादिको टिपोट राख्नुहुँदो रहेछ । हामीले पठाएको रकम पनि उहाँले आफ्नो डायरीमा टिप्नुभयो– ‘कृषि विकास बैंकबाट सरोज मिश्रले विनोदमार्फत पठाएको रू.६८,०००।– ।’ उहाँले भूलबस हो वा कुनै अरू कारणले नै होस् ६ हजार ८ सयलाई ६८ हजार लेख्नुभएछ ! पछि किसुनजीलाई नजरबन्द गर्नुअघि खानतलासी लिँदा त्यो डायरी गृह मन्त्रालय पुगेर निकै हल्लीखल्ली भएको थियो भन्ने सुनें । जनआन्दोलन सफल नभएको भए… !

आन्दोलन अगाडि बढ्दै जाँदा पद्मरत्न तुलाधरलगायत केही अभियन्ताहरूको गिरफ्तारीपश्चात् वीर अस्पतालका चिकित्सकहरूले धर्ना प्रदर्शन गरेका थिए । सरकारी कर्मचारीहरू आन्दोलनको पक्षमा ओर्लिएको त्यो पहिलो घटना थियो । आमसरकारी कर्मचारीमध्येमा चाहिँ सबैभन्दा पहिला जनआन्दोलनको समर्थनमा ओर्लिएको कृषि विकास बैंकका कर्मचारी हुन् । ठीक मिति त याद भएन । कृषि विकास बैंक मुख्य कार्यालयमा एक घण्टा सांकेतिक पेन डाउन गरिएको थियो । त्यसबेला माथवरसिंह बस्नेतको संयोजनमा भूमिगत रूपमा प्रकाशित ‘जनआन्दोलन समाचार’ले सो घटनालाई प्रमुखता दिएर छापेको थियो । त्यो घटना सांकेतिक थियो, तर सरकारी कर्मचारीलाई झिल्कोको काम ग¥यो भन्दा फरक नपर्ला !
अब २४ चैतका दिनको कुरा गरौं । सो कार्यालय खुल्दा नखुल्दै रामशाहपथ सर्वोच्च अदालत र कृषि विकास बैंकबीचको मूल सडकमा ‘शाही घोषणा धोखा हो’ भन्दै ठूलो जुलुस देखाप¥यो ! बिहानै राजा वीरेन्द्रले मरिचमान सिंहको सरकारलाई बर्खास्त गरेर लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सानो आकारको सरकार गठन गरेका थिए । राजाले मरिचमान नेतृत्वको सरकारले जनताको ज्यानमाल सुरक्षा गर्न नसकेको भन्दै नयाँ प्रधानमन्त्रीलाई आन्दोलनकारीसँग वार्ता गर्न अह्राएका थिए । राजा झुकेको प्रथम स्पष्ट संकेत थियो त्यो र त्यो त्यत्तिकै भएको थिएन । आन्दोलनको ज्वाला दन्किँदै गएको थियो ।
ललितपुर र कीर्तिपुर क्षेत्रलाई स्थानीयले ‘मुक्त क्षेत्र’ घोषणा गरिदिएका थिए । सुरक्षाकर्मीका वाहन इत्यादि बर्जित गरिएको थियो । सहरको चारैतिर प्रवेश थलोहरूमा खाल्डो खनेर गाडी इत्यादि छिर्न नमिल्ने बनाइएको थियो । पहिलेदेखि भित्री सहरका सडकमा तैनाथ प्रहरीलाई स्थानीयले नै खाना पु¥याएका थिए ! सशक्त तर अनुशासित र सौम्य विवेकशील विद्रोह भएको थियो ।
२४ चैतको बिहान राजाको घोषणा वास्तवमा आन्दोलनकारीको राप र ताप थाम्नै नसकेर भएको थियो । तर, अब जनता थामथुमे चालबाट झुक्किने मुडमा थिएनन् । कृषि विकास बैंकछेऊबाट गएको जुलुस पाटनतिरबाट आएको रहेछ । हामीले पहिल्यै घोषणा गरेका थियौं– यहाँबाट जुलुस गयो भने हामी पनि मिस्सिन्छौं, रोक्न पाइन्नँ । म र मित्र दीपक कोइराला निस्कन खोज्यौं । एकक्षणको अलमलपछि नखोले हामीले पर्खाल नाघ्छौं भन्ने बुझेर हो वा बैंक प्रशासनको आदेश पाएर हो, हाम्रा लागि गेट खोलियो । हामी बैंकको परिचयपत्र देखाउँदै अरू कार्यालयकालाई पनि आमन्त्रण गर्दै अघि बढ्यौं । खुला मञ्च र वीर अस्पताल क्षेत्रमा हजारौं मानिस जम्मा भएका थिए । केहीबेरमा त अस्पताल भर्ना भएका गणेशमान सिंह र मनमोहन अधिकारी छतमा देखा पर्नुभो । ‘वीरे… देश छोड’ र ‘पम्फादेवी मुर्दावाद’का नारा घन्किरहेका थिए । दरबारतिर महेन्द्र सालिकमा भएको घटना त सबैलाई थाहै होला । पुतलीसडकमा शपथग्रहण गर्न जान लागेका लोकेन्द्रबहादुरको गाडीमा ढुंगा हानिएको त मेरै अगाडि हो । बेलुकी त कफ्र्यु लाग्यो । दुई दिनको कफ्र्युपछि २६ गते राजाले दलहरूमाथिको प्रतिबन्ध हटाए !

जनआन्दोलको रापताप त्यसरी बढ्नु र निर्णायक मोडमा पुग्नुमा हजारौं योद्धा, राजनीतिक दल र आमजनताको निस्वार्थ बलिदान र योगदान छ । म यहाँ पुनः प्रत्यक्ष संलग्न रहेको एउटा घटना उल्लेख गर्दै छु । आन्दोलन चलिरहेकै बेला सायद चैतको पहिलो सातातिर होला कृषि विकास बैंकमा म कार्यरत वित्तीय व्यवस्थापन तथा बैंकिङ विभागका तत्कालीन प्रमुख देवेन्द्रप्रताप शाहले एक दिन मलाई टाइम्स अफ इन्डियाको एउटा सानो खबर देखाउँदै भने, ‘भारतको जम्मु काश्मीर लिबरेसन फ्रन्टले काश्मीरमा सरकारी बैंकमा भएको पैसा दुरुपयोग भइरहेको हुँदा पैसा निकाल्न अपिल गरेछन् र बैंकहरूमा जनताको लाइन लागेको छ ।’ त्यसो भन्दै उनी हाँसेका थिए । मलाई अर्थपूर्ण लाग्यो । मैले तत्कालै आन्दोलन सञ्चालन गरिरहेका भूमिगत पीएल सिंहसँग सम्पर्क गरें र हामीले पनि त्यस्तै अपिल गर्ने हो भने असरदायी हुने बताएँ । उनी हौसिए । मलाई अपिलको खेस्रा बनाएर पठाउन भने । मैले पुनर्जागरण साप्ताहिकका सहयोगी सुभाष तामाङमार्फत जनताले बैंकमा राखेको पैसा आन्दोलन दबाउन प्रयोग भइरहेको छ भन्ने आशयको ड्राफ्ट बनाएर पठाएँ । पीएल सिंहले त्यस अपिललाई शरच्चन्द्र वस्तीलाई सुधार्न वा पुनर्लेखन गर्न भनेछन् । त्यस्तो पर्चा काठमाडौंमा छपाउनसम्म सकिने अवस्था थिएन । पीएलले रक्सौल पु¥याएर छपाएर ल्याएछन् र कुनै जतन गरेर बाँड्न थालेछन् । केही दिनपछि त त्यो आजकलको भाषामा ‘भाइरल’ भयो । हरेक व्यक्तिलाई हुलाकबाट समेत आउन थाल्यो । एक प्रकारले पर्चाका सूत्रधारमध्येका मलाई पनि हुलाकमार्फत पर्चा आयो । बैंकहरूमा र त्यसमा पनि सरकारी बैंकहरू अर्थात् नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमा त निक्षेप निकाल्नेको थामी नसक्नु भीड लाग्यो ।

म बडो अनौठो भूमिकामा थिएँ । त्यस्तो पर्चा र ‘रन अन बैंक’का सूत्रधार ! अर्कोतिर कृषि विकास बैंकको बैंकिङ विभागको अधिकृतका नाताले मुलुकभरिका १८–१९ बैंकिङ कार्यालय सञ्चालनको जिम्मेवारी । विभिन्न शाखाबाट आउने अत्यधिक नगद माग आपूर्तिको जिम्मेवारी थियो । एउटा अवस्थामा मागनुसारको नगद पु¥याउन सकिएन भने के गर्ने भन्ने समेत सल्लाह हुन थालेको थियो । बैंकका तत्कालीन अध्यक्ष एवं महाप्रबन्धक श्रीकृष्ण उपाध्यायले त्यस्तो अवस्थामा के गर्ने होला भनेर सोध्नुभएको सम्झन्छु । मैले हाँसेर जवाफ दिएको थिएँ, ‘जनआन्दोलनको समर्थनमा बैंक हडताल गरिदिने !’ उहाँ दंग परेर हाँस्नुभएको थियो ।
यहीक्रममा एउटा चाखलाग्दो घटना भएको थियो । सबै शाखाबाट नगद माग भइरहेको थियो र मुख्य कार्यालयले आपूर्ति गरिरहेको थियो । स्वाभाविक रूपमा बन्दुक बोकेका गार्डसहितको सवारीसाधनमा रकम स्थानान्तरण हुन्थ्यो । नियमानुसार पनि हतियारधारी सुरक्षाका बीचमै रकम लैजाने– ल्याउने गर्नुपथ्र्यो । ललितपुरको मंगलबजार शाखाबाट पनि रकम माग भयो । तर, त्यो क्षेत्र जनताले ‘मुक्त’ घोषणा गरेको क्षेत्र थियो । त्यहाँ गाडी र त्यो पनि बन्दुकसहित जान सक्ने अवस्था थिएन । के गर्ने भन्ने प्रश्न उठ्यो । केही उच्च व्यक्तिले सेनालाई भनेर सेनाको टुकडीसहित गाडी लैजाने बन्दोबस्त गर्ने तयारी थाले । मैले तत्काल भनें, ‘हुँदैन ! जनताले मुक्त घोषणा गरेर निषेध गरेका ठाउँमा बैंकको नाममा सेना भिœयाउने षड् यन्त्रको भागिदार कदापि बन्न हुन्न, बैंक त भोलि पनि जनताबीच नै बाँच्नुपर्छ ।’ मैले श्रीकृष्ण उपाध्यायलाई भनें, ‘विश्वास गर्नुहुन्छ भने म रकम काँधमा बोकेर मोटरसाइकलमा लैजान्छु, म बेइमानी गर्दिनँ, जनता पनि अविवेकी छैनन्’ उहाँले मान्नुभो । मित्र दीपक जोशीले मोटरसाइकल चलाए, मैले ५० लाख रकम झोलामा काँधमा झुन्ड्याएँ र हिड्यौं । लगनखेलबाट कथित मुक्त क्षेत्र प्रवेश गर्ने बेलामै आमजनताले हामीलाई ‘पैसा ल्याएको हो
पुनः एकपटक दोहो-याउँ । यस आलेखको उद्देश्य आफ्नो प्रशस्तीगान वा अरू कसैको पनि महिमामण्डन होइन । फगत केही चाखलाग्दा र सायद लुकेका कुराहरू बताइएको मात्र हो ।






