प्रिमियरमा द रेड सुटकेसलाई रुचाईयो

काठमाडौँ । नयाँ वर्षको अबसर पारेर यही ३० चैतबाट रिलिज हुने चलचित्र ‘द रेड सुटकेस’को मँगलबार काठमाडौंमा प्रिमियर गरिएको छ । प्रिमियरमा यो चलचित्रलाई पूर्व मन्त्रीहरु अशोक कुमार राई, रघुजी पन्त, शिक्षविद् केदारभक्त माथेमा, अग्रज चलचित्रकर्मी नीर शाहदेखि विभिन्न चलचित्रकर्मी, सञ्चारकर्मी, बुद्धीजिवीले हेरेर सकरात्मक प्रतिक्रिया दिए ।

पूर्वमन्त्री राईले लामो समयपछि आफुले हेरेको यो चलचित्र अनौठो र दुर्लभ लागेको बताए,‘यस्ता चलचित्र नेपालमा बिरलै बन्छन् ।’ पूर्वमन्त्री राईले भने ।

साँसद रघुजी पन्तले यो मौलिक नेपाली चलचित्रले नेपालको बैदेशिक रोजगारीको निकै मार्मिक पक्षलाई उठान गरेको बताए,‘यस्ता सिनेमा बन्नु आफैंमा मुख्यकुरा भए पनि हामीले हेरेर अर्को सिनेमा निर्माणको वातावरण बनाईदिनु पर्छ ।’ उनले भने ।

अग्रज अभिनेता नीर शाहले आफुले फिल्म कलेजमा पढाएको शिष्य एवम् निर्देशक फिडेल देवकोटाले यो चलचित्र बनाएर प्रसँसनीय कार्य गरेका छन भने,‘फिडेलले पनि अन्तराष्ट्रिय स्तरमा अवार्ड जित्न सक्ने चलचित्र बनाउँछन भन्ने सुरुमै लागेको थियो । नभन्दै मेरो त्यो सपनालाई आज फिडेलले सार्थक तुल्याएकोमा खुसी लागेको छ ।’ यस्तो मौलिक चलचित्रलाई सबैलाई महत्व दिएर हेर्न पनि उनले अपिल गरे ।

कवि विप्लव प्रतिकले यो चलचित्र हेर्दा आफुलाई राम्रो एउटा कृति हेरेको महसुस भएको बताए । नेपालमा अन्तराष्ट्रिय स्तरका मौलिक चलचित्र निर्माण हुन्छ भनेर फिडेलले यो चलचित्रबाट विश्वलाई देखाएको पनि उनले बताए ।

लेखक बुद्धिसागरले यो चलचित्रमा आफ्नो गीत रहेको जानकारी गराउँदै भने,‘यस्तो अन्तराष्ट्रिय स्तरको चलचित्रमा गीतकारको रुपमा जोडिन पाउनुलाई मैले आफ्नो सौभाग्य मानेको छु ।’ उनले भने ।

यो चलचित्रका अभिनेता विपिन कार्कीले यस अघि भेसिन फिल्म फेस्टिबलमा यो चलचित्र हेर्दा भन्दा यहाँ नेपाली दर्शकमाझ हेर्दा धेरै आनन्द आएको बताए,‘मैले पारिश्रमिक समेत नलिई यो चलचित्रमा काम गरेकोमा आजै साह्रै हर्ष लागेको छ । जीवनमा यस्ता चलचित्रमा काम गर्नु पाउनु हामी कलाकारको लागि गर्वको कुरा हो ।’ यस्तो चलचित्रलाई क्युएफएक्स चेनले हल नदिएकोमा उनले खेद प्रकट गरे ।

आफुले चलचित्र द रेड सुटकेस एउटा अर्धमुर्त क्यानभासको रुपमा बनाएको यसका निर्देशक फिडेल देवकोटाले बताए,‘चलचित्र हेरेपछि धेरैको फरक फरक धारणा पाउनुले नै म सफल भएँ जस्तो लाग्छ ।’ उनले भने ।

यसका निर्माता रामकृष्ण पोखरेलले यसलाई दुर्भल चलचित्रकै रुपमा व्याख्या गरे । अन्तराष्ट्रिय बजारमा निकै मन पराईएको यो चलचित्रलाई घरेलु दर्शकको चाहना अनुसार रिलिज गर्न लागिएको उनले बताए ।

यो चलचित्रमा सौगात मल्ल, विपीन कार्की, प्रविण खतिवडा र सृष्टि श्रेष्ठलगायतको मुख्य भूमिका छ । चलचित्रले बैदेशिक रोजगारीकालागि कतार गएको एउटा युवाको सपना तुहिएको कथा प्रस्तुत गरेको छ ।

यो चलचित्रको श्रीलँका र भातरमा प्राविधिक कार्य गरिएको हो । यो चलचित्रको सम्पादन श्रीलँकामा समन अलभितिगाले गरेका हुन् । चलचित्रको छायाँकार सुसन प्रजापति हुन् । यो चलचित्रलाई युएफओ च्यानलले युरोपको लागि यसै साता खरिद गरेको छ भने अन्य देशमा पनि यसको विक्री वितरण भईरहेको छ । आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको यो चलचित्रको बाँकी निर्मातामा फिडेल देवकोटा, शोभा थापा र सह निर्मातामा श्रीलंकाका विमुक्ति जयसुन्दरा रहेका छन् । यो चलचित्रको गत वर्षको सेप्टेम्बरमा भेनिसमा वल्र्ड प्रिमियर भएको थियो । यसले सो फेस्टिभलमा महत्वपूर्ण दुई अवार्ड जितेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

epaper

ताजा समाचार

हुम्लाका विद्यालयलाई फुटबल सहयोग