खोटाङ । खोटाङमा आगामी बैसाखमा तेश्रो जिल्ला लिग फुटबल प्रतियोगीता हुने भएको छ । खोटाङ जिल्ला फुटबल संघको आयोजनामा बैसाख १५ गतेदेखि बैसाख १७ गतेसम्म ‘बी’ डिभिजन र दोश्रो चरणमा बैसाख १५ गतेदेखि बैसाख २२ गतेसम्म ‘ए’ डिभिजनको फुटबल प्रतियोगीता हुने भएको हो ।
एन्फाको निर्देशिका अनुसार ‘ए’ डिभिजनको खेलमा बाक्सिला फुटबल क्लव, खारम्बु स्पोर्टस क्लव, खोटाङ भगवती स्पोर्टस् क्लव, बुईपा ११ स्पोर्टस् क्लव, हलेसी फुटबल क्लव र सोल्मा स्पोर्टस् क्लवबीच प्रतिष्पर्धा हुने खोटाङ फुटबल संघका अध्यक्ष ध्रुबविक्रम राईले जानकारी दिए । ‘ए’ डिभिजनका बिजेता टिमले प्रदेश लिगमा खेल्न जाने अवसर पाउने छन् भने सबैभन्दा कम अंक ल्याउने टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छ ।
‘बी’ डिभिजनमा खोटाङ फुटबल एकेडेमी, नमूना स्पोर्टस् क्लव, नुनथला स्पोर्टस् क्लव र जन्तेढुंगा फुटबल क्लवबीच प्रतिष्पर्धा हुने छ । ‘बी’ डिभिजनका बिजेता टिमले ‘ए’ डिभिजन उक्लने अवसर पाउने अध्यक्ष राईले बताए । खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित खेलमैदानमा सञ्चालन गर्ने तयारी गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्यस्ता प्राप्त भएसँगै खोटाङमा २०७६ सालदेखि जिल्ला लिग फुटबल प्रतियोगीता सुरु भएको हो । एन्फाको सदस्यता प्राप्त गरेसँगै जिल्ला फुटबल संघले जिल्लाकै इतिहासमा पहिलोपल्ट २०७६ सालमा जिल्ला लिग फुटबल प्रतियोगीता गरेको थियो । २०५९ सालदेखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई २०७५ सालमा अस्थायी र २०७७ सालमा स्थायी सदस्यता प्राप्त भएको हो ।