वस्तुमा दुई सय १६ बर्ष पुरानो मन्दिर

गुल्मी । गुल्मीमा पछिल्लो समय हराउदैँ गएको भजन संरक्षण गर्न प्रतियोगिताको आयोजना गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–५ स्थित कालिका मन्दिर व्यवस्थापन समितिले धुर्कोट गाउँपालिकास्तरीय भजन प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा पाँच समुहले प्रतिस्पर्धा गरेका थिए । जसमा वडा नम्बर ५ वस्तु प्रथम, वडा नम्बर २ पिपलधारा द्धितिय एवं वडा नम्बर ४ जैसिथोक र वडा नम्बर १ नयाँगाउँ तृतिय भएका छन् । प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश १३, १२ र ११ हजार प्राप्त गरेका छन् । कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिले मन्दिरको रेखदेख, संरक्षण, प्रचारप्रसार र धार्मिक अनुष्ठानका कामहरू गर्दै आएको छ ।

आफूहरूले गर्ने दैनिक नित्यकर्मसँगै मन्दिरको महत्वलाई प्रचार–प्रसार गर्न थप रचनात्मक कामहरू गर्दैै लैजाने कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष युवराज भण्डारीले बताए ।

संस्कृति संरक्षण गर्न भजन प्रतियोगिता

धुर्कोट गाउँपालिका– २ पिपलधाराको बरजा टोल संरक्षण समितिका महिला चैत्र अष्टमीका दिन कालिका मन्दिरको भजन प्रतियोगितामा सहभागी हुन आए । उनीहरूको १० जनाको समुह छ । गाउँमा व्यावसायिक रूपमा भजन गाउँछन् । गाउँमा पूजा हुँदा, लाहुरे आउँदा र मेला उत्सवमा भजन गाउने चलन छ ।

दिउँसो र राति ११ बजेसम्म भजन गाउने समिति सदस्य कमला खड्काले बताइन् । गाउँमा भजन गाउँने पुरुष कम छन् । त्यसैले वडाभित्र र बाहिर पनि माग भइरहेको छ । उनीहरूले न्यूनतम पाँच हजार पारिश्रमिक पाउँछन् ।

धुर्कोट गाउँपालिका–४ जैसीथोकका ५५ वर्षीय लोकनाथ पोखरेल भजन समूहमा मजुरा बजाउँछन् । बैँसबाटै भजन गाउन डुल्थे । समूहमा एकै उमेर समूहका सातजना छन् । मौलिकतामा जोड दिने रौताडीको भजन समूह स्थापित छन् । उनीहरू हरेक उत्सव र प्रतिस्पर्धामा पुग्छन् । दिउँसो ३ बजेबाट रातभर भजन गाएर उज्यालो बनाएका कैयन याद छन् । गाउँमा समूहलाई न्यूनतम १२ हजार पारिश्रमिक दिन्छन् । भजन महोत्सव वा प्रतिस्पर्धाहरूले कला संरक्षण, ऊर्जा र जान्ने अवसर प्रदान गर्ने पोखरेलले बताए ।

दुई सय १६ बर्ष पुरानो मन्दिर
धुर्कोट गाउँपालिका– ५ वस्तुको धुर्कोट कालिका मन्दिर दुई सय १६ वर्षअघि स्थापना भएको हो । हिमालय माविका प्रध्यानाध्यापक कृष्ण भण्डारीका अनुसार वि.स. १८६२ सालमा धुर्कोटे राजा खड्गराज मल्लले कालिका मन्दिर स्थापना गरेपछि आशीर्वाद मागेर शासन सुरु गरेको इतिहास छ । यो मन्दिर अनौठो पनि छ ।

एउटा छानाभित्र काली र शिवका मूर्ति राखिएका छन् । यो विरलै मन्दिरमा हुने गर्दछ । दैनिक नित्यकर्मसहित चैते र बडासैँमा मन्दिरमा विशेष मेला लाग्छ । वाचन सम्राट पण्डित भीमकान्त पन्थीका अनुसार शिव मन्दिरमा बलि चढ्दैन । तर, काली अर्थात् दुर्गालाई बलि दिने चलन छ । काली मन्दिरको पूर्वपट्टि र शिव दक्षिणतर्फ भएकाले कालीको सम्मुखमा मात्र बलि दिइँदै आएको पन्थीले बताए ।

मन्दिर र धुर्कोटकोटको सम्बन्ध
यो मन्दिर र धुर्कोट कोतसँग नजिकको सम्बन्ध रहेको छ । हरेक उत्सवमा कालिकाको पूजा गरेर मात्रै धुर्कोट कोटमा पूजा गरिँदै आएको छ । पण्डित पन्थीले बाग्लुङ्ग कालिका र धुर्कोटको कालिका मन्दिरमा कुनै फरक नभए पनि प्रवर्द्धन र प्रचारप्रसार गर्न नसक्दा ओझेलमा परेको बताए । केही वर्ष पहिलेसम्म चैते र बडादसैँमा दर्शनार्थीको बाक्लो उपस्थितिले खुट्टा राख्ने ठाउँ हुँदैन थियो । अहिले निकै कम मात्रामा श्रद्धालु भक्तजन मन्दिरमा मेला भर्न आउँछन् । बसाइसराइँले मान्छे गाउँमा छैनन् । गाउँमै भएकाहरू पनि पहिलेजस्तो मेला–उत्सवमा पुग्न जाँगर गर्दैनन् ।

मन्दिर हिमालय माविको प्रांगण र सडकको नजिक छ । अहिले आर्थिक समृद्धिका लागि धार्मिक पर्यटन गतिलो माध्यम बनेको छ । ऐ्तहासिक धुर्कोट कोत, कालिका मन्दिर र नजिकैको विचित्र गुफाको एकीकृत विकास र प्रचारप्रसारको आवश्यकता रहेको स्थानीय अगुवा नरहरि भण्डारीले बताए । अधिकांश घरहरू खाली भइसकेका छन् । वृद्धहरूले मात्र कुरेका घरहरू पनि केही समयमै रित्ता हुने सम्भावना धेरै रहेकाले थप चुनौती रहेको उनले बताए ।

७२ लाख खर्च गरेर जीर्णोद्धार
सवा दुई सय वर्ष पुरानो भएकाले मन्दिर जोगाउन स्थानीयलाई गाह्रो थियो । पछिल्ला वर्षहरूमा भने मन्दिरको जीर्णोद्धारसँगै आस्थाको उजागर गर्न तीनै तहका सरकार र स्थानीयको सहयोगमा करिब ७२ लाख खर्च गरेर मन्दिरको पुरानै ढाँचामा जीर्णोद्धार गरिएको धुर्कोट गाउँपालिका– ५ का वडाध्यक्ष केशवराज भण्डारीले बताए । कालिकाको गरिमालाई उजागर गर्न अहिले धार्मिक अनुष्ठानसहित चैत्राष्टमीमा भजन महोत्सव राखिएको भण्डारीले बताए ।

धुर्कोट गाउँपालिकामा ऐतिहासिक तथा पर्यटकीय स्थलहरू प्रसस्त छन् । तीनै तहको लगानीमा धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण र विकासको काम भइरहेको छ । धुर्कोटका धार्मिक स्थलहरूलाई छिमेकी पालिका तथा जिल्लाहरूका पर्यटकीय स्थलसँग जोडेर अगाडि बढाउनुपर्नेमा धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलले बताए । उनले धुर्कोटको धार्मिक अवस्था केन्द्र कालिका मन्दिरलाई थप व्यवस्थित र प्रचार गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 132 times, 1 visits today)

epaper

ताजा समाचार

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध