गतिशील हुनुपर्ने खेलकुद क्षेत्र कोरोना भाइरसको महामारीले अहिले नरम्रोसँग प्रभावित भएको छ । खेलकुदलाई उद्योगका रूपमा विकास गरिसकेका देशलाई कोरोना भाइरसको महामारीले थला नै पारेको छ । ओलम्पिकदेखि ठूला खेलकुद प्रतियोगिता तथा व्यवसायिक लिग स्थगित भएका छन् । २ दशकपछि विश्वको खेलकुदले यति ठूलो नोक्सानी भोग्नुपरेको अनुमान छ । कुनै एउटा देशको मात्र होइन, विश्वभरिका खेल गतिविधि रद्द हुन पुगेका छन् । जसका कारण खेलकुद प्रतियोगिता, संगठन तथा गतिविधिमा काम गर्ने कामदार पनि प्रभावित भएका छन् । सेप्टेम्बर ११ को आतंकवादी हमला र २००८ को आर्थिक संकटलाई अधिकांश ठूला खेलकुद संगठनले भोगे पनि अहिले त्यसलाई समेत बिर्साउने गरी आर्थिक संकट आउन सक्ने आँकलन गरिएको छ । जसका कारण खेल उद्योगले यो अवस्थालाई कसरी सामना गर्ने भन्ने विषय गम्भीर बन्दै गएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि समाजिक दूरी कायम राख्नुपर्ने बाध्यात्मक अवस्थामा दर्शकले भरिभराउ स्टेडियमको यतिबेला कल्पना गर्न सकिने अवस्था छैन । खेलकुदले आर्थिक समस्या मात्र भोगेको छैन । जब विश्व अर्थतन्त्रमा कोभिड–१९ को मन्दी देखापर्छ त्यतिबेला विश्व खेलकुद उद्योगले अझ ठूलो संकट देख्नुपर्ने हुन सक्छ । केही क्लब र प्रतियोगिताले तत्कालका लागि बिमामार्फत आफ्नो क्षतिमा राहतको महसुस गर्लान् तर दीर्घकालीन रूपमा हुने असरबाट भने तिनीहरू पनि अछुतो हुने छैनन् ।
नेपाली खेलकुदको मार्केट ठूलो नभए पनि देशको अर्थतन्त्रमा भने यसको असर देखिन थालेको छ
विश्वका चर्चित लिगहरूले टेलिभिजन सम्झौताबाट ठूलो राजस्व गुमाउने खतरा छ । टिकट बिक्रीबाट हुने सम्भावित घाटाको आँकलन अझै बाहिरिएको छैन । कतिपय खेलकुद प्रतियोगिताको बिक्री भएका टिकटको पैसा फिर्ता गर्ने वा भविष्यमा हुने खेलका लागि त्यसलाई उपयोग गर्न दिने भन्ने विषयमा पनि बहस चलेको छ । अझै केही समय मानिसले पहिलेकै अवस्थामा भिडभाडमा गएर मनोरञ्जन लिने कोसिस गर्लान् भनेर आशा गर्न सकिँदैन । विश्वका चर्चित फुटबल लिग, टेनिस, ओलम्पिक छनोटलगायतका खेलकुद प्रतियोगिता अझै पर्र्ख र हेरको अवस्थामा छन् । जापानको टोकियोमा २०२० मा हुने ओलम्पिकको मिति एक वर्ष पर सारिएको छ । संक्रमण फैलिने क्रम नरोकिएपछि खेलकुदका कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ भने ओलम्पिक ज्योति निभाइएको अवस्था छ ।
अन्य खेलकुदका इभेन्टको हकमा पनि विश्वका ठूला सबै खेल स्थगित मात्र भएका छ्रैनन्, स्टार खेलाडीसमेत घरभित्रै बस्न बाध्य छन् । कतिपय खेलाडीको प्रायोजकसँगको सम्झौतामा असर पर्नेछ । जसका कारण उनीहरूले ठूलो धनराशि गुमाउनुपर्ने छ ।
त्यसैगरी, अर्काे महŒवपूर्ण प्रश्न छ, प्रशंसकले खेल प्रतियोगितामा यो महामारीको त्रासका कारण कति समयपछि आफूलाई सुरक्षित महसुस गर्लान् जसका कारण कोभिड–१९ को महामारी अघिकै अवस्थामा खेल गतिविधि फर्कन सकोस् । यो विश्व खेलकुदमा सर्वाधिक चासोको विषय हो ।
कोभिड–१९ र नेपाली खेलकुद : विश्वका महŒवपूर्ण खेलकुद रद्द र स्थगित भएको यो अवस्थाले खेलकुदको क्यालेन्डरलाई अस्तव्यस्त बनाइदिएको छ । नेपालमै गर्ने भनिएको कतिपय अन्तर्राष्ट्रिय र राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भएका छन् । लकडाउनलगत्तै प्रतियोगिता गर्न सकिने अवस्था अझै रहँदैन । त्यसैले यस वर्ष ती प्रतियोगिता हुन्छन् भन्ने अवस्था देखिँदैन । नेपाल ओलम्पिक कमिटीले सरोकारवालासँग भिडियो कन्फरेन्समार्फत छलफल गरेर खेलाडी, प्रशिक्षक र खेलकर्मीको अवस्थाको विषयमा चासो व्यक्त गरेको छ ।
कमिटीले ओलम्पिक छनोटका लागि खेलाडीको अभ्यासमा असर गरे पनि अहिले घरभित्रै बस्नुको विकल्प नरहेको बताउँदै खेलाडीलाई सुरक्षित रहन प्रोत्साहन गरेको छ । उसले डाक्टरको प्यानल नै बनाएर खेलाडीका लागि नियमित सुभाव दिने तयारी गरेको छ । खेलाडीलाई केही समस्या भएको खण्डमा फोनमार्फत नै डाक्टरको सल्लाह लिने वातावरण बनेको छ । कतिपय खेलाडीको अवस्था नाजुक बनेको गुनासालाई सम्बोधन गर्न नेपाल ओलम्पिक कमिटीले खेलाडीको राहतका विषयमा पहल गर्न थालेको छ ।
खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रका लागि राहत आवश्यकता परेको खण्डमा तयारी गर्न सकिने बताएका छन् भने राष्ट्रिय खेलकुद परिषद्ले खेलाडी, प्रशिक्षक तथा कर्मचारीको अवस्थाको विषयमा चासो व्यक्त गरेको छ । ठूलो संख्यामा राष्ट्रियस्तरका नेपाली खेलाडी विभागीय टिम, नेपाल, आर्मी, पुलिस र सशस्त्र प्रहरीमा कार्यरहत रहेकाले उनीहरू फिल्डमा हुनसक्ने भएकाले त्यस विषयमा समेत एनओसीको भिडियो कन्फरेन्समा चासो व्यक्त भएको थियो । प्रविधिको प्रयोगबाट खेलाडीलाई मानसिक रूपमा समेत बलियो बनाइराख्ने विषयमा ओलम्पिक कमिटीले गरेको पहल महŒवपूर्ण छ । खेलाडीका लागि शारीरिक फिटनेस जति कै महŒवको विषय हो मानसिक फिटनेस । कोरोना भाइरसको त्रासले खेलाडीलाई मानसिक असर पार्ने भएकाले लकडाउनको समयमा खेलाडीलाई मानसिक रूपमा स्वस्थ बनाइराख्न जुन पहल भइरहेको छ त्यो प्रशंसनीय देखिन्छ । मानसिक शक्तिले कठिन अवस्थामा पनि उत्कृष्ट नतिजा दिलाउन सक्ने क्षमता राख्दछ ।
त्यसैले खेलाडीले घरभित्रै बसेर मानसिक रूपमा तन्दुरुस्त हुने र शारीरिक फिटनेसका कार्यहरू गर्न प्रशिक्षकले सुझाव दिएका छन् । ओलम्पियन तथा प्रशिक्षक दीपक विष्टले खेलाडीसँग प्रविधिमार्फत नियमित सम्पर्कमा रहने, उनीहरूको खानपिन, बसाइँ, अभ्यासका विषयमा भिडियो कन्फरेन्सबाट छलफल गर्न सुझाव दिएका छन् । प्रशिक्षक तथा खेलाडीले सामूहिक भिडियोमा छलफल गरिरहेका पनि छन् । कतिपय खेलाडीले एथलिट ३६५ फलो गरेर नियमित अभ्यास गरिरहेका छन् ।
महामारीको संक्रमण फैलिनेक्रम नरोकिएपछि खेलकुदका कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ भने ओलम्पिक ज्योति निभाइएको अवस्था छ
तथापि यो पर्याप्त छैन । थ्रुप्रै खेलाडी लगामबिनाको घोडा बनेका छन् । जसका कारण उनीहरूको तौल बढेको छ । उनीहरू भ्रामक सूचनाका सिकार भएका छन् । त्यसैले संघहरूले प्रशिक्षकमार्फत खेलाडीलाई नियमित रूपमा प्रविधिका माध्यमबाट सम्पर्क कायम राख्ने व्यवस्था मिलाउनुपर्छ । त्यसैले कतिपय खेलाडीको अवस्था कमजोर बन्दै गएको पनि छ । त्यसको तथ्यांक र जानकारी कसैसँग रहेको पाइँदैन । त्यसका लागि समेत खेलकुदको जिम्मेवार निकाय संवेदनशील हुनुपर्छ ।
कोभिड–१९ को संक्रमण नफैलियोस् भनेर नेपालमा ११ चैतदेखि लकडाउनको घोषणा गरिएको छ । ३ वैशाखसम्म लकडाउन कायम रहेकाले त्यतिबेलासम्म खेलाडी, प्रशिक्षकले संवेदनशील बनेर घरभित्रै बस्नुपर्छ । अझ डा. सरोजकृष्ण श्रेष्ठ त बाहिरबाट किनेर ल्याइएका सामानबाट समेत कोरोना संक्रमण हुन सक्ने भएकाले अझ होसियारी अपनाउन आग्रह गरेका छन् । उनले सामान्य फ्लु लाग्ने बित्तिकै अस्पताल जानुभन्दा पनि एनओसीको डाक्टर प्यानलसँग सम्र्पक गर्नका लागि आग्रह गरेका छन् । यो जटिल परिस्थितिमा नेपाली खेलकुदका लागि भएका यी कार्य पर्याप्त नहोलान् तर पहल राम्रो भएको छ । नेपाली खेलकुदको मार्केट ठूलो नभए पनि अर्थतन्त्रमा पर्ने असरले यो क्षेत्र पनि कमजोर बन्नेछ । त्यसका लागि पनि सरोकारवालाले समयमा नै चिन्तन मनन् गर्नुपर्छ ।






