आगलागीले वनजंगल सखाप

पोखरा । पोखरा बजार नजिकैको काहुँडाँडामा गत ५ चैतमा भएको भीषण आगलागी २४ घण्टासम्म नियन्त्रणमा आउन कठिन भयो । रातिदेखि सुरु भएको आगलागीका कारण नजिकैको मानववस्ती पनि जोखिममा परेपछि सिंगो पोखरा रातभरि सुतेन । भीरालो क्षेत्रमा लागेको उक्त आगो निभाउन न त दमकल नै जान सक्यो, न त सुरक्षाकर्मी र स्थानीयलाई सजिलो भयो । आगो निभिसक्दा वनजंगलको ठूलो क्षेत्र नोक्सान भइसकेको थियो । कैयौं चुराचुरुङ्गीसहित वन्यजन्तु जलेर नष्ट भए ।

चैत पहिलो साता नै हेमजा नजिकैको वनमा करिब एक सातासम्म लागेको आगलागीले ठूलो क्षेत्रफल वनजंगल नोक्सान भयो ।

पोखरा लामेआहालमा २ दिनसम्म लागेको आगोले ल्याण्डफिल साइटको प्लाष्टिकसँगै फोहोर जल्दा दुर्गन्ध फैलियो । जसका कारण स्थानीयलाई श्वासप्रश्वासमै समस्या उत्पन्न भयो । उक्त ल्याण्डफिल साइटमा पोखरा बजार क्षेत्रको फोहोर बिर्सजन हुँदै आएको छ ।

आगलागीले कास्कीमा चैत र वैशाखमा मात्रै ७ सय ५० हेक्टर वनजंगल क्षेत्र जलेको छ । चैतमा २६ र वैशाख २० सम्म १९ वनजंगल क्षेत्रमा आगलागीको घटना भएको सशस्त्र प्रहरी बल, २४ नम्बर गण मालेपाटनले संकलन गरेको तथ्यांकमा छ । बुधबारसम्म पनि कास्कीका ५ सामुदायिक वन क्षेत्र आगोको चपेटामा छन् । पोखरा–२३ स्थित लोत्से सामुदायिक वन र घलेडाँडा सामुदायिक वन, पोखरा–२१ को कृस्ति सामुदायिक वन, पोखरा–२७ को अर्चले सामुदायिक वन र पोखरा–२४ को कास्कीकोट सामुदायिक वनमा अहिले आगो लागिरहेको सशस्त्र प्रहरी बल, २४ नम्बर गण मालेपाटनका गणपति सशस्त्र प्रहरी उपरीक्षक अरुण पौडेल शर्मालेले बताए ।

यो त भयो, सामुदायिक वनक्षेत्रको क्षति । व्यक्तिगततर्फ एकमात्र घटना भएको छ । गत ९ वैशाखमा पोखरा–१६, जैमुरेका ५६ वर्षीय लीलाधर तिमिल्सिनाको घर आगलागीमा जलेको छ । ब्लकले बनेको दुईकोठे उनको घरको भान्साकोठा पूरै जल्दा करिब २ लाख बराबरको क्षति भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले संकलन गरेको विवरणमा भने चालु आवको यो अवधिसम्म कास्कीमा १ सय २७ आगलागीका घटना भएका छन् ।

डिभिजन वन कार्यालय कास्कीका अनुसार जिल्लामा २ लाख १ हजार ७ सय हेक्टरमध्ये करिब ४६ प्रतिशत वन छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा ६५ हजार ५ सय ६ हेक्टर र डिभिजन वन कार्यालय कास्कीमातहतमा २८ हजार ६ सय ९५ हेक्टर क्षेत्रफल वन छ । तर, गर्मीयाममा आगलागीले ठूलो हेक्टरको वनक्षेत्र खसाप हुने गरेको छ । तर आगो कसले लगायो भन्ने पहिचान हुन कठिन छ । आगलागीका घटना न्यूनीकरणका प्रहरी कार्यालयबाट सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भइरहेको भए तापनि आगजनीका घटनाहरूमा कमी आएका छैनन् । आगलागीले चराचुरुङ्गी, वनजन्तु, वनस्पति, जैविक विविधता, वातावरणीय पर्यावरणमा क्षति हुन्छ । जसको करण मानववस्ती क्षेत्रमा पनि पर्दछ । तुवालो लाग्ने र वायु प्रदूषण बढ्नुमा कास्की र यसआसपासका ठाउँका वनजंगलमा लागेको आगलागीका घटना नै प्रमुख कारण हो । जसका कारण नजिकैका डाँडाकाँडा ढाकिएका छन् । हिमाल छेकिएको छ । वायु प्रदूषण बढेकाले चिकित्सकले अपरिहार्य काम नपरी हत्तपत्ति बाहिर ननिस्कन सुझाएका छन् ।

आगलागीका घटना हुन नदिन प्रहरीले विभिन्न ठाउँमा सचेतना कार्यक्रम संचालन गर्दै आएको छ । कालिका गणमा कार्यरत रहेका क्षेत्रीय विपद् व्यवस्थापन टिमका कमाण्ड सशस्त्र प्रहरी निरीक्षक विश्वराज त्रिपाठीले हालैमात्र मादी ५ मा सचेतना कार्यक्रम गरेर फर्केको बताए । सकेसम्म आगलागीका घटना हुन नदिन सचेत गराउने र अर्कोतर्फ यदि यस्ता घटनाको सूचना पाए तत्काल उद्धार टोली खटिने गरेको उनले बताए । उनका अनुसार पोखराको सुगम क्षेत्रसम्म १५ मिनेटभित्रै र अलि अप्ठेरो ठाउँमा ३० देखि ४५ मिनेटसम्म उद्धार टोली आवश्यक सामग्रीसहित खटिने गरेको छ । विपत् व्यवस्थापनका लागि हाल ५० सदस्यीय उद्धार टोली तैनाथ छ । तीमध्ये ५ जना फायर फाइटिङका लागि छन् । सुरक्षाटोलीसँग आगो नियन्त्रण लिन मिनी दमकल, फायर सुटर, फायर रेस्क्यु बल लगायत सामग्री छन् । राष्ट्रिय विपत् प्राधिकरणले हालैमात्र यहाँ फायर पोर्टेबल पम्प दिएको छ । जसको मद्दतमा दमकल जान नसक्ने स्थानमा सजिलै आगो नियन्त्रण लिन सक्छ ।

आगलागीमा संलग्नलाई कानुनी कारबाहीको व्यवस्था छ । डढेलो लगाउनेलाई वन ऐन, २०७६ को दफा ४९ अन्तर्गतको कसूरमा दफा ५० बमोजिम क्षति भएको बिगो असुल गरी ३ वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यस्तै, मुलुकी अपराध संहिता, २०७४ दफा २८५ ले वनजंगलमा आगजनी गराइ क्षति पु¥याउनेलाई ४ वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरा महानगर मतगणना : समाजवादीका उम्मेदवारको मत ३ हजार बढी