खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर पर्यटन गर्न लागिएको बताएका छन् । हिजो शनिबार त्रि–धार्मिकस्थल हलेसीमा हवन कुण्ड शिलान्यास गर्दै मुख्यमन्त्री कार्कीले पुर्वका तीन धार्मिक तथा पर्यटकीय स्थललाई जोड्ने योजनालाई प्राथमिकतामा राखेको बताएका छन् ।
मुख्यमन्त्री कार्कीले हलेसी, सुनसरीको वराहक्षेत्र र ताप्लेजुङको पाथीभरालाई मात्र विकास गर्ने हो भने प्रदेश समृद्ध हुने बताएका छन् । ‘हामीले हलेसी, पाथीभारा र वराहक्षेत्रलाई जोड्नु पर्छ, हलेसी आएको मानिस वराहक्षेत्र जाओस्, त्यसको लागि केबल कार र जल यातायातसँग हलेसी र वराहक्षेत्रलाई जोडौँ । वराहक्षेत्र पुगेपछि तमोर करिडोरबाट पाथीभरा जोडिन्छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘त्यसपछि जोगबनीबाट आएको मानिस पनि हलेसी आउने भयो, जनकपुरबाट हलेसी आएको मान्छे पनि वराहक्षेत्र जान पायो ।
तीन धार्मिक स्थलमा हामी लगानी गर्छौँ, गरिरहेका छौँ । साना कामहरु वडा र पालिकाले गर्छ ।’ कार्कीले किरात राई समुदायको उद्गमस्थान मानिने तुवाचुङ र खुवालुङलाई जोड्ने गरी पनि प्रदेशले योजना बनाइरहेको जानकारी दिए ।
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०-०८१ मा विनियोजन गरेको भ्याटसहित १ करोड ४४ लाख ८४ हजार ४९० रुपैयाँमा हलेसीमा हवन कुण्ड निर्माण सुरु गरिएको हो । आगामी असार १६ गतेसम्ममा सक्नेगरी बासु कन्स्ट्रक्सन एण्ड सप्लायर्स सोलुखुम्बुले वैशाख ४ गते हवन कुण्ड निर्माण गर्ने सम्झौता गरेको छ ।
कार्यक्रममा खोटाङ प्रदेश सभा ‘क’ सांसद पाँचकर्ण राईले हलेसीको विकासका लागि परिरहेको बताए । हवन कुण्ड निर्माण भएपछि दर्शनार्थीलाई सहज हुने हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले बताइन् ।






