सर्वाधिक राजा भएको मुलुक

प्रारम्भमा जनताले बनाएको राज्यमा जनताले नै छानेका राजाबाट राज्य सञ्चालन गर्ने परिपाटी बस्यो । जनहितमा आधारित परम्परागत संस्कार, मान्यता र व्यवहारलाई कार्यान्वयन गराएर राजाले राज्य चलाउँथे । राजाको आदेश पनि कानुनसरह मानिन्थ्यो । राजा लोकप्रिय एवं जनताको आस्था र विश्वासको केन्द्र मानिन्थे । पछि राजाबाटै राज्य विस्तार हुने प्रचलन सुरु भयो । यसक्रममा करिब इशापूर्व ३ हजार वर्षअघि स्थापित भएका इराकका तेस्रो बादशाह उरहम्मुको शासनकाल र करिब इशापूर्व २५ सयतिर भारतवर्षमा स्थापित मध्यदेशका पहिलो राजा प्रथम मनुको शासनकाल विश्वका अन्य शासनकालभन्दा तथ्यमा आधारित मानिएको छ ।

त्यसपछि नै पश्चिमी युरोप र अमेरिका तथा एसिया र अस्ट्रेलिया क्षेत्रमा अनेकौं राज्यहरू स्थापित हुँदै आए । कतिपय राजाहरू पनि महाराजा वा सम्राटमै परिणत भए । पुस्तौनी राजा बन्ने क्रम पनि प्रारम्भ हुँदै आयो भने कतिपय राज्य पनि विशाल साम्राज्यमा रूपान्तरित हुँदै आए । ठूलो माछोले सानोलाई खाएजस्तै गाउँबस्तीमा बसोबास गर्ने मानिसको व्यवहार पनि फरकै हुँदै आयो । बलियोले निर्धोलाई, हुनेले नहुनेलाई, दुष्टले इमानदारलाई हेप्ने, दुःख दिने भएपछि गाउँबस्तीकै मानिसले एक जनालाई गाउँको नाइके बनाए । प्रारम्भको नाइके नै पछि राजा बन्यो । यही पृष्ठभूमिबाट प्रथम मनु मध्यदेशको पहिलो राजा बनेका थिए ।

प्रथम मनुले शासन गरेको मध्यदेशको राजाधानी पछि अयोध्या भनी नामकरण भयो । प्रथम मनुले आफ्ना ८ भाइ छोरा र एक छोरी इलालाई अलगअलगै राज्य विभाजन गरिदिएका थिए । मनुका छोरापट्टिका सन्तान पछि सूर्यवंशी कहलिए र छोरी इलातर्फका सन्तान चन्द्रवंशी बने । प्राचीनकालको अयोध्या सूर्यवंशीकै राज्य थियो । नेपालका सन्दर्भमा प्राप्त ऐतिहासिक प्रमाणलाई हेर्ने हो भने चर्चामा नआएका तथा अभिलेख नभएका केही राजवंशलाई छोडेर अन्य वंशका निम्न संख्याका राजाहरूले निम्नानुसार राज्य गरेको इतिहासले पुष्टि गरेको छ । सर्वप्रथम टेकु दोभानमा तपस्या गरी बस्ने नेमुनिले गोपाल वंशका भुक्तमान नाम गरेका ग्वालालाई इशापूर्व १४०० मा सर्वप्रथम नेपालको राजा बनाएका थिए । राजा भुक्तमानलाई भूमिबर्मा पनि भनिन्थ्यो । भुक्तमानले आफ्नो नामको पछाडि ‘गुप्त’ पदवी जोडेपछि यिनलाई गुप्तवंशी राजा भन्न थालियो ।

१. गोपाल वा गुप्तवंशीका ८ पुस्ताका राजाले इशापूर्व १४०० देखि ९०० सम्म ५०० वर्ष राज्य गरे ।
२. पहिलो गुप्तवंशीपछि दोस्रो गुप्तवंशका ३ पुस्ताले इशापूर्व ९०० देखि ७३९ सम्म १६१ वर्ष राज्य गरे ।
३. यसैगरी इशापूर्व ७३९ देखि २१३ सालसम्म ९५२ वर्ष किराँत वंशका ३२ पुस्ताले राज्य गरे ।
४. किराँतपछि सोमवंशका ६ पुस्ताले २६९ सालदेखि करिब सय वर्षसम्म राज्य गरे ।
५. यसपछि सूर्यवंशका २१ पुस्ताले ३७० देखि ६९० सालसम्म ३२० वर्ष राज्य गरे ।
६. सूर्यवंशपछि ठकुरी वंशका ७ पुस्ताले ७०० देखि ९०० सालसम्म २०० वर्ष राज्य गरे ।
७. यसपछि नुवाकोटे ठकुरीहरूले ९०० देखि १०८० सालसम्म ६ पुस्ताले १८० वर्ष राज्य गरे ।
८. ९३७ सालदेखि नै मल्ल वंशको शासन सुरु भएको मानिए पनि करिब सय वर्षको अवधि नुवाकोटे ठकुरी वंशसँग गाभिएकाले यस’bout अन्योलता कायमै छ ।
९. उपत्यकाभित्र १२५८ देखि १४८५ सालसम्म २२७ वर्ष ५ पुस्ताका मल्ल राजाहरूले एकछत्र शासन गरे ।
१०. १४८५ सालमा भादगाउँका राजा यक्ष मल्लले कान्तिपुर, पाटनलाई पनि छुट्टै राज्य विभाजित गरी छोराछोरीमा बाँडिदिएपछि उपत्यका तीन राज्यमा विभाजित भयो ।
११. उपत्यकाको पुख्र्यौली राज्य भादगाउँलाई आधार मान्दा १५३८ देखि १८२६ सालसम्म (राज्यविभाजन उत्तर) १० पुस्ताले करिब ३ सय वर्ष राज्य गरे ।

इशापूर्व १४०० देखि २०६५ सालसम्मको करिब ३ हजार ५२१ वर्षको अवधिमा विभिन्न वंशका १ सय २४ राजाले नेपालमा राज्य गरेको इतिहास बताउँछ

मल्ल वंशपछि भारतको उत्तर प्रदेशस्थित तत्कालको चित्तौगढका राजपुत वंशको राज्य पतन भएलगत्तै त्यहाँका केही राजपुत राजाका सन्तानहरू पहाडी क्षेत्रमा पलायन हुने क्रममा पश्चिम नेपालतर्फ प्रवेश गरे । उनीहरूले क्रमशः रिडी, भिरकोट र लिखुमा बसोबास गर्न थाले । पछि यही राजपुत वंशकै मिचाखानले १४३०÷३५ सालतिर पल्लो नुवाकोटलाई कब्जा गरी आफ्नो राज्य स्थापित गरे । मिचाखान भारतको चित्तौगढकै राजकुमार भुपालका छोरा थिए । यिनै मिचाखानका नाति जयन खानका छोरा कुलमण्डन खान पैठानले दिल्ली सम्राटलाई रिझाएबापत शाह उपाधि पाएका थिए । यसपछि चित्तौगढबाट आएको साविकको राजपुत खलक नै पश्चिम नेपालमा रहँदा शाह भनी चिनिन थाल्यो । शाह उपाधि पाएपछि यस वंशले तनहुँ, लमजुङ, नुवाकोट र गोरखामा अलगअलगै राज्य स्थापित गरी शासन गर्न थाल्यो । यही चित्तौगढको राजपुत खलककै ४६औं पिँढीका राजा कुलमण्डन शाह (खान) जो नेपालमा राज्य गर्ने उनको खान वंशको तेस्रो पुस्तामा पर्थे । उनका छोरा यसोवम शाह, नाति द्रव्य शाहसम्मका पाँचौं पुस्ता तथा द्रव्य शाहपछिका पुरन्दर शाह, छत्र शाह, राम शाह, डम्बर शाह, कृष्ण शाह, रुद्र शाह, पृथ्वीपति शाह र नरभूपाल शाहसम्मका १३ पुस्ता एकीकरणपूर्वका शाहवंशीय राजा मानिन्छन् । एकीकरणपछि पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र वीरविक्रम शाहसम्म १८२६ देखि २०६५ सालसम्मको २ सय ३९ वर्षमा थप १३ पुस्ताससमेत गरी २६ पुस्ताका शाहवंशीय राजाहरूले नेपालमा राज्य सञ्चालित गरेका थिए ।

पहिलो राजा भुक्तमानदेखि नेपालका अन्तिम राजा ज्ञानेन्द्र वीरविक्रम शाहसम्मको इशापूर्व १४०० देखि २०६५ सालसम्मको करिब ३ हजार ५ सय २१ वर्षको अवधिमा उल्लिखित विभिन्न वंशका १ सय २४ राजाले नेपालमा राज्य गरेको इतिहासले बताउँछ । यो समयावधि र राजाको संख्यालाई विश्व इतिहासविद्कै मान्यताका आधारमा हेर्दा प्रत्येक राजाको पुस्तौनी पिँढी औसत २८ वर्षको देखिन्छ जुन मेल खानेछ । किनकि, स्पष्ट साल किटानी नभएको अवस्थामा सर्वसाधारण नागरिकको पुस्तौनी पिँढीको गणना गर्दा प्रतिपिँढी ३० देखि ३५ वर्ष र राजखलकको पुस्तौनी पिँढी २५ देखि ३० वर्ष कायम राख्ने गरिन्छ । यस आधारले प्रारम्भदेखि अन्तिमसम्मका नेपालका राजाहरूले औसत २८ वर्षका दरले राज्य सञ्चालन गरेको पुष्टि हुन्छ ।

उल्लिखित राजवंशको पुस्ता इतिहासमा आधारित हो भने सो पुस्ताको पुस्तौनी अवधि विश्व इतिहासविद्हरूकै मान्यतामा आधारित हो । यी सबै राज्यद्वारा घोषित जनसमर्थित राजाहरू हुन् । अन्तिम राजा श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहले लोकतन्त्र स्थापित भएपछि २९ जेठ २०६५ मा नारायणहिटी राजदरबार छोडेपछि नेपालमा राजतन्त्रको अन्त्य भएको विदितै छ । मुलुकमा लोकतान्त्रिक गणतन्त्र आएको अहिले १६ वर्ष लागेको छ । लोकतन्त्र राजाविहीन जनप्रतिनिधिद्वारा सञ्चालित राज्य व्यवस्था भन्ने कुरा सर्वविदित छ । लोकतन्त्रमा न त राजा हुन्छ, न त राजाकै भूमिका नै रहन्छ । अर्को शब्दमा भन्नुपर्दा लोकतन्त्र जनभावनाअनुरूपै जननेताद्वारा सञ्चालित उदार राज्यव्यवस्था हो, जहाँ जनइच्छा नै सर्वोपरि हुन्छ ।

सिद्धान्त यस्तो भए पनि हाम्रो मुलुकको विद्यमान लोकतन्त्र व्यवहारको राजतन्त्रझै बन्दै आएको अनुभूति हुन थालेको छ । किनकि, अहिले संस्थागत राजा नभए पनि व्यवहारका राजा जन्माउने पनि लोकतन्त्र नै देखिएको छ । राजा मात्र होइन, अहिले मुलुकमा व्यवहारका महाराजा वा सम्राट नै उदय भइसकेका छन् । सम्राट मातहत केन्द्रदेखि स्थानीय तहसम्मका जनप्रतिनिधिहरू नै सक्रिय राजाको भूमिकामा प्रस्तुत भइरहेका छन् । केन्द्रमा रहेका मुलुककै कार्यकारी प्रमुखलाई स्थानीय तहकै राजासरहको मर्यादामा राख्दा अवश्य नै मानमर्दन गरेको ठहरिन्छ, यसैले उनलाई ससम्मान सम्राट मानिएको हो । केन्द्रमा एक सम्राट र मन्त्रालयनुसार २४ जनासम्म राजा गरी जम्मा २५ जना, प्रदेशमा ७ जना, जिल्लामा ७७ जना, महानगरमा ६, उपमहानगरमा ११, नगरपालिकामा २ सय ७६, गाउँपालिकामा ४ सय ६० र वडामा ६ हजार ७ सय ४३ गरी मुलुकभर जम्मा राजाको संख्या अहिले ७ हजार ६ सय ५ पुगेको छ । सात प्रदेश र केन्द्रमै आफन्तलाई राजा बनाउने प्रतिस्पर्धामा मन्त्रालय फुटाएरै भए पनि पदासीन गराउने खिचातानीले यो संख्या अझै थप हुनसक्छ । जुन माथि उल्लिखित ३ हजार ५ सय २१ वर्षमा राजा हुने वैधानिक राजाहरूको १ सय २४ संख्याको ६१ गुणाले बढी हो ।

लोकतन्त्रले जन्माएका यी राजा महाराजाहरूको व्यवहार जनमैत्री नभएसम्म लोकतन्त्र व्यवहारमा स्थापित भएको मानिँदैन

व्यवहारकै जननेता हुनुपर्ने जनप्रतिनिधिहरू राजाको भूमिकामा किन उत्रिए ? संक्षिप्त चर्चा नगरिए यो आलेख अधुरो हुनेछ । जनप्रतिनिधिको व्यवहार राजकीय हुनुका कारण अनेक छन् । यसमध्येको पहिलो राजनीतिलाई सेवा होइन, आर्जनको पेसा बनाउने मानसिकता हो । निर्वाचित हुनका लागि जनसेवीको नाटक गर्ने, निर्वाचित भइसकेपछि स्वार्थमा आशक्त रहने प्रवृत्तिले जनप्रतनिधिलाई स्वेच्छाचारी बनायो । दलीय एवं निजी स्वार्थ पूरा गर्ने क्रममा जनप्रतिनिधि आफ्नो दायित्वबाटै विमुख बने । जनप्रतिनिधिलाई राजाको भूमिकामा उतार्ने अर्को कारण संस्थागत बनेको नकारात्मक कार्यशैलीको अनुसरण एवं प्रतिस्पर्धा पनि हो ।

मुलुकको अहिलेको राजनीतिक वातावरण नै नकारात्मक कार्यप्रति उन्मुख छ । जनमैत्री व्यवहार गर्ने इमानदार व्यक्तिलाई राजनीतिमा अगाडि बढ्न दिइएको छैन । दक्ष र इमानदार व्यक्तिले नेताको गलत प्रवृत्तिको भण्डाफोर गर्न सक्छन् । दलीय प्रतिनिधिबाटै हुने यस्तो टीकाटिप्पणी शीर्षस्थ नेताका लागि सह्य हुँदैन । यही कारणले जननिर्वाचित कतिपय दक्ष र इमानदार व्यक्तिहरू पनि शीर्षस्थ नेताको कार्यशैलीको बाधक मानिन्छन् । इमानदार र दक्ष व्यक्तिले जननेताको भूमिका प्रदर्शित गर्ने अवसरै नपाउँदा उनीहरू निष्क्रिय रहन बाध्य हुन्छन् । दक्ष व्यक्तिको निष्क्रियता, स्वार्थी नेताका लागि अवसर बन्दै आएको छ । यस्तै अवसरभित्रै मौलाउने गलत प्रवृत्तिले कालन्तरका राजाकै कार्यशैलीको झलक दिँदै आएको हो ।

अहिले राष्ट्रिय राजनीतिप्रति नै सर्वसाधारणको वितृष्णा बढ्दै आएको छ । यस्तो हुनुको प्रमुख कारण नकावधारी राजनीतिज्ञको अराजकीय व्यवहारै हो । राजनीति जनहितमा केन्द्रित भए मुलुकमा कानुनी राज स्थापित हुन्छ । ऐन कानुनहरू अक्षरशः व्यवहारमा लागू हुन सक्छन् । कानुन सबैका लागि समान हुन्छ । गैरकानुनी कार्य गर्ने जोसुकैले पनि दण्डित हुनुपर्छ । कानुनले कसैलाई विभेद गर्दैन । कानुन कार्यान्वयन भए सर्वसाधारणले शान्तिपूर्ण जीवन यापन गर्न पाउँछन् । शान्तिसुरक्षा सुदृढ बन्ने भएकाले जनता सन्त्रस्त बन्नुपर्दैन । अहिले मुलुकमा दलीय शीर्षस्थ नेतादेखि कार्यकर्तासम्म व्यवहारमा कानुनभन्दा माथिको बन्दै आएका छन् । प्रभावशाली नेताको आश्रय पाउनेले जस्तोसुकै गम्भीर प्रकृतिको अपराध गरे पनि उन्मुक्ति पाउँछ ।

प्राचीनकालका राजा महाराजाहरूले त विशेष राष्ट्रिय पर्व र अवसरका दिन निश्चित मापदण्ड पूरा गरेका कैदी बन्दीलाई माफी मिनाहा दिन्थे तर अहिलेका जनप्रतिनिधिका लागि अपराधी मुक्त गर्न कुनै मापदण्ड चाहिँदैन, उनीहरूसँग निकट सम्बन्ध भए पुग्छ । संस्थागत अपराधलाई बढावा दिने, सत्तासीन व्यक्ति नै अपराधमा संलग्न हुने, सिंगो राज्य संयन्त्रलाई नै स्वार्थमा प्रयोग गराउने, नागरिक हकअधिकार सुनिश्चित नगराउने जस्ता कतिपय विकृत मानसिकताका कालन्तरका राजाकै व्यवहार जनप्रतिनिधिले देखाउन थालेका छन् ।

जनतालाई सेवा सुविधा उपलब्ध गराउँछु, समस्या समाधान गर्दै मुलुकको विकास गर्छु भन्ने वचनबद्धता जनाएकै भरमा मुलुकको कार्यकारी प्रमुख बन्ने कतिपय नेताकै व्यवहार जनमैत्री प्रतिकूल छ । नेताकै आलोचनात्मक कार्यशैलीले जनप्रतिनिधि र जनताबीचको दूरी बढाएको छ । चाकडीदार आसोपासे र नेतानिकट व्यक्ति नेताभन्दा ठूलो मानिन्छन् । सेवा भावनामा समर्पित जननेता पदमा रहे पनि नहरे पनि सधैं जनताको प्रिय हुन्छ । तर, अहिलेका जनप्रतिनिधि पूर्ण लोकतान्त्रिक प्रक्रियाबाटै छनोट भए पनि नेताकै अहमता, कार्यशैली र व्यवहारका कारण कालान्तरका सम्राटकै झल्को दिनेछन् । लोकतन्त्रले जन्माएका यी राजा महाराजाहरूको व्यवहार जनमैत्री नभएसम्म लोकतन्त्र व्यवहारमा स्थापित भएको मानिँदैन । अत्यधिक राजाबाटै मुलुकको विकास नहुनु, सर्वसाधारणले उन्मुक्ति नपाउनुको कारण पनि व्यक्तिनिहित परम्परागत संकुचित कार्यशैली नै हो । यो प्रवृत्ति अन्त्य गर्न जनता आफैं जागरुक बन्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा गठबन्धनको प्रतिबद्धतापत्र : विद्युतीय चुलोमा अनुदानदेखि किसानलाई पेन्सनसम्म