सिद्धिचरण श्रेष्ठ : युग परिवर्तनका सशक्त प्रतिभा

सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा विशेषतः खण्डकाव्यकारका रूपमा चिनिन्छन् । उनको जन्म ९ जेठ १९६९ को शुक्ल पञ्चमीका दिन ओखलढुंगामा भएको थियो ।

सिद्धिचरणका बुबा विष्णुचरण श्रेष्ठ जागिरका क्रममा ओखलढुंगा पुगेर त्यहीँ घरबास गरेर बसेका थिए । उनी सात वर्षको उमेरमा काठमाडौं आई दरबार हाइस्कुलमा आठौं श्रेणीसम्म पढे । त्यसपछि पढाइ छाडी घरमै स्वाध्यायन गरे । उनले नेपालकै तत्कालीन प्रसिद्ध महावीर स्कुलमा शिक्षकसमेत बनेर अध्यापन कार्य गरे ।

मानवीय संवेदनाका मार्मिक भाव संयोजन गरी अन्याय अत्याचारका विरुद्धमा सिर्जित उनका कवितामा राष्ट्र, राष्ट्रियताप्रति आस्था, जन्मभूमिको माया र निम्नवर्गप्रति अगाध स्नेहको भाव अभिव्यक्ति नै उनको प्रमुख विशेषता हो ।

सन्दर्भ : ११३औं जन्मजयन्ती

सिद्धिचरणले महाकवि लक्ष्मीप्रसाद देवकोटासँग सहकार्य गरी स्वच्छन्दतावादी–प्रगतिवादी कवितालाई समृद्धि र समुन्नत गर्ने काममा ठूलो योगदान गरे । १९९० सालमा गोरखापत्रमा प्रकाशित भुइँचालो शीर्षकको कविताबाट उनी साहित्यमा लागेका हुन् । उनी मात्रिक छन्दमा तथा मुक्तक छन्दमा लेखिएका कवितामा अशिक्षा, गरिबी, असमानताजस्ता विषयवस्तुलाई समेटेर कविता लेख्थे ।

सिद्धिचरणको २००६ सालको शारदा पत्रिकामा प्रकाशित ‘मेरो प्रतिबिम्ब’ शीर्षकको कविता नै पहिलो हो । यस कवितामा २००२ देखि २००६ सालसम्मका कविताले प्रवेश पाएका छन् । सो कवितामा राष्ट्रिय जनजीवनप्रतिको चासो तीत्र रूपमा लेखिएको छ । पाँच–पाँच हरफका चार श्लोकहरूमा संरचित सो कविता मानवको स्वाभिमानमा आँच आएको प्रश्नोत्तर शैलीमा लेखिएको छ । सरल, सरस तथा कोमल भावपूर्ण शब्दावली प्रयोग गरेर उनले राणाकालमा जनताले जीवन व्यतीत गर्दा भोगेका कष्टलाई मुखरित गरिएको छ ।

मानिस साहित्यमा लाग्नुका आआफ्ना कारण हुन्छन् । यद्यपि, यसका ’boutमा सिद्धिचरणको भनाइ यस्तो छ– ‘आमाहरूले भानुभक्त रामायण र सुब्बा होमनाथको कविता पढेको सुन्दा र साहित्यिक गुरु ऋद्धिबहादुर मल्लसँगै बस्दा साहित्यिक अभिरुचि बढ्दै गयो, १९९० सालको भुइँचालोको बीभत्स रूप देखेर कवि भएँ र भुइँचालो भन्ने कविता लेखें, त्यही सालमा, त्यो कविता गोरखापत्रमा छापियो, यसरी मेरो साहित्यिक जीवन सुरु भयो ।’

जीवनमा एक सीमितता हुन्छ । भलै जीवन एक यात्रा हो, जुन यात्रा स्वतन्त्र हुनुपर्छ । यात्रा उद्देश्यहीन हुँदैन । यात्राले गन्तव्य चुम्नुपर्छ ।

प्रकृति हो तर रूपविहीन,
भाषा हो तर भावविहीन
मान्छे हो तर आत्माहीन,
चारैतिरको वन्द विचार–
यो मेरो प्रतिबिम्ब हिँडेको ।

राणाकालीन समयमा मान्छेको स्थान पशुसरह नै थियो । विवेकहीनता, शून्यताले प्रश्रय पाएको थियो । उनले नेपाली समाज, आर्थिक र राजनीतिक विषमता, विसंगति र विकृतिप्रति आक्रोश कवितामा पोखेका छन् । प्रश्नोत्तर ढाँचामा लेखिएको कविताले आमनागरिकले स्वतन्त्रता नपाएकाले सिंगो समाज र नागरिकलाई आफ्नै प्रतिबिम्ब बनाएर उनले कवितामा भाव व्यक्त गरेका छन् । कविताको मूल सन्देश नै मानवीय अस्तित्वको खोजी हो ।

क्यै हारे झै क्यै बिर्से झैं,
को त्यो पथमा आइरहेको ?
कुक्कुर जस्तै लुरुलुरु हिँड्दै,
दर्वलताले पीर निखन्दै,
को त्यो पथमा आइरहेको ?

सिद्धिचरण लेखनीका साथै समाजसेवा र राजनीतिमा समेत सक्रिय थिए । उनी १९९६ सालतिर राजनीतिमा बढी नै सक्रिय भएको देखिन्छ । त्यसताका विद्रोही र क्रान्तिकारी कविता लेखे । उनी २००७ सालदेखि लेखनमा कम राजनीति र समाज सेवातिर पूर्ण रूपमा लागे । तसर्थ, कविता छायामा परेकाले अपेक्षित लेखन कम भए तापनि गुणस्तर भने कमी भएन ।

१९९७ सालको शहीद काण्डपछि विद्रोही र क्रान्तिकारी कविका रूपमा देखापरेका सिद्धिचरणले राणाशासनकालमा राणातन्त्रले गरेको अन्याय, अत्याचार, दमन र शोषणका विरुद्धमा कलम चलाएकाले लामो समयसम्म बन्दी भएर बस्नुप¥यो ।

प्रकृति र मानवीय गहिरो सम्बन्ध देखाई कविता कोर्न सिपालु सिद्धिचरणले लेखेको ‘मेरो पियारो ओखलढुंगा’बाट प्रकृतिप्रेमी कविका रूपमा बहुचर्चित भए ।

सो कविता १९९२ सालमा शारदा पत्रिकामा छापिएको थियो । यस कवितामा पाँच–पाँच पंक्तिका एक श्लोक भएको र जम्मा आठ श्लोकमा टुंगिएको छ । प्रत्येक श्लोकको अन्त्यमा मेरो प्यारो ओखलढुंगा वाक्यलाई पुनरावृत्ति गरिएको छ ।

आफू जन्मी, हुर्की खेलेको ठाउँ सबैलाई प्यारो नै लाग्छ । कविलाई पनि ओखलढुंगाको प्राकृतिक सुन्दरताले मन तानेको हुनसक्छ । कविले ओखलढुंगा छोड्दाको सस्मरण वा सम्झनामा यस्तो भावना व्यक्त गरेका छन्–

तिम्रै सुन्दर हरियालीमा
तिम्रै शीतल वक्षस्थलमा
यो कविको शैशवकाल बित्यो
हाँस्यो, खेल्यो, वन–कुञ्ज घुम्यो
मेरो प्यारो ओखलढुंगा ।
०००

भाग्य–लहरमा लहरी–लहरी
पुगें म यस मरुस्थलमा कसरी
तर, खेद छैन तिम्रै आकृति
लेखिएको छ यो हृदयभरि
मेरो प्यारो ओखलढुंगा !

राणाकालीन राज्य व्यवस्थामा निर्धक्कसँग कविता लेख्न र वाचन गर्न समय थिएन । आफू राणाशासनका एक कर्मचारी भए तापनि आँट गरेर लेखे ।

खोल्नलाई जनको चाला,
बोल्छु म जो डरको भाषा
रोक्दछ भन्दैमा वैभवको पथ
के म नलेखुँ अब कविता ?

नेपाली साहित्यको फाँटमा युगकविका रूपमा प्रसिद्धि पाएका कवि श्रेष्ठका कवितातर्फ मेरो प्रतिबिम्ब (२०२१), कोपिला (२०२१), कुहिरो र घाम (२०४५), सिद्धिचरणका प्रतिनिधि कविता (२०४५), तिरमिर तारा (२०४६) र बाँचिरहेको आवाज (२०४६) जस्ता कृतिहरू प्रकाशित छन् ।

त्यस्तै, खण्डकाव्यतर्फ उर्वशी (२०१७), ज्यानमारा शैल (२०२३), मंगलमान (२०४९) र आँसु (२०५०) प्रकाशित छन् । यसबाहेक उनले नेवारी भाषामा सीस्वाँ, फूस्वाँ र सिद्धिचरणया ग्वय्स्वाँ (२०४७), लुभुनी (२०४७), तृष्णा (२०४७), बाखँमुना (कथासंग्रह), नारी हृदय (कथा र नाटक (२०४९), सिद्धिचरणया निबन्ध (२०५०), धमा (भूमिकासंग्रह) जस्ता पुस्तकहरू प्रकाशित छन् । अझै पनि उनका केही अप्रकाशित पाण्डुलिपि रहेका छन् । उनका कृति र विभिन्न पत्रपत्रिकामा जम्माजम्मी ५ सयवटा जति कविता छापिएका छन् ।

सिद्धिचरणले आफ्नो जीवनकालमा विभिन्न जिम्मेवारी सम्हालेका थिए, जसमा शारदा पत्रिकाका सम्पादक (१९९१), गोरखापत्रका सम्पादक (२००५), कविता पत्रिकाका सम्पादक (२०१२), रोयल नेपाल एकेडेमी सदस्य (२०१४) आदि ।

नेपाली समालोचकहरूले सिद्धिचरण श्रेष्ठको लेखनीको विषयलाई बढी चर्चामा ल्याए । उनी लक्ष्मीप्रसाद देवकोटाभन्दा स्तरीय कविका रूपमा दर्ज भएको कुरा केही समालोचकहरूको लेखनीको कथन थियो । जे जस्तो भए तापनि उनले पद्य, गद्य, लोक र गीतिलय गरी विभिन्न लयमा कविताहरू लेखे । त्यसैको परिणामस्वरूप उनी विभिन्न पदक र पुरस्कारबाट सम्मानित भए । त्रिभुवन पुरस्कार (२०१७), पृथ्वी प्रज्ञा पुरस्कार (२०४५), भूकम्प तक्मा (१९९०), रत्नश्री सुवर्ण पदक (२०३१), वेदनिधि पुरस्कार (२०४६), गोरखा दक्षिणबाहु, त्रिशक्ति पट्ट र श्रीरामपट्ट उनले पाएका प्रमुख पुरस्कार हुन् ।

१९९७ सालमा राणाको निरंकुशता विरोधी र आत्मसमर्पण नगरी तातो गोली खाने र फाँसीमा झुन्डन तयार भएका शहीदको बलिदानीले चेतनशील नेपाली युवा पुस्तामा विद्रोही मन सलबलाउन थालिसकेको थियो ।

उनले कविता लेख्ने क्रममा वर्षा शीर्षकको कविता लेखे । सो कवितामा उनले क्रान्ति गरेपछि मात्र शान्ति आउने भाव यसरी पोखे–

हुँकार्छु खूब रिसले जगलाई हाँकी
मास्दै सबै अशुभ वस्तु कुनै नराखी
के हुन्छ शान्ति नभईकन घोर क्रान्ति
त्यो शान्ति स्वच्छ नभइ कुनै हुन्छ भ्रान्ति ।

त्यसै समयमा राणा शासकले सिद्धिचरणलाई समाती बन्दी बनाए । उनले राणासमक्ष आत्मसमर्पण नगरेकाले १८ महिनासम्म बन्दी जीवन बिताउन बाध्य भए । उनले बन्दी जीवनमा राणातन्त्रको विरोधमा उर्वशी खण्डकाव्य लेखे । यस खण्डकाव्य १९९७ सालबाट सुरु गरी २००२ सालमा पूरा गरे । उनलाई समात्दा उनको घरमा खानतलासीसमेत गरियो । उनले लेखेका पाण्डुलिपि धेरै जफत गरियो ।

उर्वशी खण्डकाव्य प्रस्तावना, आख्यान र उपसंहार गरी तीन खण्डमा विभाजित छन् । प्रस्तावना खण्डमा ४८, आख्यान खण्डमा ८ सय ५५ र उपसंहार खण्डमा ६४ पृष्ठ गरी जम्मा ९ सय ६७ पृष्ठ रहेको छ । स्वर्गलोकमा दानवहरूले देवगणहरूलाई हेप्ने, पेल्ने र उत्पात मच्चाई बस्नै नदिएपछि अर्जुनसँग सहयोग मागिएको र अर्जुन स्वर्गलोक गई दानवहरूलाई परास्त गरी खुसी ल्याई विजय उत्सव मनाई अर्जुनलाई भव्य स्वागत गरी मनाएको चर्चा गरिएको छ ।

राणाशासनको ताण्डव नृत्यसँग तुलना गरेर अर्जुनलाई अग्रभागमा उभ्याई यस काव्यको प्रारम्भ गरेका हुन् । महाभारतमा पाइने पौराणिक अवस्थाको चित्रण गरी राणाका विरुद्धमा कवि आफैं अर्जुन बनेका छन्, उर्वशीभित्र ।

निशिदिन मेरो प्रविश्वास बढी
खोजेको वस्तु तिमी नै,
पालन गर या मार मलाई
मेरा मालिक तिमी नै !

सिद्धिचरणले बन्दी जीवन बिताउँदाको समयमा उनका पिताको मृत्यु भएको थियो । आफ्ना पिताको मृत्युको खबर सुनेर उनी मूर्छित भए । चारदिवारभित्रबाटै उनले आफ्नो मृतक पिताको तर्पण कवितामार्फत यसरी दिएका थिएः

शोषकहरूको यस्तै चड्का,
अत्याचारी लात र धड्का
पाई बाको प्रिय छोरो,
बाँचिरहोस् अझ बाँचिरहोस् ।

उनले देशभक्तिको कविता पनि बेजोडले लेखेका छन् । नेपाली भनेका अर्काको पीडामाथि मलम लगाउन पछि नपर्ने र आपूmमाथि आइलाग्नेप्रति जाइलाग्न पनि पछि नपर्ने भावको अभिव्यक्ति यस्तो छ–

नेपाली हुँ कठिन गिरिमा चढ्नलाई सिपालु
बैरी नै होस् तर छु बहुतै दीनमाथि दयालु
तातो रातो रगत रिपुको प्यून हर्दम तयार
मेरो यै नै प्रिय खुकुरी हेर भै होशियार ।

नेपाली साहित्यमा प्रतीकका रूपमा खुकुरीलाई लिइन्छ । खुकुरीकै भरमा गोरखालीले वीरता प्रस्तुत गरे । विभिन्न समयमा घटेका घटनाको बेलीबिस्तार कवितामा गरिँदै आएका छन् । त्यसैले खुकुरीलाई राष्ट्रिय हतियार मानिँदै आएको छ । कवि सिद्धिचरणले पनि ‘परिचय’ कवितामा खुकुरीको प्रशंसा गर्न भ्याएका छन् । खुकुरीबाटै अन्याय अत्याचारको अन्त्य गरिन्छ ।

तातो रातो रगत रिपुको प्यून हर्दम् तयार
मेरो मेरो प्रिय खुकुरी यो हेर भै होशियार ।
शिक्षा मेरो जगतभरको गर्नु रक्षा सदैव
दीक्षा यै हो परहित गरूँ आखिरी श्वाससम्म ।
ज्वाला दन्कोस् दनदन जहाँ, मृत्यु आई फुकेको
पापचारी यदि छ त त्यहाँ माथ नै ताक्छु त्यसको ।

यिनले आफ्नो जीवनकालमा युरोप, सोभियत संघ, उत्तर कोरिया, चीन, भारत, पाकिस्तान, श्रीलंका, फिनल्यान्डजस्ता मुलुकको भ्रमणसमेत गरे ।
जीवनको उत्तराद्र्धतिरका कवितामा आध्यात्मिकताप्रतिको आकर्षण अभिव्यञ्जित गर्न सक्रिय देखिएका युगकवि सिद्धिचरण श्रेष्ठको मृत्युवर २२ जेठ २०४९ मा काठमाडौंमा भयो ।
कविता लेखेकै भरमा राणाहरूले उनलाई १८ वर्षसम्म कारागारको सजाय दिए । तसर्थ आमनागरिकले उनलाई युगकविको उपाधि दिए । उनको भौतिक शरीर नरहे तापनि उनीद्वारा लेखिएका पुस्तक जीवित छन् । तमाम नागरिकलाई नैतिकवान् बन्न र सम्मुनत समाज निर्माणका लागि ती कृति सहयोगी सिद्ध हुने नै छन् ।

तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा तीन उम्मेदवार निर्विरोध निर्वाचित