पर्यटन उद्योगको भविष्य

आधुनिक युग उद्योगमा आधारित छ । उद्योग आफंैमा सबै प्रकारका क्रान्तिको द्योतक हो । यसको चौतर्फी र बहुआयामिक फाइदा हुने भएकाले सबै देश पर्यटन उद्योगको प्रवद्र्धनमा लागिपरेका छन् । उद्योग शब्दले उत्पादनसँग सम्बन्ध राख्दछ । यसले वस्तु र सेवाको उत्पादनसँग सम्बन्धित सम्पूर्ण क्रियाकलापसँग सम्बन्ध राख्दछ । उत्पादनमार्फत वस्तुहरूको आपूर्ति गर्ने र सेवा प्रवाह गर्ने कार्य उद्योगको हो । उद्योगको शाब्दिक परिभाषा वस्तु र सेवासँग सम्बन्धित हुन्छ भने पर्यटन उद्योग वस्तुको उत्पादनसँग अप्रत्यक्ष रूपमा सम्बन्धित देखिए पनि यसको प्रत्यक्ष सम्बन्ध सेवा प्रवाह गर्नुसँग रहेको छ । यस अर्थमा पर्यटन उद्योग सेवा प्रवाहमा लागिपरेको हुन्छ । सबै प्रकारका देशमा पर्यटन उद्योगको प्रवद्र्धन गर्ने कार्यलाई उच्च प्राथमिकता प्रदान गरिएको हुन्छ । विशेष गरी विकासोन्मुख देशहरूमा पर्यटन उद्योगलाई राजस्व संकलन गर्ने प्रमुख स्रोतका रूपमा ग्रहण गरिएको हुन्छ । त्यसैले, सबै देशले यसलाई अत्यधिक प्राथमिकता प्रदान गरेका हुन्छन् र सबै देशका प्राज्ञहरूको अध्ययन र विश्लेषण गर्ने विषयमा पर्यटन प्रवद्र्धनको क्षेत्र पनि पर्दै आएको पाइन्छ । नेपालमा पनि पर्यटन उद्योगको प्रवद्र्धनको सम्भावना प्रबल देखिन्छ । त्यसैले, आजको मेरो सानो प्रयास नेपालमा यस उद्योगको महत्व, सम्भावना र यसमा देखिएका चुनौतीकै विषयको विश्लेषणमा सीमित गर्ने प्रयास गरेको छु ।

प्राकृतिक सौन्दर्यका साथै संस्कृति, रीतिरिवाज, चाडपर्व, रहनसहन र भिन्न ग्रामीण परिवेश पर्यटन प्रवद्र्धनका अद्वितीय स्रोत हुन्

नेपालमा यस क्षेत्रको विकास कार्य धेरैपछि मात्र प्रारम्भ भएको हो । राणाको समयमा प्रायः नेपाली सबैलाई अन्यत्र जाने अनुमति थिएन । यसैगरी, अन्य देशका नागरिकलाई पनि नेपाल प्रवेशको अनुमति दिइएको थिएन । नेपाल अलग भएर बसेको थियो । तर, राणा सत्ताच्युत भएपछि विश्वका विभिन्न देशसँग आवागमन बढ्दै गयो । नेपालले आफ्नो पहिचान सबैतिर स्थापित गर्दै गयो । २०३४ सालमा पर्यटन मन्त्रालयको स्थापना भएपछि सरकारले नै यस क्षेत्रको महत्व बोध गरेको देखियो । पर्यटकलाई आकर्षित गर्ने सेवासुविधा उपलब्ध गराउने प्रयास विधिवत् रूपमा हुन थालेको हो । यसक्रमको प्रारम्भ नेपाल र छिमेकी देश भारतका पर्यटकको आवागमनवाट भयो, यसलाई सरकारी र निजी क्षेत्रको साझेदारी एवं सहकार्यको नमुनाका रूपमा त्यसै समयमा नै लिनुपर्ने स्थिति छ ।

पर्यटन उद्योगको उपादेयता’bout प्रशस्त उल्लेख गर्न सकिन्छ । यो व्यवसाय विश्वभर अत्यन्त अल्प अवधिमा विकास भएको हो । नेपालमा पनि यसलाई अत्यन्त ठूलो महत्व दिनुपर्ने हुन्छ । यसलाई विश्वभर मित्रता र भ्रातृत्व कायम गर्ने प्रभावकारी माध्यमका रूपमा लिनुपर्ने हुन्छ । यसबाट विदेशी मुद्रा आर्जन गर्ने हुनाले विदेशी मुद्राको सञ्चितिमा उल्लेखनीय वृद्धि गर्न सकिन्छ । विभिन्न खालका व्यवसाय सञ्चालन गरी अर्थोपार्जन गर्न सकिने भएकाले अन्तर्राष्ट्रिय व्यापार घाटा न्यून गर्न सहयोग पुग्दछ । नेपालमा वैदेशिक मुद्राको ५ प्रतिशतदेखि दश प्रतिशतसम्म प्रतिवर्ष यस क्षेत्रबाट आर्जन भएको पाइएको छ । पर्यटकलाई विभिन्न प्रकारका सुविधा उपलब्ध गराई नेपालमा पटकपटक आउन आकर्षित गर्ने वातावरण निर्माण गर्न विभिन्न प्रकारका उद्योग र व्यवसायको स्थापना हुन पुग्दछन् । यसबाट रोजगारीको सिर्जना हुनुका साथै बहुआयामिक फाइदा लिन सकिन्छ । नेपालका घरेलु उद्योगले कला र संस्कृतिको प्रतिनिधित्व गर्ने प्रकारका उत्पादन गर्दछन् । यसलाई विदेशी पाहुनाले अत्यन्त ज्यादा मन पराएका छन् । यसबाट देशभर घरेलु उद्योगको विकास हुन सहयोग पुगेको छ । संस्कृति, धर्म, परम्परा, रीतिरिवाज सबैको आदानप्रदान सम्भव हुन्छ । राजस्व वृद्धिमा यसबाट फाइदा पुग्दछ । विभिन्न प्रकारका कर रकम, पर्यटकलाई नेपाल प्रवेश अनुमति दिँदा प्राप्त हुने भिसा शुल्क, विभिन्न प्रकारका रोयल्टी जस्तै ः सिकार आरक्षमा सुविधा प्रदान गर्दा, विभिन्न प्रकारका पर्वतको आरोहण अनुमति प्रदान गर्दा, विभिन्न प्रकारका पैदल मार्ग एवं लस्कर मार्ग प्रयोग गर्न दिँदा प्राप्त हुने रकम आदिबाट ठूलो मात्रामा राजस्व संकलन हुन्छ । पर्वतारोहण र पैदल मार्गको प्रयोग गर्दा पर्यटक गाइड, शेर्पा, भरिया, सम्पर्क अधिकृतदेखि ठूलो संख्यामा मानिसले काम पाउने भई यसबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा देशले नै फाइदा लिइराखेको हुन्छ ।

विकट लाग्ने पर्यटकीय क्षेत्र पेरिसको आइफेल टावरजस्तै विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण माध्यम बन्न सक्छन्

संसारमा पर्यटन व्यवसायकै आधारमा आफ्नो अर्थतन्त्र मजबुद बनाएका देश पनि रहेका छन् । प्रतिनिधि उदाहरणका रूपमा मकाउ यस्तो देश हो जसको मुख्य पेसा भनेकै पर्यटन हो । चीनको भूभागका रूपमा रहेको मकाउको कुल गार्हस्थ्य उत्पादनको ७२ प्रतिशत योगदान यस क्षेत्रबाट भइराखेको छ । बोलर्ड डाटा २०१८ को आधार लिँदा मकाउको प्रतिशत यतिमाथि देखिएको छ भने सोही अवधिमा नेपालको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान ७÷९ प्रतिशत मात्र देखाएको छ । १० वटा उत्कृष्ट पर्यटकीय गन्तव्यभित्र नेपाल परेको छैन । हामीले राम्ररी यस उद्योगको प्रवद्र्धन गर्न सक्दा यो प्रतिशत ३० सम्म पुग्न सक्दछ । तर, हामी धेरै पछाडि परेको अवस्था छ । किनकि, धेरै काम गर्न बाँकी छ । असंख्य चुनौतीका बीच प्रचुर सम्भावना हुँदा पनि यसबाट हामीले फाइदा लिन सकेका स्थिति छैन । सबैभन्दा ठूलो समस्या यातायातको हो । विदेशी पर्यटक आकर्षित गर्न हाम्रो व्यवस्थापन पनि मजबुत हुनुपर्दछ । अन्तर्राष्ट्रिय विमानस्थल एउटा मात्र छ । राजधानी सहरनिकट रहेको यो विमानस्थलसमेत राम्ररी व्यवस्थित गर्न सकिएको छैन । अन्य निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा दिन प्रारम्भ गर्न समय लाग्ने देखिँदै छ । सडक यातायातको अवस्था पनि सन्तोषजनक छैन । ठूला सहर र अग्ला भवन हेर्न पर्यटक आउने नभई हामीले विशेष प्रकारको मौलिकपना देखाउन सक्नुपर्दछ । यसको सम्भावना दूरदराजमा खोजिनुपर्दछ । संस्कृति, रीतिरिवाज, चाडपर्व, रहनसहन ग्रामीण क्षेत्रमा फरक हुन सक्दछ । उदाहरणका लागि हाम्रो मगर, गुरुङ, तामाङ संस्कृति देखाउन दुर्गम गाउँतिर गन्तव्य बनाउनुपर्दछ । सहरी क्षेत्रको तुलानामा यी भेगमा सञ्चार र यातायात सुविधा व्यवस्थित र गुणस्तरयुक्त हिसाबले पु¥याउन सकिएको छैन । पर्यटक मनोरञ्जन गर्ने, आरामसँग समय व्यतित गर्ने मनसायले गन्तव्य निर्धारण गर्दछन् । यस्तो निर्णय लिँदा त्यस देश र स्थान विशेषको आधारशिला सुविधाले ठूलो महत्व राख्दछ । हामीले पर्याप्त मात्रामा मनोरञ्जन गराउने व्यवस्था गर्न सकेको स्थिति छैन । हामीले देखाउने पर्यटकीय गन्तव्य भनेको लुम्बिनी, काठमाडौं उपत्यका, पोखरा, चितवन आदि हुन् । काठमाडौं प्रदूषित धुवाँधुलोबाट श्वासप्रश्वासमा नै समस्या सिर्जना गर्ने सहर बनेको छ । विकसित सहरको वर्गीकरणमा परेका सहरमा नै होटेललगायतका सुविधा गुणस्तरयुक्त छैनन् । ग्रामीण क्षेत्रमा पर्यटकलाई दोस्रो रात रोक्न सक्ने सुविधा हामीले व्यवस्था गर्न सकेनौं । देशमा दण्डहीनताव्याप्त छ, अपराध बढ्दै छ । यातायातका साधन पर्याप्त नहुनु, सञ्चारका साधनको गुणस्तर न्यून हुनु आदि कारणले गर्दा पर्यटकले आफूलाई नेपाल बसाइको अवधि पूर्ण रूपमा सुरक्षित र मर्यादित महसुस गर्न सकेको स्थिति छैन । पथप्रदर्शकदेखि यस व्यवसायमा पर्यटकलाई सेवा दिन प्रयोग हुने जनशक्तिको गुणस्तर अत्यन्त कमजोर छ । संकटको समयमा उपयुक्त उपचार हुने सम्भावना न्यून छ । थुप्रै पर्यटकले पर्वतारोहण र पैदल यात्रा गर्दा लेक (हाई अल्टिच्युड) लागेर जीवन गुमाएका छन् । यस्तो अवस्थामा भरपर्दो प्रकारले उद्धार गर्न सरकारले प्रतिबद्धता दिन सकेको अवस्था छैन । विकट भूबनोट नेपालको ठूलो सम्पत्ति हो तर यसलाई अभिशापका रूपमा लिइएको छ । हामी राष्ट्रिय ध्वजावाहक विमानलाई प्रवद्र्धन गर्नुभन्दा यसको अस्तित्व नै समाप्त गर्न उद्यत भएका छौं । यो स्थितिमा पर्यटन व्यवसायलाई अघि बढाउने हाम्रो सोचले सफलता प्राप्त गर्न सक्ने आँकलन गर्दै सन् २०२० लाई नेपाल भ्रमण वर्ष तोकी ठूलो संख्यामा पर्यटक नेपाल भित्रिने दिवा सपना देखिएको पनि थियो । यस अवस्थामा यो संख्यामा पर्यटक भित्रनु पनि अत्यधिक हो । हाम्रो प्रयासले र राम्रो व्यवस्थापनका कारण नभई नेपाल विश्वमै प्राकृतिक रूपमा हराभरा भएको अन्य देशभन्दा आफ्नै वनावटले पृथक् भएकाले नै हो ।

तसर्थ, हामीले पर्यटक आकर्षित गर्न धेरै काम गर्न बाँकी छ । पहिला हाम्रा पर्यटकीय गन्तव्यको खोजी देशका कुना कन्दरामा गरौं । हामीसँग रारा ताल, सेफोक्सुन्डोजस्ता अमूल्य प्राकृतिक सम्पदा छन् । यातायात होटेल सञ्चार सबै दृष्टिले यी स्थान छायामा परेका छन् । तत्कालीन राजा महेन्द्रले स्वर्गीय आनन्द लिँदै मुग्ध भई स्वर्गसँग यसलाई तुलना गर्दै उक्त तालको किनारामा बसेर कविता त्यसै रचेका थिएनन् । यस तालभन्दा केहीमाथि जंगलको बीचमा केही खुला क्षेत्र र त्यसभन्दा अर्को खण्डमाथि दोस्रो मैदान छ । माथिल्लो खाली क्षेत्रमा अत्याधुनिक होटेल निर्माण गरी तल्लो मैदानमा गल्फ कोर्स तयार पर्ने कल्पना यस स्तम्भकारले आजभन्दा १५ वर्ष पहिले नै गरेको थियो । यसो हुन सक्दा स्नोमाथि गल्फ खेल्न पाइने देश नेपाल मात्र हुन सक्दछ । यो कोरा कल्पना मात्र हुन सक्दछ तर विज्ञले यसको विकासका लागि योजना तयार गर्न सक्दछन् । खप्तड क्षेत्र, लोमाङथाङ अथवा माथिल्लो मुस्ताङ, पाथिभरा क्षेत्र, प्रख्यात पैदल मार्गको विकास गर्न सकिन्छ । हामीले यसमा ध्यान नपु¥याएको मात्र होइन, ठूला गल्तीसमेत गर्दै गएको अवस्थालाई स्वीकार गर्नुपर्दछ । उदाहरणका लागि माथिल्लो मुस्ताङ अथवा लोमाङथाङ पैदल यात्राका लागि अत्यन्त आकर्षक स्थान थियो । अब त्यस क्षेत्रमा सडक निर्माण गरी धुलोधुवाँ र प्रदूषणयुक्त बनाइएको छ । त्यस क्षेत्रको आफ्नो मौलिक विशेषता अब केही बचेको छैन । त्यहाँ ठूलो बस्ती पनि थिएन तर हामीले विकास गर्ने नाममा त्यसको मौलिकता र आकर्षण समाप्त पारेकै हो । यस्तै अवस्थाबाट नेपालको पर्यटन क्षेत्र पछि परेको छ । यसका लागि सम्बन्धित विज्ञसँग अन्तक्र्रिया गरी प्राप्त निचोडका आधारमा गुरुयोजना तयार पारी निजी क्षेत्र, सरकार, अन्तर्राष्ट्रिय जगतसमेतको सामूहिक प्रयासमा अभियानकै रूपमा यस क्षेत्रको विकास गरौं, यसो भएमा देशका कुना काप्चा र दूरदराजका क्षेत्रको विकास भई दृश्यावलोकन, पैदल यात्रा, आरोहण, ¥याफ्टिङजस्ता क्रियाकलाप प्रशस्त भई गरिबीको रेखामुनि रहेका नेपालीको अवस्थामा समेत सुधार ल्याउन सकिने अवस्था छ । यस अर्थमा नेपालका लागि पर्यटन क्षेत्रको विकास ठूलो वरदान साबित हुन सक्दछ । उल्लिखित पर्यटकीय क्षेत्र पेरिसको आइफेल टावरजस्तै विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण माध्यम बन्ने छन् ।

तपाइको प्रतिक्रिया
(Visited 3,062 times, 1 visits today)

epaper

ताजा समाचार

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत आयो, उद्धार जारी